लागुऔषध न्यूनीकरणमा जिम्मेवार बनौं


सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा लागुऔषध दुव्र्यसनी बढ्दै गएको छ । कर्णाली प्रदेश राजधानीको मुकामसमेत रहेको वीरेन्द्रनगरमा लागुऔषध प्रयोगकर्ता, ओसारपसार तथा बिक्रीवितरण तीव्र रूपमा वृद्धि भइरहेको प्रहरीको तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा पछिल्ला वर्षहरूमा वीरेन्द्रनगर लागुऔषधको हटस्पट बन्दै गएको देखिन्छ । कानुनले दण्डित गरे पनि यसको सेवनसँगै ओसारपसार र बिक्रीवितरणमा वृद्धि हुनुले चुनौती थपिएको छ । लागुऔषध दुव्र्यसनीको जालोमा १८ देखि ४५ वर्ष उमेर समूह फस्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ । तीन वर्षको अवधिमा वीरेन्द्रनगरमा ९० जना यही उमेर समूहका लागुऔषध मुद्दामा पक्राउ परेका छन् । कानुनले लागुऔषधलाई जघन्य अपराध मानिएको तर विभिन्न फ्याक्टरले यसले झन् बढावा पाइरहेको प्रहरीको निष्कर्ष छ । परिवार, समाज तथा विद्यालयस्तरमा जनचेतना फैलाउन ढिलाइ हुँदा लागुऔषधको जालो भित्रभित्रै भुसको आगोझैँ फैलदो छ । प्रहरीले लागुऔषध दुव्र्यसनी न्यूनीकरण गर्न लालटिन अभियान, लागुऔषध नियन्त्रण घरदैलो कार्यक्रम, पर्चा पम्प्लेट वितरण, पुनस्र्थापना केन्द्रको नियमित अनुगमन तथा सचेतना, सवारीचालकको लापसे चेकिङ, हटस्पट केन्द्रित सचेतनामूलक कार्यक्रम, गाँजा तथा अफिम फँडानीलगायतका कामहरू गर्दै आएको छ ।

तर, प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको न्यूनीकरण सम्भव छैन । यसमा परिवार, समाज, स्थानीय सरकार जिम्मेवार नभए झन् विकराल अवस्था सिर्जना हुने निश्चित छ । प्रहरीको तथ्यांक अनुसार वीरेन्द्रनगरमा तीन आर्थिक वर्षको अवधिमा लागुऔषधसम्बन्धी २ सय ३५ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा ३ सय ६९ लाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीको तथ्यांक छ । लागुऔषध कारोबारी तथा सेवनकर्तामा मुद्दा चलाइएका अधिकांश १८ देखि ४५ वर्ष उमेर समूहको सक्रिय जनसंख्या बढी छन् । प्रक्राउ परेकाहरू ब्राउन सुगर प्रयोगकर्ता बढी छन् भने, महिला तथा बालबालिका पनि बढ्दै गएका छन् । प्रहरी अनुसन्धान अनुसार लागुऔषध भारतको रूपइडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको छ । लागुऔषध सुर्खेत ल्याउन सजिलो र बढी पैसा पाउने लोभले युवाहरू जोखिममा पर्दै गएको प्रहरीको निष्कर्ष छ । विशेषगरी किशोर–किशोरी तथा युवा वर्गमा यसको लत गम्भीर चुनौतीका रूपमा देखा परेको छ । यसले समाजमा अपराध, बेरोजगारी, स्वास्थ्य समस्या र पारिवारिक विघटनजस्ता विकराल समस्या निम्त्याइरहेको छ । यस्तो अवस्थामा लागुऔषध न्यूनीकरणमा सम्पूर्ण समाज जिम्मेवार बन्नु अपरिहार्य छ । सरकारी निकायहरू, गैरसरकारी संस्था, शिक्षा क्षेत्र, परिवार तथा आम नागरिक सबैको मिलेर साझा प्रयास आवश्यक छ ।

लागुऔषधको कारोबार नियन्त्रण गर्न कडा कानुनी व्यवस्था हुनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन पनि हुनु पर्छ । सीमाना क्षेत्रमा कडाइ, सुराकी प्रणाली बलियो बनाउने र प्रहरी प्रशासनलाई प्रभावकारी बनाउनु जरुरी छ । शैक्षिक संस्थाहरूले लागुऔषधको असरबारे विद्यार्थीहरूमा सचेतना फैलाउनु पर्दछ । विद्यालय तथा कलेजहरूमा नियमित रूपमा चेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्छ जसबाट विद्यार्थीहरूमा आत्मबोध र सही निर्णय क्षमताको विकास होस् । साथै, घरभित्रै अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । बच्चाको गतिविधि र मनोवृत्तिमा ध्यान दिने, संवाद गर्ने, विश्वासपूर्ण सम्बन्ध बनाउनेजस्ता उपायहरूले सन्तानलाई गलत बाटोमा लाग्नबाट जोगाउन सक्छ । जनचेतनामूलक सन्देश, कथा, साक्षात्कार तथा प्रेरणादायक उदाहरणहरू प्रस्तुत गरी समाजमा सकारात्मक सोच फैलाउन मिडियाले ठूलो भूमिका खेल्न सक्छ । यसबाहेक, लागुऔषध प्रयोग गरिसकेका व्यक्तिहरूको पुनस्र्थापना पनि उत्तिकै महत्त्वपूर्ण विषय हो । उनीहरूलाई हेय दृष्टिले नभई पुनः समाजमा फर्काउने उद्देश्यले सहयोग र उपचारको व्यवस्था मिलाउनुपर्छ । लागुऔषधको समस्या केवल व्यक्तिगत होइन यो सामाजिक समस्या हो । त्यसैले यसको समाधान पनि सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ । यदि हामी प्रत्येक नागरिकले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्यौं भने स्वस्थ, सुरक्षित र उज्यालो भविष्य निर्माण गर्न सक्छौ । यसर्थ, अहिले नै चेतनाको दीप जलाऔं र लागुऔषध न्यूनीकरणमा जिम्मेवार बनौं ।

Leave a comment

Your email address will not be published. Required fields are marked *