तरकारी खेतीको आम्दानीबाट विद्यार्थीको पढाइमा सहयोग
बर्दिया,३ असोज ।
बर्दियाको गेरुवा गाउँपालिका–५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले विपन्न आर्थिक अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न अनौठो पहल गरेको छ । विद्यालयले आफ्नै जग्गामा तरकारी खेती सुरु गरेर विद्यार्थीलाई पढाइमा सहयोग गर्ने काम थालेको हो ।
विद्यालयले ३ कठ्ठा जग्गामा खुर्सानी, प्याज, भान्टा लगायत तरकारी रोपेका साथै ३० केजी बीउबाट च्याउ उत्पादन गरेर बिक्रीसमेत गरेको छ । तरकारी र च्याउ बिक्रीबाट भएको आम्दानी विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री किन्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ ।

शिक्षिका रामकुमारी चौधरीका अनुसार, “एकातिर विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन मिल्छ भने अर्कोतिर विद्यालयको आम्दानी विपन्न विद्यार्थीलाई सहयोगमा प्रयोग गर्न पाउँदा खुशी लागेको छ ।” त्यस्तै, विद्यालयका प्रधानाध्यापक योगेन्द्रकुमार चौधरीले भने, “कक्षा ६, ७ र ८ का विद्यार्थीलाई समेत सहभागी गराएर खेती गरिएको हो । यसले विद्यार्थीलाई श्रमको मूल्य र उद्यमशीलताको महत्व बुझ्न पनि सहयोग पुर्याएको छ ।”
विद्यार्थीहरू पनि यस कार्यबाट उत्साहित छन् । कक्षा–८ मा अध्ययनरत विद्यार्थी मनिषा चौधरीले भनिन्, “हामीले आफ्नै हातले गरेको खेतीबाट साथीहरूको पढाइमा सहयोग पुग्ने भन्ने सोच्दा गर्व लाग्छ ।” त्यस्तै, कक्षा ७ का विद्यार्थी सन्तोष थारु भन्छन्, “पढाइसँगै खेती गर्न सिक्दा रमाइलो भएको छ । हाम्रो मेहनतले साथीलाई किताब र कापी किन्न सजिलो हुन्छ भन्ने कुरा विशेष लाग्छ ।”
ब्युल्डअन नेपाल र विद्यालयको २१ हजार लगानीमा सुरु गरिएको खेतीबाट अहिले राम्रो उत्पादन भइरहेको विद्यालय प्रशासनले जनाएको छ । हाल विद्यालयमा २५५ जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयको अन्य कुनै आम्दानी स्रोत नभएकाले यस किसिमको पहल गर्नुपरेको बताइएको छ ।






