उपाध्यक्ष र सदस्य सचिव नियूक्तिमै अल्झियो प्रदेश सरकार


कर्णाली प्रदेशमा आयोजना गर्न लागिएको १० औं राष्ट्रिय खेलकुदको तयारीमा संघीय सरकार जुटेको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले मिति तय गरेर प्रतियोगितापूर्वका तयारी थालेसँगै कर्णालीमा खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद सञ्चालन हुनेमा आशा जागेको छ ।
यसअघि अधिकांश खेल सञ्चालन हुने कर्णाली प्रादेशिक रंगाशाला तोकिएको समयमा सम्पन्न हुन नसकेपछि प्रतियोगिता अन्यौलतातर्फ धकेलिएको थियो । २०७९ जेठ २२ देखि २८ सम्म गण्डकीको राजधानी पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहबाट २०८१ मंसिर २ देखि ९ सम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरिएका थियो ।

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदका प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिएका थिए । ३ कात्तिक २०७९ मा प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी कर्णालीलाई सुम्पिएका थिए । तर, पहिलो पटक प्रदेश संरचनामा सञ्चालन गर्न लागिएको प्रादेशिक रंगशालाको काम निर्धारित समयमा सम्पन्न नभएपछि प्रतियोगिता चैतमा सरेको थियो ।

पूर्वाधारकै कारण मंसिर २ देखि सञ्चालन हुन नसकेको प्रतियोगिता अब भने २३ चैतदेखि ३० सम्म हुने निश्चित भएको छ । गत २१ मंसिरमा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११८ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता २३ चैतबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै संघीय सरकारले प्रतियोगितापूर्वका तयारी अगाडि बढाएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक कार्यविधि, खेलकुद समाग्री खरिद तथा बजेट व्यवस्थापनका लगायतका कामहरु संघीय सरकारले अगाडि बढाएको जनाइएको छ । कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता सञ्चालन हुन अब ८५ दिन बाँकी छन् ।

परिषद्लाई पूर्णता दिनमै अल्झियो प्रदेश सरकार
मुख्य आयोजक संघीय सरकारले १० औं राष्ट्रिय खेलकुदको मिति तय गरेर आवश्यक तयारी थालेको भएपनि व्यवस्थापक रहेको कर्णाली प्रदेश सरकार भने उपाध्यक्ष र सदस्य सचिव नियूक्तिमा अल्झिएको छ । जसका कारण परिषद्बाट हुने दैनिक कार्यसम्पादनमा असर परेको जनाइएको छ ।
६ पुष २०७७ मा नियूक्त भएका कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र संज्यालको चार वर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भइसकेको छ । पदावधि समाप्त भएको एक महिना पुग्नै लाग्दा पनि प्रदेश सरकारले परिषद्लाई पूर्णता दिनतर्फ ध्यान दिन सकेको छैन । राट्रिय खेलकुदको पूर्वसन्ध्यामा आवश्यक तयारीमा जुट्नुपर्नेमा परिषद् काम चलाउ बनेको छ ।

प्रदेश सरकारले हालसम्म हमाल र संज्याललाई कार्यबहाक जिम्मेवारी दिने वा नयाँ नियूक्त गर्ने विषयमा निर्णय लिन सकेको छैन । उती बेला परिषद्को उपाध्यक्ष र सदस्य सचिवमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच भागवण्डा भएको थियो । उक्त भागवण्डा अनुसार हमाल एमालेबाट उपाध्यक्ष बनेका थिए भने, संज्याल माओवादीबाट सदस्य सचिव बनेका थिए । हाल नेकपा एमाले र नेपाली कांग्रेस बिच बनेको सरकारमा उपाध्यक्ष र सदस्य सचिव कसले लिने भन्ने विषयमा कुरा नमिल्दा परिषद्ले पूर्णता पाउन नसकेको दावि गरिएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ अन्तर्गत परिषद्को पदेन सदस्यबाहेक नियुक्त वा मनोनित पदाधिकारी सदस्यको पदावधि चार वर्षको हुने व्यवस्था छ । उक्त ऐनले पदावधि सम्पाप्त भएका पदाधिकारी सदस्यको बढीमा थप एक कार्यकालसम्म दोहो¥याउन सक्ने व्यवस्था गरेको छ । समाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले सदस्य सचिवको नियुक्ति गर्ने उक्त ऐनको प्राव्धान छ ।

मन्त्रालयले सदस्य सचिवको पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयको सचिव र मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका अन्य दुई जना विज्ञसमेत गरी तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने कानुनमा व्यवस्था छ । उक्त सिफारिस समितिबाट सिफारिस भएका कम्तिमा तीन जना व्यक्तिहरू मध्येबाट प्रदेश सरकारबाट उपयुक्त व्यक्तिलाई सदस्य सचिवको पदमा नियुक्त गर्ने प्राव्धान खेलकुद ऐनले गरेको छ ।

सदस्य सचिवका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभव प्राप्त गरेको व्यक्तिलाई योग्य कानुनले मानेको छ । यता सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उपाध्यक्ष र सदस्य सचिव लगायत परिषद्का पदाधिकारी नियूक्त गर्ने तयारी भइरहेको बताए । शुक्रबार रंगशालाको निरिक्षण गर्न पुगेका मन्त्री भण्डारीले अब लगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकले परिषद्लाई पूर्णता दिन लागेको बताए ।

