विधान विपरित अध्यक्ष कुलमणिको हालिमुहाली, अवैध पदाधिकारी र स्कीम संयोजकलाई इन्धन सुविधा

सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समिति पछिल्लो समय जीवन र मरणको अवस्थामा पुगेको छ । २०७७ साल चैत १४ गते १९ औं साधारण सभा गरेको संस्थाले त्यसपछि न त नयाँ नेतृत्व नै चुन्न सकेको अवस्था छ भने न त वोर्ड बैठक नै बस्न सकेको पाईएको छ ।
यतिसम्मकी सुर्खेतका सबै राजनीतिक दलहरु संस्थालाई चलायमान बनाउन पूर्ण रुपमा असफल देखिएका छन् । उनीहरुले संस्थाको सर्वसम्मत नेतृत्व चयन गर्ने बारम्बार प्रतिबद्धता जनाएको भएपनि हालसम्म खानेपानी संस्थामा के भइरहेको छ भन्ने बारेमा न त कुनै जानकारी नै लिएका छन्, न त कुनै रुचीसमेत देखिएका छन् ।
हाल नेकपा एमाले जिल्ला कमिटीका अध्यक्षसमेत रहेका कुलमणि देवकोटा संस्थाको अध्यक्षका रुपमा रहेका छन् । यद्यपी उनीको संस्थामा कार्यकक्ष भएको भएपनि उनी खानेपानी संस्थामा ‘बाटो बिराएर’ मात्रै आउने गरेका छन् । अन्य पदाधिकारीहरु पनि नआउने गरेको संस्थाका कर्मचारीहरु बताउँछन् । अध्यक्ष देवकोटा नेतृत्वको टोली २०७२ साल भदौं १८ गते निर्वाचित भएको थियो । संस्थाको विधानअनुसार हरेक चार वर्षमा चुनावी साधारण सभाको आयोजना गर्नुपर्ने हुन्छ तर २०७७ चैत पछि भने कुनैपनि साधारण सभा बस्न सकेको अवस्था छैन ।
संस्थामा १९ औं साधारणसभा भइरहेको समयमा संस्थाका केहि पदाधिकारीसहितले बन्दसत्रमा बहिष्कार गरेका थिए । त्यसपछि उक्त संस्थालाई चलायमान बनाउन नगरपालिकाले चासो देखाएको जस्तो गरेपनि त्यसको प्रतिफल निकाल्न भने सकेन ।
संस्थाले वीरेन्द्रनगरको वडा नम्बर एक देखि बाह्रसम्मका सबै क्षेत्र तथा वडा नम्बर १३ को केहि क्षेत्रलाई कार्यक्षेत्रको रुपमा लिई कार्य गर्दै आइरहेको छ । वीरेन्द्रनगरमा रहेका १० ओटा स्किममा २० हजार ३ सय धारा जडान गरिएका छन् भने संस्थामा २९ जना स्थायी, २४ जना करार र २ जना ज्यालादारीमा काम गर्दै आइरहेका छन् ।
संस्थामा भइरहेको खिचातानीलाई अन्त्य गर्ने र वीरेन्द्रनगरवासीलाई पानी खुवाउने भन्दै सुर्खेतस्थित राजनीतिक दलहरुले दुई पटक सर्बदलीय, सर्वपक्षीय वैठकसमेत गरिसकेका छन् ।
तत्कालिन नगर प्रमुखमा देवकुमार सुवेदी रहेको समय २०७६ असोज १३ गतेको वैठकमा दीर्घकालिन वैकल्पिक व्यवस्थाका बारेमा मतैक्यता गर्दै सर्वदलीय वैठकबाट थप राय सल्लाहसहित संस्थालाई अघि बढाउने सहमति भएको थियो । उक्त वैठकमा एमाले प्रदेश सभा सदस्य एवम हालका मुख्यमन्त्री यामलाल कंडेल, नेपाली काँग्रेसका तत्कालिन जिल्ला सभापति कमलराज रेग्मी, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसी, राप्रपा अध्यक्ष मानबहादुर खड्कालगायतको सहभागिता भएको थियो ।
