सम्पादकीय: राउटेलाई नगद दिन बन्द गर

पश्चिम नेपालमा आफूलाई वनका राजा भन्न रुचाउने राउटे समुदायको एक असाधारण र पृथक जीवनशैली छ । दक्षिण एसियामा लोपोन्मुख अल्पसंख्यक आदिवासी जातिको शीर्ष स्थानमा रहेको राउटे समुदाय परापूर्वकालदेखि जङ्गलकै बासमा बस्न रुचाउँछन । राउटेको बसोबास सुदूरपश्चिम प्रदेशको अछाम, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङसम्म हुने गर्दछ ।उनीहरूको भाषा, सांस्कृति रितिरिवाज, भेषभुषा, परम्परागत मूल्य मान्यता, रहनसहनसँगै जीवनशैली आधुनिक मानवभन्दा धेरै भिन्न छन् । उनीहरू आफ्नै नियममा बाँधिएका छन् ।आदिमकालदेखि छुट्टै पहिचान धारण गरेर जङ्गलको बासमा रहेका राउटे समुदायको जीविकोपार्जनको मुख्य पाटो जङ्गली वनस्पतिको उपभोगसँगै वनपैदावारमा आधारित घेरलु प्रयोजनका सामग्रीसँग दैनिक उपभोग्य वस्तु साट्नु हो । धेरै समय एकै ठाउँमा नबस्ने उनीहरू बसाइँ सरिरहन्छन् । खेती, किसानी गर्न यो समुदायले उहिलेदेखि न सिक्यो, न त अहिलेको पुस्ताले नै सिकेको छ ।

कपडाले छाएको, बारेको, जङ्गली काठपातले बारेको अस्थायी प्रकृतिको झुपडीमा बास बस्नु यो समुदायको परम्परा हो । कपडा वा पातपतिङ्गर ओछ्याएर चिसो÷तातो भुईंमा सुत्नु उनीहरूको दैनिकी बन्ने गर्दछ । यस्तै–यस्तै अव्यवस्थित बसोबास तथा अस्वस्थ खानपानका कारण भने यो समुदायको अस्तित्व पछिल्लो समय सङ्कटमा पर्दै गएको छ ।यो समुदायले सिल्भर, आल्मुनियम, काठका भाँडाकुँडा र पातपतिङ्गर खाना पकाउन तथा पानी सङ्कलन गर्न प्रयोग गर्छ, जुन मानव स्वास्थ्यका दृष्टिकोणले निकै हानिकारक मानिन्छ । हरेक नागरिकको स्वस्थ जीवनको ग्यारेन्टी राज्यले गर्नुपर्ने हो ।तर, राज्यको यथोचित ध्यान नपुग्नु, कमजोर जनस्वास्थ्य, अस्वस्थ खानपानका कारण कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको कमीजस्ता कारणले राउटे समुदायको अस्तित्व नामेट हुने खतरा बढ्दै गएको छ ।अर्को कुरा, बजारमा पाइने गुणस्तरहिन मदिराको लतले झन् चुनौती थपेको छ । यो समुदायका अधिकांश ठूलादेखि बालबालिकाले समेत मदिरा सेवन गर्ने गरेको बताइन्छ । राउटेहरूलाई जीवन निर्वाहका रूपमा दिइने नगद रकमका कारण मदिरा सेवनले थप प्रश्रय पाइरहेको छ ।

राउटेको सामाजिकरणका लागि राज्यले मात्रै होइन विभिन्न गैरसरकारी संस्थाले करोडौ रकम खर्च गरेका छन् । तर, राउटेको अवस्था भने जस्ताको त्यस्तै छ । यसरी प्रदान गरिने रकमले राउटेलाई परनिर्भरतामा मात्रै धकेलेको छैन कुलतको लत पनि बसालेको छ । यो नै राउटे समूदायको अस्तित्व जोगाउन मुख्य चुनौती बनेको छ । प्रदेश तथा स्थानीय तहले राउटे समुदायको उत्थान, मूलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमामार्फत राउटेका विषयमा काम गर्न कुनै खास निकायलाई जिम्मेवारी तोक्दा प्रभावकारी हुनसक्छ। राउटेले नै स्वपहिचान गरेबमोजिम राउटेको स्थानान्तरणसँगै स्थानान्तरण गर्न मिल्ने गुणस्तरीय बसोबासको व्यवस्था, स्वास्थ्य, राउटे समुदायको गोपनीयताको अधिकार संरक्षणका लागि राउटेको स्वतन्त्र पूर्वसुसूचित सहमतिबिना कुनै पनि श्रव्यदृश्य सामग्री तयार, सङ्कलन र प्रसारणमा नियमन, राउटे महिलाहरूमा प्रजनन् स्वास्थ्य जनचेतना अभिवृद्धिजस्ता कार्यक्रमहरू अगाडि सार्न ढिला भइरहेको छ ।अर्को कुरा राउटे समुदायलाई आयातित मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्णरुपमा रोक लगाइनु पर्दछ । राउटेको जिविकोपार्जनमा राज्य तथा गैरसरकारी संस्थाले दिने नगद रकम बन्द गरेर उनीहरुको आवश्यकताका आधारमा खाद्य तथा लत्ता कपडा दिने एकद्वार प्रणाली लागु गरेमात्रै राउटेकोअस्तित्व जोगाउन सकिन्छ ।

सम्पादकीय: राउटेलाई नगद दिन बन्द गर

लुम्बिनीमा औद्योगिक क्षेत्रको लगानी तीन खर्ब, सात