निराश हुनुपर्ने अवस्था छैन : सदस्य सचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर अब भने निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार निर्माणाधिन कर्णाली प्रादेशिक रंगशालाको निरिक्षण गर्दै सदस्य सचिव घिसिङसले आगामी चैतमा तय भएको प्रतियोगिता सञ्चालनमा कुनै पनि दुविधा नरहेको बताए । प्रतियोगितालाई लक्षित गर्दै सचिवालयसमेत स्थापना गरिसकेको सदस्य सचिव घिसिङले बताए ।

अब छिट्ट सुर्खेतमा पनि प्रतियोगिताको आवश्यक पूर्व तयारीका लागि सचिवालय गठन गर्ने प्रक्रिया अघि बढाइने उनले बताए । आगामी ३ माघमा बस्ने राखेपको बोर्ड बैठकले १० औंं राष्ट्रिय खेलकुद बारे छलफल गरी थप निर्णय लिने उनले बताए । उनले दशौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र उत्कृष्ट हुनेसमेत दावी गरे । पत्रकारहरुको प्रश्नमा सदस्य सचिव घिसिङले बजेट अभावकै कारण प्रतियोगिता प्रभावित नहुनेसमेत दावी गरे ।

‘बजेट नभएर प्रतियोगिता सर्ने कुरा हुँदैन । म यो स्पष्ट गराउन चाहन्छु । १० औं राष्ट्रिय खेलकुदका लागि अर्थ मन्त्रालयले छुट्टै वजेट व्यवस्थापन गर्नु पर्दैन । अर्थ मन्त्रालयले हामीले पठाएको खर्च सम्बन्धि मापदण्ड छ, त्यसलाई स्वीकृत गरेर पठाउँने हो । विगतको सन्दर्भमा राष्ट्रिय खेलकुद गर्दा थोरै मात्रै बिउ पूँजि रहने र अरु स्रोत सुनिश्चित गर्नुपर्ने अवस्था थियो । तर, १० औं का लागि वार्षिक बजेट नै ६० करोड रहेको अवस्थमा खेल प्रभावित हुन्छ भन्नु गलत हो । इतिहाँसमै पहिलो पटक हामीले बजेट निर्माण गर्दा १० औं खेलका लागि स्रोत सुनिश्चित गर्न सफल भएका छौं ।’ पहिलो पटक संघीय संरचनाबाट प्रदेश संरचनामा राष्ट्रिय खेलकुद आयोजना हुन लागेका उल्लेख गर्दै उनले प्रदेशका खेलकुद निकायलाई महत्वपूर्ण जिम्मेवारी दिने गरी तयारी भइरहेको बताए ।

अन्तिम चरणमा पुग्यो रंगशाला
अधिकांश प्रतियोगिता सञ्चालन हुने प्रदेश रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश खेलकुद परिषद्का अनुसार रंगशालाको काम ९९ प्रतिशत सम्पन्न भएको छ । कर्णाली प्रदेश गौरवको आयोजनाका रूपमा २० मंसिर २०७८ मा शिलान्यास गरिएको रंगशालाको लागत भ्याटसहित एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रहेको छ । २७ कार्तिक २०७८ मा प्रदेश सरकारसँग सम्झौता गरी नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित ‘एमएसिजिएसएल जोइन्ट भेन्चर’ ले रंगशाला निर्माणको जिम्मा लिएको थियो ।

२०८१ असार मसान्तभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम नसकिएपछि असोजसम्म म्याद थपिएको थियो । अब रंगशालामा खेल खेल्न आवश्यक केही सामग्री जडान गर्ने लगायतका सानातिना काम मात्रै बाँकी रहेको परिषद्ले जनाएको छ । निर्माणाधीन प्रदेश रंगशालामा १२ वटा खेल खेलाउन सकिनेछ । प्रदेश रंगशालाभित्र दुईवटा कभर्ड हल, एथलेटिक्स, फुटबल, दुई आउटडोर भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, स्वीमिङ पुल, सटरसहितको कम्पाउन्ड र पार्किङ रहेका छन् ।

त्यस्तै, क्रिकेट मैदान तथा इन्डोरसहितको क्रिकेट हल, कबड्डी, खोखो मैदानसमेत प्रदेश रंगशालाभित्र समावेश छन् । परिषद्ले उपलब्ध गराएको तथ्यांकअनुसार दुई अंकको स्वर्ण पदक जित्ने लक्ष्यका साथ कर्णालीका १० वटै जिल्लामा खेल पूर्वाधार तयारी अवस्थामा देखिन्छन् । प्रदेशभर २४ वटासम्म खेल खेलाउन सकिने गरी पूर्वाधार तयारी अवस्थामा रहेको जनाइएको छ ।

उपाध्यक्ष र सदस्य सचिव नियूक्तिमै अल्झियो प्रदेश सरकार

YUGAAWHAN NATIONAL DAILY (2081-09-27)

This will close in 0 seconds