“बाँके उठ्छ भने—पश्चिम उठ्छ : प्रतिनिधिसभामा सांसद सूर्य ढकालको आह्वान”

काठमाडौं,२९ साउन ।
प्रतिनिधि सभाको आजको विशेष समयमा बोल्दै सांसद सूर्य ढकालले बाँके जिल्लालाई विकास र समृद्धिको नमुना जिल्ला बनाउन सबै तहको ध्यानाकर्षण गराउनुभएको छ।
ढकालका अनुसार बाँके काठमाडौंपछि ऐतिहासिक र पश्चिम नेपालको २४ जिल्लाको प्रकाश स्तम्भ हो, जसको विकासले सिङ्गो पश्चिम नेपालको अर्थतन्त्र, राजनीति र सामाजिक जीवनमा गहिरो प्रभाव पार्छ। करिब ६ लाख जनसङ्ख्या, ८१ वडा र ८ स्थानीय तह रहेको बाँके जिल्लाबाट नेपालगञ्ज नाकामार्फत वार्षिक १७–२१ अर्ब रुपैयाँ राजस्व केन्द्रमा पुग्ने बताउँदै उहाँले यसलाई “राष्ट्रको मेरुदण्ड” संज्ञा दिनुभयो।
उहाँले राष्ट्रिय गौरवका सिक्टा सिचाइ आयोजना, नौवस्ता औद्योगिक क्षेत्र, बाँके राष्ट्रिय निकुञ्ज, खजुरा क्यान्सर अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, भेरी अस्पताल, नेपालगञ्ज विमानस्थल, कोहलपुर क्रिकेट मैदान, बैजापुर औद्योगिक ग्रामलगायत योजनाहरूलाई अघि बढाउन जोड दिनुभयो। साथै, कोहलपुरमा सुविधा सम्पन्न बाल अस्पताल, खेलकुद विश्वविद्यालय, राप्ती नदी तटबन्धन, अन्तरप्रदेशीय पर्यटन मार्ग, भित्री सडक, विद्युतिकरण, खानेपानी, खेलमैदान र भूमिहीनलाई जग्गाधनी लालपुर्जा वितरणजस्ता योजनालाई तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका अवसरमा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान, नेपालगञ्ज भन्सारलाई सुक्खा बन्दरगाहको रूपमा विस्तार र राप्ती नदीको तटबन्धन विषयलाई एजेन्डामा समावेश गर्न ढकालले प्रस्ताव गर्नुभयो।
सहकारी घोटालासम्बन्धी मुद्दामा सांसद ढकालले राजनीतिक प्रतिशोधको नाममा दोषी उम्कन नपाउने चेतावनी दिंदै, आर्थिक अपचलन, करछली र ठगी प्रकरणमा कडा कारबाहीको माग गर्नुभयो।
संविधान संशोधनको सन्दर्भमा उहाँले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्न पनि आह्वान गर्नुभयो। “बाँके उठ्छ भने—पश्चिम उठ्छ, पश्चिम उठ्छ भने—सिङ्गो नेपाल उठ्छ,” भन्दै सांसद ढकालले बाँकेको विकासका लागि राष्ट्रिय एकता र सहकार्यको अपिल गर्नुभयो।