उक्त वैठकले कार्यदल गठन गरेको भएपनि त्यसले कुनै निकास निकाल्न भने सकेन । त्यसपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २०७९ भदौ ६ गते पुनः वैठक बस्यो । यो वैठकमा नगर प्रमुख मोहनमाया ढकालको संयोजकत्वमा एक समितिसमेत बनेको थियो । उक्त समितिमा जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिहरु पदेन सदस्य तोकिएका थिए भने सदस्य सचिवमा भने संस्थाका अध्यक्ष देवकोटालाई तोकिएको थियो । उक्त वैठकले विश्व वैंकसँग साझेदारी गर्नेदेखि साधारणसभा सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको थियो । त्यसका अलावा संस्थालाई नगरपालिका मातहत ल्याउने भन्ने बारेमा पनि तयारी भएको कर्मचारीहरु बताउँछन् । तर उक्त कार्यदल गठन भएको बर्षौँ वित्दासमेत कुनैपनि प्रगति भने भएको छैन ।
संस्था बन्यो दुहुनो गाई
यता, दश वर्षदेखि नयाँ नेतृत्व नआएको संस्था भने २०७२ सालमा निर्वाचित स्कीम संयोजक, संस्थाका पदाधिकारी र सदस्यहरुलाई मासिक रुपमा तेल दिने दुहुनो गाई भने बनेको छ ।
वोर्डको बैठक बस्ने समयमा अनुपस्थित हुने, बहिष्कार गर्नेदेखि विभिन्न विवाद गर्ने पदाधिकारी तथा सदस्यहरु भने मासिक रुपमा तेल लिन भने संस्थामा आउने गरेका छन् ।
कार्यालयका कर्मचारीका अनुसार संस्थाले अध्यक्षलाई आवश्यकता अनुसार डिजेल उपलब्ध गराउँदै आएको छ । उनी एमाले अध्यक्ष भएसँगै मोटरसाईकलका लागि दशदेखि पन्ध्र लिटरसम्म एक पटकमा तेल संस्थाबाट लिइरहेका छन् । संस्थालाई आवश्यक पर्ने भन्दै बार्षिक रुपमा ८ लाख बजेट तेल शीर्षकमा विनियोजन भइ खर्च भईरहेको लेखापाल चिरञ्जीवि खनालले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्ष दिपु सार्कीले मासिक रुपमा १५ लिटर पेट्रोल, सचिव चन्द्र सुनार ले ७ लिटर, कोषाध्यक्ष रामबहादुर गौतमले डिजेल ४० लिटर, सदस्यहरु राधा कार्की, गुईठी चौधरी, ओमदत्त रेग्मी, अमरबहादुर नेपाली, भुवन राम्जाली मगरसहित सदस्यहरु र दश ओटा स्किम संयोजकले सात लिटरका दरले हरेक महिना पेट्रोल लिइरहेका छन् ।
यसरी हेर्दा मासिक रुपमा संस्थाले विधान विपरितको पदाधिकारी, स्कीम संयोजक र सदस्यहरुलाई मासिक रुपमा कम्तिमा पनि तेल वापत भन्दै २० हजार र वर्षमा दुई लाख ४० हजार बराबर रकम खर्च गर्दै आइरहेको छ ।
ठूलो क्षति भए पुर्ननिर्माण असम्भव
यता, विगत चार वर्ष देखि संस्थाको वोर्ड वैठक नबस्दा कर्मचारीले नै संस्था चलाइरहेका छन् । ‘अहिलेसम्म हामीले साना तिना सुधारका काम मात्रै गर्न पाएका छौँ । विधानले कार्यकारी निर्देशकलाई जम्मा २५ हजार मात्रै खर्च गर्ने अधिकार प्रदान गरेको छ ।
