राजापुर नगरपालिकाको निःशुल्क दूध वितरण कार्यक्रम : आमा र बच्चाको स्वास्थ्यका लागि प्रभावकारी पहल

बर्दिया,२६ भदौ ।
बर्दियाको राजापुर नगरपालिकाले सुरु गरेको गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क दूध वितरण कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले आमा र बच्चाको स्वास्थ्य सुदृढ बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याएको यस कार्यक्रमले लाभान्वित आमाहरू र परिवारहरूबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ।

राजापुर नगरपालिका–९ जमुना भुजेकी कृष्णकुमारी थारु बिहानै टपरा बजार आइपुग्नुहुन्छ। उहाँ आफ्नी बुहारीका लागि निःशुल्क दूध लिन आउनुभएको हो। “हाम्रो पालामा त यस्तो सुविधा थिएन, अहिले बुहारीले दूध खान पाउँदा खुशी लाग्छ,” उहाँले मुस्कान छर्दै भन्नुभयो। यस्तै धेरै आमाहरू र उनीहरूको परिवार यस योजनाबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन्।
नगरपालिकाले गर्भवती महिलालाई आठ महिनापछि र सुत्केरी महिलालाई एक महिनासम्म, जम्मा ६० दिनसम्म दैनिक एक लिटर दूध निःशुल्क वितरण गर्दै आएको छ। दूध वितरणलाई व्यवस्थित बनाउन पालिकाले पासबुक पनि उपलब्ध गराएको छ। आमा आफैं वा परिवारका सदस्य पासबुकसहित वितरण केन्द्रमा पुग्दा दूध प्राप्त हुने व्यवस्था मिलाइएको छ।
राजापुर नगरपालिका स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा मात्रै ७९४ जना महिलाले यस सेवाबाट लाभ लिएका थिए। दूधमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेटलगायत खनिज पदार्थ पाइने भएकाले यसले गर्भवती आमा र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष लाभ पुर्याउने विशेषज्ञहरूको भनाइ छ। राजापुर अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक देवी खनाल ज्ञावलीका अनुसार दूध सेवनले आमा र बच्चालाई पर्याप्त क्याल्सियम प्राप्त हुने भएकाले हड्डी मजबुत बनाउन सहयोग पुग्छ।
राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुका अनुसार बालबालिकामा कुपोषण, रक्तअल्पता र सिकलसेल रोगको समस्या बढी देखिने भएकाले पौष्टिक तत्वमा सुधार गरी नागरिकलाई स्वस्थ बनाउन यो योजना ल्याइएको हो। “यस कार्यक्रमले आमाबच्चाको स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय कृषकको दूध उत्पादनलाई बजार विस्तारमा योगदान पुर्याएको छ,” प्रमुख थारुले बताउनुभयो।
यसैगरी, नगरपालिकाले दूध वितरणलाई वडास्तरीय रुपमा सञ्चालन गरेको छ। प्रत्येक वडामा टोलटोलमै पुगेर वितरण गर्ने व्यवस्था भएकाले महिलालाई सहज भएको छ। स्वास्थ्य चुनौतीबीच गर्भवती आमा र नवजात शिशुको पोषण आवश्यकतालाई सम्बोधन गर्न यो कार्यक्रम उपयोगी सावित भइरहेको स्थानीयवासी बताउँछन्।
यस पहलले आमा–शिशु स्वास्थ्यमा मात्र होइन, समाजमा पोषणप्रतिको चेतना बढाउन, स्थानीय कृषकलाई प्रोत्साहन दिन र आत्मनिर्भर उत्पादन प्रणाली निर्माण गर्न पनि योगदान पुर्याएको छ। यसरी हेर्दा राजापुर नगरपालिकाको निःशुल्क दूध वितरण कार्यक्रम अन्य पालिकाका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्ने देखिन्छ।






