चट्याङको त्रासदीले भयभित छ, दैलेख

सुर्खेत, २४ बैशाख ।
दैलेखमा शनिबार (२० बैशाख) साँझ घरको आँगमै चट्याङ खस्यो । दिनभरको काम सक्काएर भेला भएको परिवारमाथि खसेको चट्याङले जिल्लाको नौमूले गाउँपालिका–८, चौराठाका ३१ वर्षीय दशरथ शाहीको मृत्यु भयो । घरको आँगनमा परेको चट्याङले शाहीको चार जनाको परिवार घाइते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते शाहीको परिवारलाई उपचार गर्न जिल्ला अस्पताल दैलेख लगिदै थियो । तर शाहीले अस्पताल नपुग्दै प्राण त्यागे । चट्याङबाट घाइते भएकी दशरथकी श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षीया छोरी र तीन वर्षिय छोरा भने बाच्न सफल भएका छन् ।
दैलेख अस्पतालमा उपचारपछि घर फर्किएकी विपनाले अकास्मातको विपद्बाट श्रीमान् गुमाएकी छन्, अबोध छोरा र छोरी टुहुरा बनेका छन् । दशरथको भरमा अडिएको विपनाको भाग्य र भविष्य एक सकेण्डमै अन्धकारमा थकेलिएको छ । आकाशमा बिजुली चम्केर निभ्न नपाउदै विपनाको दियो निभेको छ ।
यस्तै, २८ भदौ २०८० मा महावु गाउँपालिका–१, मा पनि चट्याङकै कारण स्थानीय भूमिसरा खत्रीको उपचारको क्रममा मृत्यु भयो । सोही दिन दैलेखका चार स्थानमा परेको चट्याङले १९ जना घाइते भएका थिए । २०८० चैतको चट्याङले जिल्लाको भैरवी गाउँपालिका–६, तोरीमुलमा १३ वर्षीय शर्मिला कँडेल गम्भीर घाइते भइन् ।
तत्कालै उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरियो । तर उनले पनि बाटोमै प्राण त्याग गरिन । २६ बैशाख २०८१ मा नौमुले गाउँपालिका–६, स्थित शिव माध्यमिक विद्यालयमा चट्याङ खस्यो । उक्त चट्याङका कारण तीन विद्यार्थी घाइते भए ।
यस्तै, ३२ साउन २०८१ को एका विहानै ठाँटीकाँध गाउँपालिका–३, को माझखर्कस्थित घरमा चट्याङ खस्दा घरभित्रै रहेकी १४ वर्षीया रमा बुढा घाइते भइन् । स्थानीय राजबहादुर बुढाको घरमा चट्याङ खसेपछि उनकी छोरी रमा घाइते भएकी थिइन । ८ भर्दौ २०८१ मा महावु गाउँपालिका–२, बडाखोलामा चट्याङ लागेर तीन जना घाइते भएका थिए ।
यी मात्रै होइन दैलेखमा चट्याङले भयभित बनाएका थुप्रै घटनाहरु छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपब्ध गराएको तथ्यांकले पछिल्ला वर्षहरुमा दैलेखकोे उत्तरी भेग केन्द्रित भएर खसिरहेको चट्याङका कारण ठुलो मात्रामा धनजनमा क्षति पुग्दै गएको देखाउछ । ठुलो मात्रामा पशुधनमा समेत क्षति हुनेक्रम बढेको छ ।
प्रहरीले उपलब्ध गराएको ६ वर्षको तथ्यांकलाई केलाउने हो भने दैलेखमा ८५ पटक खसेको चट्याङमा परी नौ जनाले ज्यान गुमाउदा एक सय ३५ जना घाइते भएका छन् । यसमा मानविय क्षति नभएको चट्याङको तथ्यांक समावेश गरिएको छैन ।
आर्थिक वर्ष २०७६/०७७ यताको तथ्यांक हेर्दा कर्णालीका अन्य जिल्लाको तुलनामा दैलेख केन्द्रित चट्याङ खस्नेक्रम बढेको देखिन्छ । वर्षेनी प्रि मनसुनका कारण चट्याङ खस्ने क्रम बढेपछि स्थानीयमा त्रास बढेको छ । चट्याङबाट खेतबारीमा काम गरिहेकादेखि विद्यालय तथा घरभित्र बसिरहेकाहरु समेत असुरक्षित बन्न थालेपछि स्थानीय भयभित अवस्थामा जीवनयापन गर्नुपर्ने बाध्यता आइलागेको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले बताए ।
सामान्य अवस्थामै चट्याङ खस्नेक्रम बढेपछि जोखिम बढेको उनले बताए । विशेष गरी नौमुले, महाबु, र भैरवी गाउँपालिका तथा नारायण नगरपालिकाका केही क्षेत्रमा अत्याधिक मात्रामा चट्याङ खस्न थालेको उनले बताए । यो क्षेत्रमा के कारणले चट्याङ खस्ने क्रममा बृद्धि भइरहेको छ भन्ने विषयमा अनुसन्धान हुन नसकेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा आवश्यक अध्ययन गर्न अनुरोध गरिएको उनले बताए । यद्यपी हालसम्म मन्त्रालयले प्रतिक्रिया नदिएको उनले बताए ।
पालिकाको स्रोतले अध्ययन तथा अनुसन्धान गरी कारण पत्ता लगाउन सकिने अवस्था नरहेको उल्लेख गर्दै सुवेदीले प्रदेश र स्थानीय सरकारले यथासिंघ्र यस क्षेत्रको सुक्ष्म अध्ययनमा पहल चालिदिन आग्रह गरे । विश्वसनिय मौसम पूर्वानुमान तथा चट्याङ पर्नुअघि भरपर्दो सूचना दिने प्रणाली जडान गर्न प्रदेश र संघ सरकारले आवश्यक स्रोत जुटाइ दिनुपर्ने सुवेदीले बताए ।
दैलेखमै किन खस्छ चट्याङ ?
दैलेखको उत्तरी क्षेत्र हिमालयन श्रृङ्खलामा पर्दछ । यस क्षेत्रमा महावु, भर्ता जस्ता अग्ला हिमाल छन् । सुर्खेत र दैलेख आसपासमा घामका कारण जमिनको तापले तातो बाफ बनिरहेको हुन्छ । उक्त बाफ विस्तारै उत्तरी आकाशतर्फ बढ्छ । यसरी बढ्ने तापयूक्त स्थानीय वायुले दैलेखको महावु र भर्ता तथा रुकुम पश्चिमको सिस्ने हिमाललाई पार गर्न नसक्दा ति क्षेत्रमा चट्याङ बनेर खस्ने विज्ञहरु बताउछन् ।
चट्याङ प्राकृतिक प्रक्रिया हो । यो धेरैजसो प्रि–मनसुन (चैत, बैशाख र जेठ) मा अधिक चट्याङ खस्ने जोखिम हुन्छ । तर प्रि–मनसुनमा मात्रै नभएर दैलेखमा चट्याङले बर्खाको समयमा पनि क्षती पु¥याउने गरेको छ । यो समयमा स्थानीय वायु (जमिन तातिदा बन्ने वाफ वा तातो हावा) जमिनै रहन सक्दैन र विस्तारै आकाश तिर जान्छ । तातेर आकाशमा गएको हावा बादलमा रुपान्तरण हुन्छ ।
१२–१३ किलोमिटर माथि आकाशमा पुगेपछि तातो हावा बादलमा रुपान्तरण भएपछि बादल–बादलमा आपसमा ठोक्किएर मेघगर्जनसहित असिना पर्ने, चट्याङ पार्ने र पानी पर्ने कर्णालीमै लामो समयदेखि मौसमको क्षेत्रमा काम गरेका जल तथा मौसम विभागका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट विनोद पराजुली बताउँछन् । ‘प्रि–मनसुनमा अरबसागरबाट आउने प्रणाली निकै कम मात्रै हुन्छ,’ पराजुली भन्छन्, ‘त्यो समयमा पश्चिमी न्यूनचापीय प्रणाली र अरबसागरबाट न्यून मात्रामा वायु आयो भने पनि स्थानीय बायुलाई सहयोग गरेमा ठूलो वर्षासँगै चट्याङ पर्दा मानवीय र धनजनको क्षती पुग्छ ।’

अध्ययन गर्न सांसदको माग
दैलेखमा चट्याङबाट ठुलो धनजनको क्षति हुन थालेपछि संघीय संसदमा कुरा उठेको छ । दैलेखबाट निर्वाचित सांसद सीताकुमारी रानामगरले सोमबारको संसद बैठकमा चट्याङको विषय उठाएकी हुन् । ‘चट्याङजन्य प्रकोपको उच्च जोखिममा रहेको मकवानपुरको राक्सी गाउँपालिकामा चट्याङ पूर्व सूचना प्रणाली जडान गरिएको समाचारबाट जानकारीमा आएको छ ।
देलैख नेपालकै बढी चट्याङ पर्ने जिल्ला मध्ये एक हो । वर्षेनी चार/पाँच मानिसको ज्यान जाने र दर्जनौ घाइते हुने अवस्था सिर्जना भएको छ,’ उनले भनिन्, ‘दैलेखमा निश्चित भूभागमा चट्याङ बढी पर्न थालेको छ । यसको कारणका बारेमा अध्ययन गरी यसको पूर्व सूचना दिने सेन्सरसहितको प्रणाली यथासिंघ्र जडान गर्न सरकार समक्ष माग गर्दछु ।’
संसदमार्फत सरकारको ध्यानाकर्षण गराउदै सांसद रानाले भनिन्, ‘चट्याङबाट आहात बनेका त्यहाँका नागरिकलाई सुरक्षित बनाउन सरकारले ध्यान दिन आवश्यक छ । साथै चट्याङ पीडितलाई राहत र घाइतेको उचित उपचारको माग गर्दछु ।’
चट्याङबाट कसरी जोगिने ?
आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित अत्याधिक भोल्टको विद्युतीय लहरमा परिणत भई अचानक विद्युतीय विस्फोटन हुने अवस्था नैै चट्याङ हो ।
चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्ने क्षमता यसले राख्दछ । चट्याङ प्राकृतिक प्रकोप भएकाले रोक्न सकिँदैन तर सतर्ककता अपनाए त्यसबाट जोगिन सकिने मौसमविद् बताउछन् ।
घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने, चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम मानिन्छ । साथै वर्षात भइरहेको बेला पानीमा काम गर्न वा पौडी खेल्न नहुने मौसमविद् पराजुली बताउछन् ।
उनका अनुसार सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने, पानी परेको वा आकाश गर्जिएको समयमा घर बाहिर ननिस्किनु उत्तम हुन्छ । यस्तै, ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको मुनि बस्नु हुँदैन भने, सहि तरिकाले विजुलीको अर्थिङ गरी गर्न सके चट्याङबाट जोगिन सकिन्छ ।






