दैलेखको पञ्चकोशी र जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने प्रक्रिया
रमेश रावल
सुर्खेत । कर्णाली प्रदेशका धार्मिक तथा ऐतिहासिक महत्वका क्षेत्रहरु दैलेखको पञ्चकोशी र जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचिमा सुचिकृत गर्ने प्रक्रिया थालिएको छ ।पुरातत्व विभागले दैलेखको पादुका, श्रीस्थान, भुर्तिका पञ्चदेवल र जुम्लाको सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने प्रक्रिया थालेको हो ।
पुरातत्व विभागको टोलीले दैलेखको नारायण नगरपालिका–३ भुर्तिस्थित पञ्चदेवल र जुम्लाको सिंजा क्षेत्रको अध्ययन गरेर फर्किएको हो ।पुरातत्व विभागको टोलीले जुम्लाको हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिका तथा दैलेखको नारायण नगरपालिकाका स्थानीय तथा जनप्रतिनीधिसँग छलफल तथा अध्ययन गरेको थियो । विभागले कर्णालीका अन्य ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमणसमेत गरेको छ ।
कर्णाली प्रदेशलाई भाषा, सभ्यता र संस्कृतिमा नेपालकै पुरानो थलो मानिन्छ । कर्णाली प्रदेश खस साम्राज्यको विरासतका रुपमा जुम्लाको सिंजा गृष्मकालिन र दैलेखको दुल्लु शितकालिन राज्य थियो । यसकै आधारमा यहाँका सम्पदालाई पुरातत्व विभागले विश्व सम्पदा सूचीमा राख्ने तयारी थालेको हो । दैलेखको दुल्लु र सिंजामा खस राज्यकालिन पञ्चकोशी धाम, ऐतिहाँसिक गुम्बा, किर्तिखम्ब र पञ्चदेवल छन् । यिनको निर्माण पनि खस राज्यको पालामै निर्माण भएको इतिहाँस छ ।
दैलेखको नारायण नगरपालिकाको भुर्तिका २५ देवल संरक्षण गर्न पर्खालबाहेकका अन्य काम हुन सकेका छैनन् ।ऐतिहाँसिक अध्ययन सूचीमा राखिएकासम्पदा क्षेत्रका कागजात सम्बन्धि काम भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । ‘महानिर्देशकज्यूको नेतृत्वमा अध्ययन टोली सम्पदास्थलमा भ्रमण गएको थियो,’ उनले भने,‘त्यहाँका ऐतिहाँसिक ठाउँ सिंजा र दैलेखको पञ्चकोशी पुगेर टोली फर्किएको छ ।’
तत्कालिन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार गर्न विभागले आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको प्रवक्ता कँुवरले जानकारी दिए । ‘सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो,’ उनले भने,‘सिंजालाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सबै एकमत भएको देखिन्छ । तर, आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ ।’
विभागले सिंजालाई विश्व सम्पदा सूचीमा समेट्न काम अघि बढाइसकेको छ, तर विकासका नाममा धमाधम सम्पदा मासिदा परम्परागत सांस्कृतिक महत्व नै भेट्न मुस्किल परेको प्रवक्ता कुँवरले बताए । सिंजालाई विश्व सम्पदा सूचीमा राख्न पटक–पटक विभागमा पहल गरिएको जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । ‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो,’ उनले भने,‘विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ ।’सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला विभागले देखाएको चासोप्रति सिंजाबासी उत्साहित भएको धितालले बताए ।
के हो खस सभ्यता?
कर्णाली नेपाली भाषाको उद्गमस्थल हो ।सिंजा उपत्यकामा १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो । सिंजा उपत्यका खस राज्यको राजधानी थियो । १२औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म नेपाली भाषाको उत्पत्ति सिंजामा भएको इतिहास पाइन्छ ।
सिंजा उपत्यकामाको कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना–ठुला देवीदेवताका मन्दिरहरु वर्तमान अवस्थामा जीर्ण छन् । पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ ।
खस राज्य सञ्चालनको समयमा बनाइएको यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठुलाठुला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अंकहरु लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरुमा बेवारिसे अवस्थामा छन् ।३४६१ बर्षअघि अर्थात् इशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दर शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ ।
जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रुपमा चित्रण गरिएको पाइन्छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।
खस राजा नागराज र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब तीन वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास भेटिन्छ ।
त्यस्तै, बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व थियो । चौथो शताब्दीमा शुरु भएको जुम्ला राज्य १८ औं शताब्दीसम्म अखण्ड र शक्तिशाली थियो ।
त्यस्तै, दैलेखको नारायण नगरपालिका–३ भुर्तिमा रहेका देवलहरु चौधौँ र पन्ध्रौँ शताब्दीतिर सिंजाका खस मल्ल राज्यकालका समयमा निर्माण भएको अनुमान गरिन्छ । स्थानीयको भनाई अनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरु रहेकोमा हाल २२ वटा देवल मात्र बाकीँ छन् ।मोहनप्रसाद खनालले प्रकाशन गरेको अभिलेख खस सिंजा साम्राज्यका अभिलेखहरुमा देखिने ‘ॐ मणि पद्मे हुँ’ जस्ता शब्दहरु यी देवलमा कोरिएको भनेका छन् । उनकै अनुसार यी देवलको निर्माण विसं.१४६५ मा भएको बताएका छन् ।