मृतक र दोहोरो लाभग्राहीका नाममा भत्ता हिनामिना : जानकी गाउँपालिका–९ का वडाध्यक्षसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा

कैलाली ,३१ असोज ।

कैलालीको जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

शुक्रबार अख्तियारले विशेष अदालतमा वडाध्यक्ष भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, तत्कालीन खरिदार पूर्णबहादुर विष्ट, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माविरुद्ध मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार उनीहरूले सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सोही वडामा मृत्यु दर्ता भइसकेका व्यक्तिहरूको नाममा भत्ता वितरण गरेका थिए। त्यस्तै एउटै नागरिकता प्रयोग गरी दोहोरो लाभग्राहीको रूपमा रकम निकासा गरिएको पाइएको छ।

जसअन्तर्गत मृतक र दोहोरो लाभग्राहीको नाममा ६८३ जनाको नक्कली अभिलेख तयार गरी रकम हिनामिना गरिएको अख्तियारको दाबी छ। अनुसन्धानका क्रममा नक्कली कागजातमा गरिएको औंठाछाप वडाध्यक्षकै औंठाछापसँग मिल्ने प्रमाण फेला परेको प्रवक्ता पौडेलले जानकारी दिए।

अख्तियारले वडाध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढामाथि ७३ लाख रुपैयाँ, कार्यालय सहयोगी सोनम कठरियामाथि ९ लाख रुपैयाँ, खरिदार पूर्णबहादुर विष्टमाथि २४ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ।

यससँगै अख्तियारले स्थानीय तहमा देखिएको सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अनियमितता नियन्त्रणका लागि निगरानी र कारबाही कडा पारिने जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *