इको क्लबमार्फत संरक्षण सचेतना: बाँके निकुञ्जले विद्यालयस्तरबाट सुरु गर्यो वन्यजन्तु र जैविक विविधता प्रवर्धन अभियान

बाँके ,८ असार।
बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमार्फत वन्यजन्तु संरक्षण, पर्या–पर्यटन प्रवर्धन र जैविक विविधताको संवर्धनका लागि सचेतनामूलक अभियान सुरु गरेको छ। इको क्लबको सक्रियता मार्फत विद्यालयस्तरमै सुरु गरिएको यो अभियानले समुदायसम्म सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

निकुञ्जका प्रमुख बिरेन्द्र प्रसाद कडेलका अनुसार, “वन्यजन्तुको संरक्षण मानव अस्तित्वसँग जोडिएको छ। विद्यार्थीलाई संरक्षणको महत्व बुझाउनु अत्यावश्यक छ, जुन इको क्लब मार्फत सम्भव भइरहेको छ।” उनका अनुसार यस अभियानले विद्यार्थीलाई नेतृत्वदायी बनाउँदै संरक्षण र पर्यावरणप्रति उत्तरदायी बनाउने लक्ष्य राखिएको छ।
अभियानअन्तर्गत मध्यवर्ती क्षेत्रका १५ वटा विद्यालयमा इको क्लब गठन गरिएको छ। संरक्षणप्रति जनचेतना जगाउने लक्ष्यसहित विद्यालयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। साथमा खेलकुद सामग्रीसमेत वितरण गरिएको छ, जसले विद्यार्थीलाई थप उत्प्रेरित गर्ने विश्वास लिइएको छ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र खड्काले निकुञ्जका कारण स्थानीय बासिन्दाले प्रत्यक्ष फाइदा लिएको र जैविक विविधताको संरक्षणमा पनि उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
राप्तीसोनारी गाउँपालिकाकी कार्यपालिका सदस्य राधिका सुनरले वन्यजन्तुजन्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र वैकल्पिक आयआर्जनका लागि वडा स्तरबाट समेत बजेटको पहल गरिने जानकारी दिइन्।
निकुञ्जले विद्यालयस्तरमै सचेतनामूलक गतिविधि सञ्चालन गर्नुको उद्देश्य वन्यजन्तुको संरक्षणका साथै चोरी–सिकारी नियन्त्रणमा समेत सहयोग पुग्ने हो। यस्ता कार्यक्रमले दीर्घकालीन रुपमा प्राकृतिक स्रोतको संरक्षण र समुदायको समृद्धि दुवैमा टेवा पुग्ने विश्वास गरिएको छ।






