सम्पादकीय : समृद्ध कर्णालीको बुटी

विकासको दृष्टिकोणले पछाडि पारिएको क्षेत्र कर्णाली प्रदेश, प्राकृतिक सम्पदाले भरिपूर्ण छ । हिमाली, पहाडी भेगहरूमा फैलिएको यस भूगोलले अनगिन्ती जडिबुटीहरूको संरक्षण र उत्पादनको अपार सम्भावना बोकेको छ । यही सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्ने उद्देश्यले अघि सारिएको कर्णाली जडिबुटी हबको अवधारणा राष्ट्रिय बहसको विषय नबनेको होइन ।

यो पहलले केवल आर्थिक समृद्धिको बाटो देखाउने मात्र होइन, कर्णालीको पहिचानलाई विश्वसामु पु¥याउने ठूलो अवसर पनि दिन सक्छ । कर्णाली प्रदेशमा पाइने जटामसी, चिराइतो, यार्सागुम्बा, सतुवा, पञ्चऔले, भालुचुकजस्ता दर्जनौं जडिबुटीहरू विश्व बजारमा अत्यन्तै माग भएको सामग्री हुन् । तर ती जडिबुटीहरू वैज्ञानिक ढंगले संकलन, प्रशोधन र निर्यात गर्न नसक्दा स्थानीयवासीले आफ्नो श्रमको उचित मूल्य पाएका छैनन् ।

यो विडम्बना मात्र होइन, राज्यको उपेक्षा र पूर्वाधार अभावको चीत्कार पनि हो । जडिबुटी हबको अवधारणाले दीर्घकालीन सोच र योजनासाथ अघि बढ्न सक्यो भने यस क्षेत्रको आर्थिक, सामाजिक र पर्यावरणीय रूपान्तरण सम्भव छ । जडिबुटी हबलाई सफल बनाउन पहिलो शर्त हो । स्रोतको दिगो व्यवस्थापन । प्राकृतिक रूपमा उब्जिने जडिबुटीहरू अत्यधिक दोहनका कारण लोप हुने अवस्थामा छन् ।

तसर्थ, वैज्ञानिक अनुसन्धान, बीउ संरक्षण, खेतमा उत्पादन प्रविधि, र वनोपजको व्यवस्थापन अत्यावश्यक छ । यससँगै दोस्रो महत्वपूर्ण पक्ष हो, प्रशोधन र मूल्यवद्र्धन । कच्चा जडिबुटी बेचेर लाभ लिनेभन्दा प्रशोधित औषधि वा उत्पादनमार्फत उच्च मूल्यमा बजारमा पठाउनु पर्नेछ । यसका लागि स्थानीय स्तरमा औद्योगिक एकाइहरू स्थापना गर्नुपर्नेछ ।

तेस्रो पक्ष हो, बजार पहुँच र व्यापार व्यवस्थापन । अन्तर्राष्ट्रिय बजारमा कर्णालीका जडिबुटी पठाउने सहज नीति, प्रमाणीकरण प्रणाली, निर्यात प्रबन्ध र निजी क्षेत्रको सहकार्य बिना यो योजना सफल हुन सक्दैन । साथै, स्थानीय जनतालाई जडिबुटीको महत्त्व, प्रयोग र व्यवस्थापनमा तालिम दिइनुपर्छ । ताकि उनीहरू केवल श्रमिक होइन, परियोजनाका साझेदार बन्न सकून् ।

कर्णाली जडिबुटी हब एउटा अवसर हो, जसले देशलाई हरित अर्थतन्त्रको दिशामा अघि बढाउन सक्छ । तर यो केवल योजना कागजमा सीमित रहनु हुँदैन । यसको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, नीति स्थायित्व, लगानीमैत्री वातावरण, तथा पारदर्शी प्रणाली विकास आवश्यक छ ।

यदि हामीले कर्णालीका जडिबुटीलाई सहि ढंगले उपयोग गर्न सक्यौं भने, यसले हजारौंलाई रोजगारी दिनेछ, कर्णालीको अर्थतन्त्र उकास्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय जडिबुटी बजारमा एक बलियो खेलाडीका रूपमा उभ्याउनेछ । समयमै चासो, स्रोत र रणनीति समन्वय गरेर अघि बढ्न सकिएमा कर्णाली जडिबुटी हब केवल सपना होइन, सम्भाव्य सफलताको प्रतिक बन्न सक्छ । यसतर्फ कर्णाली सरकारको ध्यान जाओस् ।

सम्पादकीय : समृद्ध कर्णालीको बुटी

प्रहरी अधिकृतले छोराको जन्मदर्ता बनाउनै नमानेपछि

सम्पादकीय : समृद्ध कर्णालीको बुटी

अटो चालक रणबहादुरको उपचारको क्रममा मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *