जुम्लामा कम्युनिष्ट एकता भेला: ”देशकै संकटले एकतामा धकेल्याे” भण्डारी

गाेल्डेन बुढा
जुम्ला,५ मंसिर।
जुम्लामा वाम धारभित्र विगत लामो समयदेखि टुक्रिँदै आएको राजनीतिक ऊर्जा फेरि एकथोकमा उत्रिएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत ११ दलको साझा पहलमा गठन भएको नेपाली कम्युनिष्ट पार्टीको जिल्ला–स्तरीय एकता सन्देश भेला शुक्रबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। जिल्लाका अनुभवी नेतृत्वदेखि गाउँगाउँका कार्यकर्ता सम्मिलित भेलाले वाम एकतालाई संस्थागत,राजनीतिक रूपमै नयाँ मोड दिएको छ।पार्टीका केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले एकतालाई “ऐतिहासिक अनिवार्यता”का रूपमा व्याख्या गरे।
उनका अनुसार मुलुक बढ्दो राजनीतिक अस्थिरता, आर्थिक सुस्तता तथा शासन व्यवस्थामाथिको जनअविश्वासका घेराभित्र छ, र यिनै चुनौतीसँग जुध्न सक्षम शक्ति वाम धारा नै हो।“यो एकता केही व्यक्तिको व्यवस्थापन वा पदको लेनदेन होइन,” भण्डारीले कडा स्वरमा भने, “इतिहासले पटक–पटक देखाएको टुटफुटको पीडा अन्त्य गर्दै, दीर्घकालीन कम्युनिष्ट केन्द्र निर्माण गर्ने हाम्रो प्रतिवद्धता हो।”भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापनादेखि सामाजिक न्याय र समृद्धिको एजेण्डा कार्यान्वयन गर्न सक्षम राजनीतिक विकल्प नेपाली कम्युनिष्ट पार्टी नै हुने दाबी गरे।उनले सरकार निर्वाचन तयारीमा तीव्र रुपमा लागिरहेको बताए। तर निर्वाचन तोकिएकै समयमा नभए मुलुक सैन्य हस्तक्षेपको जोखिममा धकेलिन सक्ने आगाह गर्दै उनले जनतालाई “विशेष राजनीतिक सतर्कता”का लागि आह्वान गरे।“जुम्लासम्म आएको हाम्रो एकता सन्देश गाउँ–गाउँमा संगठनात्मक अभियानको सुरुवात हो,” उनले थपे।पार्टीका केन्द्रीय सदस्य पदमबहादुर रोकायाले जुम्ला वाम राजनीतिसम्बन्धी जीवित इतिहासको भूगोल भएको स्मरण गराउँदै नवगठित नेपाली कम्युनिष्ट पार्टी कर्णालीकै पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरे।“बाम गठबन्धनका कठोर दिनमा माओवादी केन्द्रले दिएको साथ म कहिल्यै बिर्सिन सक्दिन,” रोकायाले आत्मीयतापूर्वक भने, “अब मनदेखि एकता बुझेपछि जुम्ला मात्रै होइन, सिंगो कर्णालीमै वाम धारा निर्णायक बन्नेछ।”उनका अनुसार प्रचण्ड र माधव नेपालको दीर्घकालीन राजनीतिक दृष्टि पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्रमा पुनर्संरचना गर्ने दिशामा केन्द्रित छ।कार्यक्रममा सहभागी अन्य नेताहरूले विगतका कटुता, अविश्वास र टुटफुटको संस्कृतिलाई अन्त्य गर्दै ‘भावनात्मक–राजनीतिक’ एकता निर्माण गर्न आग्रह गरे।

उनीहरूको भनाइमा आगामी निर्वाचनमा एकता केवल ‘स्लोगन’ होइन, अस्तित्वगत आवश्यकता हो—एक मत, एक उम्मेदवार र एक अभियानको रणनीति अवलम्बन नगरे वाम धारा फेरि–फेरि कमजोर बन्ने खतरा रहन्छ।भेलाले एकतालाई केवल औपचारिक घोषणामा सीमित नराखी गाउँस्तरदेखि वडा–वडासम्म संगठन विस्तार गर्ने, कार्यकर्ता परिचालन बलियो बनाउने र साझा राजनीतिक एजेण्डा निर्माण गर्ने निर्णयसहित भेला सम्पन्न भएको बताइएको छ।जुम्लामा देखिएको यो सहभागिता र ऊर्जा वाम एकतालाई राष्ट्रिय तहमै नयाँ संदेशका रूपमा हेरिएको छ।