संस्थामा अहिले न त पाईप हरु छन, न त मर्मत सम्भारका लागि आवश्यक पर्ने स्रोत साधानहरु रहेका छन् ।’ संस्थाका सूचना अधिकारी घनश्याम भट्टराईले भने, ‘ठूलो क्षति भएको खण्डमा हामीले हात बाँधेर बस्नुको विकल्प नै छैन । किनकी २५ हजार बजेटले केहि पनि गर्न सकिँदैन । कार्यकारीले २५ हजार रुपैंयासम्म खर्च गराउन सक्ने व्यवस्था पनि २०६७/०६८ सालको निर्णय हो । त्यसयता कति महँगी बढेको छ भन्ने कुरा तपाईलाई पनि जानकारी होला ।’
उनका अनुसार अहिले एक्कासी ठूलो पानी आएको खण्डमा धेरै ठाउँमा जिआई पाइप पहिरोले लैजाने जोखिम रहेको र त्यस्तो भइहालेको खण्डमा वीरेन्द्रनगरवासीले खानेपानी पाउनै समस्या हुने बताए । उनको भनाई अनुसार संसथा अहिले राम भरोसा चलिरहेको हो ।
कर्मचारीको वृत्ति विकास रोकियो
यता, १६ वर्ष देखि काम गर्दै आईरहेका कर्मचारीको वृत्ति विकास पूर्ण रुपमा रोकिएको भट्टराईले बताए । ‘साधारण सभा नबसेको हुँदा कर्मचारीको वृत्ति विकास हुन सकेको छैन । निजामतितर्फ खरदार भएकाहरु अधिकृत बनिसक्दा पनि यहाँ सुब्बा भएकाहरु सुब्बा तहमै काम गर्नुपरिरहेको अवस्था छ ।’ उनले भने, ‘यदि नियमित रुपमा साधारण सभा भइदिएको भए यस्तो अवस्था आउँदैन थियो यसले कर्मचारीहरुको मनोबललाई कमजोर पारिरहेको अवस्था छ ।’
चार करोड संस्थाको खातामा
लेखापाल खनालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा चार करोड २८ लाख १२ हजार ५५३ रुपैंया संस्थाको खातामा रहेको छ । उक्त आर्थिक वर्षमा संस्थाले ४ करोड ७९ लाख ७२ हजार ८८६ रुपैंया आम्दानी गरेको थियो भने ह्रास खर्च र कर्मचारी उपदान कोषसमेत (खर्च नभएको सहित) गर्दा पाँच करोड १४ लाख ४५ हजार ५५१ रुपैंया खर्च भएको हो ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा पाँच करोड ६ लाख ८१ हजार ४८५ रुपैंया संस्थाको खातामा रहेको थियो । उक्त आर्थिक वर्षमा संस्थाले ४ करोड ९९ लाख ५४ हजार ६५९ रुपैंया आम्दानी गरेको थियो भने ह्रास खर्च र कर्मचारी उपदान कोषसमेत (खर्च नभएको सहित) गर्दा पाँच करोड ८९ लाख ८९ हजार ८५७ रुपैंया खर्च भएको हो ।
यता, संस्थाका अध्यक्ष देवकोटाले भने आफू पछिल्लो समयमा संस्थामा नआएको बताए । ‘संस्थालाई केहि राम्रो गरौं भनेर लागिएको हो, कहिले नगरपालिकाले हस्तक्षेप गर्ने कहिले कसैले बहिष्कार गर्ने भएका कारण यस्तो समस्या सिर्जना भएको हो ।’ उनले भने, ‘यस बारेमा नगरपालिकालाइ सोध्दा बढी राम्रो होला ।’
यता, नगर प्रमुख मोहनमाया ढकालले भने यस बारेमा खुलेर प्रतिक्रिया दिन चाहिनन् । ‘म अहिले डोल्पामा अन्तर नगरपालिका स्तरिय भ्रमणमा छु’ उनले भनिन्, ‘अहिले यात्रामै भएका कारण अहिलेलाई यत्ति भनेँ ल ।’ उनले यति भन्दै फोन राखिन ।






