नेपालमा पौष्टिक तत्व स्तरोन्नति आपूर्ति शृङ्खला व्यवस्थापन परियोजनाको शुभारम्भ

काठमाडौँ, १९ साउन । 
भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलअन्तर्गत नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजनाको शुभारम्भ गरिएको छ । नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापनलाई सुदृढ बनाउन संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमको सहयोगमा भारतले नयाँ सहयोगी पहल सुरु गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकारको विदेश मन्त्रालयले यही १६ गते नयाँ दिल्लीमा सुरु गरेको यो पहल भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलको एक हिस्सा हो । नेपालमा यो परियोजनाले भारतको सफल सार्वजनिक वितरण प्रणाली (पिडीएस) सँग ज्ञान आदानप्रदानलाई सहज बनाएर नेपालको स्तरोन्नति गरिएको चामल आपूर्ति शृङ्खलामा विशेषगरी खरिद प्रक्रिया, तथ्याङ्क सङ्कलन र दक्ष कार्यबलमा रहेका समस्यालाई सम्बोधन गर्ने बताइएको छ । यस परियोजनाले नेपालका सरोकारवालाहरूलाई कुशल खाद्य आपूर्ति शृङ्खला व्यवस्थापनका लागि डिजिटल प्रविधिहरूको उपयोगमा भारतको अनुभवबाट सिक्ने अवसर प्रदान गर्दछ ।
यसमा लाभार्थी व्यवस्थापन, भण्डारण र वितरण मोडेलहरू, अनुगमन तथा मूल्याङ्कन प्रणालीहरू र गुनासो निवारण संयन्त्रहरू समावेश छन् । यो परियोजना १२ महिनाको अवधिमा तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरण आवश्यकता मूल्याङ्कन र सरोकारवालाहरूको संलग्नतामा केन्द्रित हुनेछ । दोस्रो चरणमा प्रयोगात्मक प्रदर्शन र विशेषज्ञहरूद्वारा संक्षेपीकरणसहित नेपाली अधिकारीहरूका लागि भारतको अध्ययन भ्रमण समावेश हुनेछ ।
तेस्रो तथा अन्तिम चरण कार्ययोजनाको विकासमा केन्द्रित हुनेछ । यो परियोजनाको प्रशिक्षण खण्ड भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) कार्यक्रममार्फत कार्यान्वयन गरिनेछ । सन् २००१ यता तीन हजारभन्दा बढी नेपाली अधिकारीहरूले यसअघि आइटेक कार्यक्रमअन्तर्गत भारतमा तालिम प्राप्त गरिसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाको ७८औँ सत्रको समयमा सन् २०२३ सेप्टेम्बरमा भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलको घोषणा गरिएको थियो । यो घोषणापछि दिगो विकासका लक्ष्यहरू (एसडिजीज)को उपलब्धिलाई तीव्र बनाउन दक्षिण–दक्षिण सहकार्यलाई बढावा दिने परियोजनाहरूको पहिचान र कार्यान्वयन गर्न भारतको विदेश मन्त्रालय र भारतमा रहेको संयुक्त राष्ट्रसङ्घको टोलीले संयुक्त रूपमा काम गरेको थियोे ।

भारत–संयुक्त राष्ट्रसङ्घ वैश्विक क्षमता निर्माण पहलअन्तर्गत कार्यान्वयनका लागि पहिचान गरिएका चार परियोजनामध्ये विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना एक रहेको छ ।
यो परियोजनाले भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीलाई प्रतिविम्बित गर्दछ । यसले दक्षिण–दक्षिण सहकार्यमार्फत नवप्रवर्तनहरू साझा गर्ने र उत्थानशील खाद्य प्रणाली निर्माण गर्ने दुवै देशहरूको साझा प्रतिबद्धतालाई सुदृढ बनाउने बताइएको छ ।

नेपालमा पौष्टिक तत्व स्तरोन्नति आपूर्ति शृङ्खला व्यवस्थापन परियोजनाको शुभारम्भ

बहुविवाहलाई छुट दिने कानुन रोक्न महिला सङ्घको

नेपालमा पौष्टिक तत्व स्तरोन्नति आपूर्ति शृङ्खला व्यवस्थापन परियोजनाको शुभारम्भ

जुम्लाको धिमिचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *