चार नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत ,६ भदौ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चलिरहेको लोकसेवा आयोगको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ गरेको छ । बुधबार बिहान ९ बजे सुर्खेत वीरेन्द्रनगर–७, स्थित आयोगको सुर्खेत कार्यालयमा चलिरहेको सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा सहभागी चार नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेहरू अन्य व्यक्तिको नाममा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिई लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ पर्नेहरुमा जाजरकोटको छेडागाड नगरपालिका–१२, का धर्मराज चुनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७, सामाकोटका श्याम संकर सिंह, दैलेखको भगवतीमाई गाउँपालिका–५, का सुशील शाहीको सट्टामा परीक्षा दिन आएका सोही पालिका वडा नं ७ का भरत तिरुवा छन् । पक्राउ परेका अन्य दुईमाथि अनुसन्धान जारी रहेकाले प्रहरीले उनीहरुको विवरण गोप्य राखेको थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी छ






