महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको आकर्षण बढ्दो

कञ्चनपुर, २६ साउन ।
महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका विरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् । अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ ।
अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा मोतियाविन्दु भएका छ सय ३४ जनाको शल्यक्रिया गरिएको छ भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरिएको छ । आँखा उपचार सेवालाई गुणस्तरीय बनाएका छौँ । उनले भने, “अन्य स्थानका तुलनामा सेवा सस्तो पनि छ, स्वदेशी वा विदेशी भनेर कुनै विभेद गरिँदैन, सबैलाई समान शुल्क लिएर समान व्यवहार गरी उपचार गरिँदै आएको छ ।”
उनका अनुसार यही कारणले अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालमा सेवा लिनेमा एक हजार ६६७ जना भारतीय नागरिक रहेका छन् । नेत्र अधिकृत धामीका अनुसार भारतीय बिरामीको चाप बढ्नुमा अस्पतालको गुणस्तरीय, विभेदरहित सेवा र अतिरिक्त शुल्क नलिइनेलगायत रहेको छ ।
“मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चश्मा लाग्ने, परेला फर्केकालगायत बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ”, उनले भने, “जलविन्दु भएका, आँखाको नानी (रेटिना) प्रत्यारोपण गर्नुपर्ने जटिल प्रकृतिका बिरामीलाई शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा ‘रेफर’ गरिँदै आएको छ ।”
उनका अनुसार हाल दैनिक अस्पतालमा एक सय १५ देखि एक सय २० जनासम्म बिरामी आँखा उपचारका लागि पुग्ने गरेका छन् । बिरामीबाट लिने शुःल्कबापतको रकम बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदँ आएको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ । विद्यालयस्तरका छ शिविरमार्फत एक हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट तीन हजार ९०० जनाले सेवा लिएका छन् ।
विसं २०४२ मा आँखा उपचार केन्द्रका रुपमा उक्त अस्पतालको स्थापना गरिएको थियो । पछि २०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । अस्पताल सञ्चालन हँुदै आएको भवनमा शल्यक्रिया गर्न अप्ठेरो हुन थालेपछि भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरेका छौँ, अश्वासन पाएका छौँ, अहिलेसम्म बजेटको टुङगो नलागेको नेत्र अधिकृत धामीले बताए ।
हाल वायु प्रदूषणका कारण आँखा पाक्ने (भाइरल) रोगको सङ्क्रमण बढेको उल्लेख गर्दै सर्वसाधारणलाई यस रोगबाट बच्न दैनिक सफा पानीले आँखा सफा राख्ने, घरभन्दा बाह्य क्षेत्रमा जाँदा क्याप टोपी, कालो चश्माको प्रयोग गर्न उनले सल्लाह दिएका छन् । रोगको सङ्क्रमण भइहाले आँखा अस्पतालमा पुगेर चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनी बताउँछन ।
विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।
भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् ।
भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए । गत वर्ष ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा १५ हजार जनाले सेवा लिएका थिए ।
अस्पतालमा विशेष गरी भारतको पश्चिमी चम्पारणबाट बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रका बिरामीले नजिक, सहज र सस्तो उपचार ठोरीमा पाउने गरेका छन् । भरतपुर आँखा अस्पताल सञ्चालक समितिका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले बहिरङ्ग (ओपिडी) सेवा लिनेले रु ८० को टिकटमा परीक्षण गर्न पाएको बताए ।
भारतीय क्षेत्रका बिरामी अधिकांश मोतियाबिन्दु र आँखाको नानीको चोटपटकको समस्या लिएर आउने गर्दछन् । ती बिरामीको आवश्यकताअनुसार शल्यक्रिया गर्नुपर्दा कम शुल्कमा उच्चस्तरको उपचार हुने भएकाले भारतीय बिरामीसमेत बढ्दो क्रममा रहेको उनको भनाइ छ । भारतीय क्षेत्रका ती बिरामीले नेपालको ठोरीमा उपचार नपाउँदा गोरखपुर पुग्नुपर्ने हुन्छ । भरतपुर आँखा अस्पतालले दाताहरुकोसमेत सहयोग पाउने हुँदा कम शुल्कमा उपचार सेवा दिन सकेको खड्काले बताए ।
कतिपय बिरामीलाई थप सेवा दिनुपर्दा भरतपुर आँखा अस्पताल ल्याएर उपचार गर्ने गरिएको छ । कतिपय समयमा भरतपुरबाट विभिन्न विषयका विज्ञ चिकित्सक गएर ठोरीमा नै पनि उपचार गर्ने गरिएको छ । भरतपुर आँखा अस्पतालले विभिन्न जिल्लाका २५ ठाउँबाट सेवा दिँदै आएको छ ।






