“जुम्लाका मतदाता”अन्योलमा

गोल्डेन बुढा

जुम्ला ,३ मंसिर 
आगामी फागुन २१ गते को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देश फेरि चुनावी रौनकमा छ। आगामी निर्वाचन नजिकिँदै जाँदा केन्द्रीय राजनीतिक दलहरूबीच एकता र सहकार्यका सम्भावनाबारे तीव्र छलफल सुरु भएको छ। दलका शीर्ष नेताहरू चुनावी समीकरण मिलाउने प्रयत्नमा आन्तरिक गृहकार्यमा जुटेका छन्।दलहरूबीच औपचारिक र अनौपचारिक संवाद भइरहेका छन्। भने सम्भावित चुनावी तालमेलका विषयमा नीतिगत र रणनीतिक तयारी पनि तीव्र भएको छ।तर, जुम्लामा मतदाताको मुड यसपटक असामान्य रूपमा शान्त देखिन्छ। यो मौनता निरासाको मात्र संकेत होइन, राजनीतिक चेतनाको पुनर्मूल्यांकनको चरण पनि हो।जुम्लाको दुर्गम पातारासी गाउँपालिका–७ की राममाया खड्का प्रत्येक निर्वाचनमा उत्साहित मतदाता रहिआएकी हुन्। तर अब उनी भन्छिन्, “हरेक पटक नयाँ वाचा सुन्छौं, तर हाम्रो गाउँको अवस्था उस्तै छ। गठबन्धन बदलिँदा पनि जीवनमा परिवर्तन आएन।”उनजस्तै धेरै मतदाताको मनोविज्ञान बदलिँदै छ, उनीहरू अब दलका झण्डाभन्दा पनि परिणामको प्रतीक्षा गरिरहेका छन्।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरू फेरि पनि सत्ता-समिकरण र भोट–गणितमा व्यस्त छन्। कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको कुरा चले पनि ठोस दृष्टिकोण जनतासामु आएको छैन। एमालेले फेरि “स्थिरता र विकास”को नारा दोहोर्याएको छ, तर मतदाताको स्मृतिमा अघिल्ला कलह र अस्थिरता अझै ताजा छन्।चन्दननाथ–१० का लोकेन्द्र गिरी भन्छन्, “पुराना दलहरूमा विचारको ताजापन हराइसक्यो। उनीहरू नीति होइन, पदमा प्रतिस्पर्धा गर्दै छन्। यही कारणले जनतामा असन्तोष बढ्दो छ।”गत निर्वाचनमा जुम्लाले ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीलाई जिताएर “पुरानाको विकल्प” खोज्ने प्रयास गरेको थियो। तर त्यो उत्साह स्थायी हुन सकेन। राप्रपाका शाहीले २२ हजार ८ सय १९ मत ल्याएर सत्ता गठबन्धनकी उम्मेदवार गोमा (गौतम) कुँवरलाई १० हजार ८ सय ६० मतान्तरले पराजित गरेका थिए। तर त्यो उत्साह स्थायी हुन सकेन।शाहीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) का गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरेकी थिइन्।

विजय भएपछि ज्ञानेन्द्र शाहीका मत ५ सय ९० मत थियो।छिना गाउँका युवा खगेश्वर मल्ल भन्छन्, “शाहीज्यूले आवाज बुलन्द गर्नुभयो, तर त्यसले व्यवहारिक रूप लिन सकेन। नयाँ दलहरूले पनि त्यही गल्ती नदोहोर्याउँछन् कि भन्ने डर छ।”नाम ज्ञानबहादुर काम अज्ञानबहादुर भयो।”रास्वपा अहिले जुम्लामा संगठन विस्तारमा सक्रिय छ। युवामाझ आकर्षण त देखिन्छ, तर आन्तरिक असम्झदारीले संगठनात्मक बल कमजोर बनाएको छ। तिला–९ की विष्णु बुढा भन्छिन्, “नयाँ दलहरूमा उत्साह छ, तर संस्थागत संरचना छैन। त्यो बने मात्र तिनीहरू वैकल्पिक शक्ति बन्न सक्छन्।””अब पुराना दल सचिन पर्छ।जुम्लामा पुरानै दलले चुनाव जित्ने निश्चित,जनताको मर्म र चुनावी एजेन्डा अनुसार विकास अनिवार्य हुनुपर्छ।जुम्लामा अब मतदाताको प्राथमिकता बदलिएको छ। खलंगाका शिक्षित वर्ग, व्यापारी र विद्यार्थी सबैको एउटै धारणा छ, भाषण होइन, परिणाम चाहिएको छ। विद्यार्थी दीपिका रोकाया भन्छिन्, “हामीलाई रोजगारी र शिक्षा चाहिएको हो, नाराबाजी होइन।

