मौरिको चरन व्यवस्थापनका लागि सामुदायिक वन क्षेत्रमा बेमौसमी चिउरीका बिरुवा रोपण, वातावरण संरक्षण र जीविकोपार्जनमा योगदान

सुर्खेत,८ असार।
हरियाली संरक्षण र मौरीपालन प्रवर्धनको दोहोरो उद्देश्यसहित सुर्खेत जिल्लामा बेमौसमी चिउरीका बिरुवा रोपण कार्यक्रम सुरु गरिएको छ। “हरियाली प्रकृति, सफा पृथ्वी हाम्रो जिम्मेवारी” भन्ने नारासहित सुरु गरिएको यस अभियानले वातावरणमैत्री सोच र स्वच्छ जीवनशैलीतर्फ समेत प्रेरित गर्ने विश्वास गरिएको छ।

नेपाल मौरीपालक महासंघ काली प्रदेश र हेल्भेटासद्वारा सञ्चालित ‘इन इलम परियोजना’ अन्तर्गत मौरी प्रवर्धन कार्यक्रममार्फत कालिका सामुदायिक वन मर्मा क्षेत्र र काक्रेविहार वन संरक्षण क्षेत्रमा क्रमशः १०० र ३०० गरी कुल ४०० वटा बेमौसमी चिउरीका बिरुवा रोपिएको छ। कार्यक्रम कालिका सामुदायिक वन अध्यक्ष टोप वहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो।

विशेषगरी मौरीपालन व्यवसायलाई सघाउन चिउरी बिरुवाको चयन गरिएको हो। चिउरीको फूल माघ–फागुन महिनामा फुल्ने भएकाले बेमौसमी फूलबाट मौरीले वर्षको बढी समय चरन पाउने, जसले मह उत्पादन वृद्धि र स्थानीयको आयआर्जनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यस कार्यक्रमअन्तर्गत चिउरीका विरुवा चितवनको भण्डाराबाट सुर्खेत ल्याइएका हुन्। रोपिएका विरुवा स्थानीय सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा संरक्षण गरिनेछ।

मौरी प्रवर्धन कार्यक्रम दैलेख, जाजरकोट, लेकबेशी नगरपालिकामा पनि सञ्चालन गरिएको छ। दैलेख र जाजरकोटमा ५००–५०० वटा तथा लेकबेशी र गुर्भाकोट नगरपालिकामा क्रमशः १००–१०० वटा चिउरीका विरुवा वितरण गरिएका छन्।

स्थानीय वन तथा वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन, र मौरीपालन व्यवसाय विस्तारमार्फत दिगो जीविकोपार्जन सुनिश्चित गर्ने उद्देश्यका साथ यो कार्यक्रम उदाहरणीय बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

 

मौरिको चरन व्यवस्थापनका लागि सामुदायिक वन क्षेत्रमा बेमौसमी चिउरीका बिरुवा रोपण, वातावरण संरक्षण र जीविकोपार्जनमा योगदान

बनगाडमा वडा भवनका काम सम्पन्न धमाधम उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *