जापानको भिसा फिर्ता गरेर जुम्लामा हरियाली भर्ने सुशीलको कथा

काली बहादुर परियार
जुम्ला,२९ साउन।
जुम्ला । जुम्लाको छिना गाउँ जहाँ बिहानको घाम टन्टलिँदै खेतको मुहानमा टल्किन्छ। हरियो टनेलभित्र काँक्रा लटरम्म झुन्डिएका छन्, पल्लो बारीमा अकबरे खुर्सानीको सुगन्ध हावासँगै फैलिएको छ , एक छेउमा मकैको ठुलठुलो बिरुवाको सङ्गितमय लयमा हल्लिदै बास्नाद्वार सुगन्ध मगमगाइरहेको छ ।
खेतको छेउमा, हातमा खुरपी समातेका सुशील रावल मुस्कुराउँदै काम गरिरहेका छन्।
यी नै हुन्, जापानको भिसा पाएको, तर विदेशी मोह त्यागेर गाउँ फर्किएका जुम्लाका युवा जसको निर्णयले गाउँको स्वरूप नै बदलिएको छ । अहिले हरेक जुम्लीको प्रेरणादायी बनेका छन ।

विदेशको बाटोमै फेरिएको सपना
२०७७ साल, सुशील जापान जानका लागि सबै तयारी पूरा गरि सकिसकेका थिए । भाषा सिकेर, आवश्यक कागजात बनाएर, भिसा प्रक्रिया सम्म पुगेका थिए । गाउँका अरू युवाजस्तै उनले पनि विदेशमा उज्यालो भविष्य देखेका थिए।
तर, अन्तिम क्षणमा उनको मन बदलियो ।
“अर्काको देशमा आफ्नो श्रम बेच्नु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ,” उनले आफैलाई भने अनि, जापान जाने योजना स्थगित गरेर, उनी सीधै गाउँ फर्किए।
उनलाई बिदेशको महल भन्दा गाउँको झुपडी प्यारो लाग्यो , परदेशमा श्रम बगाएर कमाउने पैसा भन्दा गाउँको गराहरुमा माटो सङ्गको लडिबुडी प्यारो लाग्यो र अहिले माटो सङ्ग मितेरी गासेका छन , माटोमा सुन फलाउन तल्लीन रहेका छन ।
१२ रोपनीबाट सुरु भएको हरियाली
गाउँ फर्किए लगत्तै सुशीलले छिना ज्यूलोको १२ रोपनी जग्गा लिजमा लिए। सुरुमा ओखरको बिरुवा उत्पादनमा हात हाल्दा उनको लगानी जम्मा १० हजार रुपैयाँ थियो। तर, उनीसँग योजना, मेहनत र दृढता थियो ।
आज, सात वर्षपछि, सुशीलको वार्षिक कारोबार १५ लाख रुपैयाँ नाघेको छ । उनको फर्मले मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गर्छ, कुरिलो, ब्रोकोली, स्क्व्यास, भेडे र अकबरे खुर्सानी, टमाटर, डेजिरे आलु, काँक्रा, खुमल सेतो आलु, फर्सी ,तितेकरेला,काउली , बन्दा काउली लगाएत … सूची लामै छ ।
साथै, ओखर र स्याउका ग्राफ्टिङ बिरुवा उत्पादन गर्दै उनी नर्सरी व्यवसायमा पनि सफल छन् । त्यो सङ्गै उनले स्टोबेरीमा समेत सफलता प्राप्त गरेका छन ।

गाउँमा रोजगारी, विदेश होइन
सुशीलले आफ्नै आत्मनिर्भरता मात्र बनाएका छैनन्, गाउँका १० बेरोजगार युवालाई पनि स्थायी रोजगारी दिएका छन्। “पहिले फुर्सदिला थिए, अहिले सबै खेतीमा व्यस्त छन्,” उनी हाँस्दै भन्छन्।
उनको उत्पादन जुम्लाका होटलदेखि मण्डीसम्म सजिलै बिक्छ।
हिउँदमा टनेलभित्र बेमौसमी तरकारी फलाउँदा उत्पादन बाह्रै महिना निरन्तर हुन्छ । अझै खेती गर्ने जग्गाको क्षेत्र बिस्तार गरि थप युवालाई रोजगारी दिने सपना बुनेका छन ।
नीति नपुग्दा चित्त नबुझ्ने गुनासो :
जुम्लाका सरकारी निकायहरू उनको काम देखेर उत्साहित छन् । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारी भन्छन्,“सुशीलले प्रमाणित गरेका छन्, गाउँमै बसेर पनि सम्भावना ठूलो छ।”
तर, सुशीलको गुनासो पनि छ ।
“जुम्लाका आठ स्थानीय तहले यो वर्ष झण्डै ३ अर्बको बजेट ल्याएका छन्। तर, उत्पादन र युवालाई जोड्ने ठोस नीति छैन। वास्तविक कृषकहरू सेवा सुविधाबाट बञ्चित छन्।”
राज्यले युवालाई श्रम सङ्ग जोड्ने नीति ल्याउन सकेको छैन , अर्को तिर आफै केही गर्छु भनेर श्रम सङ्ग जोडिएका युवालाई सम्मान पनि गर्न सकेको छैन । भन्दै दुखेसो सुनाए । सन्देश ;गाउँ फर्केर पनि जित्न सकिन्छ ।

विदेश जान लगानी गर्ने पैसाले गाउँमै कृषि उद्यम सुरु गर्न सकिन्छ भन्ने उनको अनुभवले धेरै युवाको सोच बदलेको छ। सुशीलको कथा केबल व्यक्तिगत सफलताको कथा होइन, यो ग्रामीण सम्भावना, आत्मनिर्भरता र श्रमको सम्मानको कथा हो।
जुम्लाको हिउँपातले ढाकिएको पहाडमा हरियाली फैलाउने यो युवा कृषकले देखाएका छन् ।
भारतीय एकाधिकारको मारमा सुशील
जति पनि कृषिमा संलग्न व्यक्तिहरु छन उनिहरुले पनि लगानीअनुसार उपलब्धि हासिल गर्न सकेका छैनन् । बजारमूल्य नपाए पनि सामान कम मूल्यमा बेच्नुपर्ने हुन्छ।
भारतीय तरकारी बजारले जुम्ला पनि करिब कब्जा गरिसकेको अबस्था छ । कहाँको केमिकल प्रयोग गरेर राखिएको तरकारीले हामिले अर्गानिक उत्पादन गरेको तरकारीलाई प्रतिस्थापन गर्न सस्तोमा बेचिदिन्छन , त्यस्को मारमा हामी पर्छौ , ग्राहकहरु वा उपभोक्ता पनि राम्रो भन्दा सस्तो खोज्ने हुनाले कम मुल्यमा बेच्नुपर्ने अबस्था रहेको बाध्यता सुशिलले सुनाए ।
राज्यको औद्योगिकीकरणको विकासको निम्ति पनि उपलब्ध स्रोत र साधनलाई कृषि मैत्री बनाउनु जरुरी छ । कृषिमा उत्पादन बढाउन सकेमात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चापदार्थ अभाव हुँदैन ।
यसबाट औद्योगिकीकरणको विकासले पनि गति लिन सक्ने थियो कि ? अब कृषिलाई व्यवसायको रूपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढीभन्दा बढी उत्पादन गरेर आयआर्जन गर्नसक्ने वातावरण बनाइनुपर्छ ।
राज्यले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण,र बजारीकरण हुन र त्यसतर्फ सम्पूर्ण युवा शक्तिको आकर्षण बढाउन जरुरी छ । राज्यले यस्ता नीति तथा कार्यक्रमलाई आगाडि सारी कार्यान्वान गर्न सकेमा आजका युवा वर्गलाई रोजगारीको सिलसिलामा विदेश पलायन हुने बाध्यात्मक अवस्थाबाट पछि हटाउन सकिन्थ्यो ।
कृषि अर्थतन्त्रमा आधारित रहेको यस देशमा समग्र देशवासीको समृद्धिका निम्ति कृषिक्षेत्रका व्यापक समस्याहरूको सही तवरबाट पहिचान गरी समयमा नै उचित समाधानका उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ ।
नेपाल अनुपम सौन्दर्यले भरिएको कृषिमा आधारित एक सुन्दर देश हो । करिब ६५ प्रतिशत जनता कृषि पेसामा संलग्न रहँदै आएको छ । तर बिडम्बना, नेपालीलाई पुग्ने खाद्यान्न, माछा, मासु, दाल, तेल, तरकारी, फलफूल, जडीबुटी, मसलालगायत कुनै कुराको पनि उत्पादन पर्याप्त हुन सकिरहेको छैन । साथै, विभिन्न देशसँग भर पर्नुपर्ने स्थिति रहँदै आएको छ ।
भने अर्को तिर यहाँका युवाहरु काला पहाडमा कुल्ली ज्यामीको जीवन जिउन बाध्य छन , कोहि युवा ९० डिग्रीको तापक्रममा आफुलाई सेकाईरहेका छन । देशमा युवा नीति बनेको छ , कृषि नीति बनेको छ ।
देशलाई आत्मनिर्भर बनाउने प्रत्येक बर्ष नीति तथा योजना बनाईन्छ , बजेट भाषण गरिछ , रकम बिनियोजन गरिन्छ तर कार्यनयनमा युवा दैनिक अन्तरास्ट्रिय विमान स्थल र सिमा नाका बाट बाहिरिने अबस्था डरलाग्दो अबस्थामा रहेको छ ।