पारदर्शिता र जवाफदेहीता कोही पनि गम्भीरतापूर्वक लिँदैन।”व्यवसायी भैरवबहादुर धरला थप्छन्, “हरेक सरकार आफ्नै नीति ल्याउँछ, निरन्तरता हुँदैन। चुनाव आउँदा विकास रोक्छन्, लगानीकर्ता पलायन हुन्छन्।”दुर्गम तिला–१ का अर्जुन बुढा भन्छन्, “अब हजुरबुबाको पार्टी भनेर नातिनातिनाले भोट हाल्दैनन्। जसले काम गर्छ, उसैले जित्छ।”पूर्व शिक्षक नन्दबहादुर बुढाको भनाइमा, “मतदाता अब भावनात्मक होइन, व्यावहारिक भएका छन्। उनीहरू नारा होइन, नतिजा खोज्दै छन्।”जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त प्रमुख नारायणी चाैलागाईं (आचार्य) का अनुसार जुम्लामा जम्मा खसेको ६८ हजार ६ सय ३८ मत मध्य ४५ हजार २ सय ८४ मत खसेको थियो ।हालसम्म ९ सय २० जना नयाँ मतदाता थपिएका छन्। असोज १० देखि कार्तिक ३० सम्म मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान चलिरहेको छ, र यसमा नागरिक सहभागिता उल्लेखनीय देखिएको छ।त्यहीबीच, नेकपा (एमाले), नेपाली कांग्रेस माओवादीलगायतका परम्परागत दलहरूले वडास्तरदेखि नै संगठन सुदृढीकरण, सदस्यता नवीकरण र जनसंपर्क अभियानलाई तीव्र बनाएका छन्।नेपाल पत्रकार महासंघ जुम्लाका पूर्व अध्यक्ष नेत्रबहादुर शाही भन्छन्, “जुम्लामा मौनता बढेको छ, तर त्यो असन्तोषको मौनता हो। मतदाता अब प्रतिक्रियात्मक होइन, परिणाममुखी भएका छन्।”नेपाली कांग्रेस महासमिति सदस्य गौरीनन्द आचार्यले पनि टिप्पणी गरे, “यो निर्वाचन जनताको धैर्य र दलहरूको इमानको परीक्षा हो। पुरानाले आत्मसुधार नगरे नयाँले ठाउँ लिनेछन्। अन्ततः परिवर्तन जनताले नै लेख्नेछन्।”जुम्लाका नागरिकका लागि यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया होइन,यो राजनीतिक चेतनाको पुनर्मूल्यांकन हो। यहाँका मतदाता अब स्पष्ट छन् — “सत्ता फेरिंदैमा विकास हुँदैन, नेतृत्व बदल्न जरुरी छ।”स्थानीयको सारगर्भित भनाइमा, “हामीलाई भाषण होइन, बाटो चाहिएको हो; वाचा होइन, अस्पताल पुग्ने सहजता चाहिएको हो।”त्यसैले आगामी फागुन २१ को निर्वाचनले केवल नेतृत्व होइन, विश्वास र विकास दुबैको पुनर्निर्माण गर्ने ऐतिहासिक मोड बनोस् भन्ने जुम्लावासीको अपेक्षा छ।
स्थानीयकाे प्रतिक्रिया

जुम्लामा निर्वाचनमाथि संका : हिउँ, रोजगारी र राजनीतिक अन्योलले मत खसाउने दर घट्ने अनुमान

आगामी फागुन २१ गतेका लागि तय गरिएको आमनिर्वाचन नजिकिँदै जाँदा जुम्ला र सिंजा क्षेत्रको जनजीवनमा भने चुनावी चहलपहल अपेक्षाकृत सुस्त देखिएको छ। स्थानीय बासिन्दा, बुद्धिजीवी र युवाहरूको धारणा सुन्दा यो वर्ष ५० प्रतिशतभन्दा कम मत खस्ने सम्भावना उच्च देखिन्छ।बुद्धिजीवी कालीबहादुर महतका भन्छन्, “फागुनमा यहाँ हिउँले गाउँ ढाक्छ। अर्कोतर्फ, रोजगारीका सिलसिलामा भारत र तराई झर्नेहरू चैततिर मात्रै फर्किन्छन्। यसले मत खसाउने दर घटाउने सम्भावना छ।” उनका अनुसार अहिले गाउँमा प्रायः महिला, बालबालिका र वृद्ध मात्रै देखिन्छन्।
राजनीतिक अन्योल र जनविश्वासमा कमी

सिंजा–६ का ७१ वर्षीय कालो बुढाको दृष्टिमा अहिलेको राजनीतिक वातावरण स्पष्ट छैन। “अधिकांशले चुनाव तय भएको भन्छन्, तर मलाई अन्योलता देख्छु,” उनले भने। “ठूला दलहरूबीच संसद पुनःस्थापनाका लागि हस्ताक्षर संकलनको चर्चा छ। अर्कातर्फ, राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा पनि चल्दैछ। यस्तो अवस्थामा फागुन २१ मा चुनाव सम्पन्न होला जस्तो लाग्दैन।”उनको भनाइमा, जुम्लामा अहिले पनि पुरानै दलहरूको प्रभाव बलियो छ भने नयाँ दलहरूको सम्भावना कमजोर देखिन्छ।
नयाँ दलप्रति विश्वास घट्दै
स्थानीय शेरबहादुर बुढाका अनुसार नयाँ भनिएका दलहरू पनि पुराना पार्टीकै बाटोमा हिँड्न थालेका छन्। “रास्वपाले केही सिट बढाउने अनुमान थियो, तर सहकारी काण्डले पार्टीको छवि बिगार्यो। नेताहरूले स्वार्थका लागि जे पनि गर्छन्, जसले जनविश्वास घटाएको छ,” उनले बताए।

युवाको सक्रियता र परिवर्तनको चाहना
२४ वर्षीय विद्यार्थी कृष्णबहादुर रावत भने मताधिकार प्रयोगप्रति उत्साहित छन्। “मैले दुई पटक मतदान गरिसकेँ, यसपालि पनि गर्छु। एक भोटले पनि फरक पार्छ। देशले नयाँ दिशा खोज्दै छ र त्यो परिवर्तन युवाबाटै सम्भव छ,” उनले भने। उनका अनुसार युवाले राजनीतिमा प्रवेश गर्नुपर्ने र निर्वाचनलाई अवसरको रूपमा लिनु जरुरी छ।
मौसम र भूगोलका चुनौती
स्थानीय कर्म कुँवर भन्छन्, “फागुनमै यहाँ चिसो चर्किन्छ, हिउँले बाटो बन्द हुन्छ। यस्तो मौसममा निर्वाचन सम्भव होला कि भन्ने शंका छ।” उनले भ्रष्टाचार अन्त्य र सोच परिवर्तनलाई नै विकासको पूर्वशर्त माने। “व्यक्तिले होइन, सोच बदल्नुपर्छ,” कुँवरको भनाइ छ।
प्रणाली परिवर्तनको माग
कनकासुन्दरी–१ का भक्तबहादुर कठायतले भने वर्तमान प्रणाली नै कमजोर भएको दाबी गरे। “चुनाव गरेर मात्रै केही हुँदैन, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ। जनताको समस्या त्यहीँका त्यहीँ रहन्छन्। अहिले प्रणाली परिवर्तन अपरिहार्य देखिन्छ,” उनले भने।

Leave a comment

Your email address will not be published. Required fields are marked *