वीरेन्द्रनगरले थाल्यो सुरक्षित सडक अभियान : अब मन लाग्दी काट्न पाइने छैन बाटो

–मुख्य चौकमा ट्राफिक बत्ती             – धुलियाबिट–बाङ्गेसिमलसम्म सोलार बत्ती           – मंगलगढीमा आकाशे पुल

सुर्खेत, २० असार ।
वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती जडानको कार्य सुरु गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ भएको हो ।

जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चौकबाट ट्राफिक बत्ती जडान कार्य सुरु भएको हो । आवश्यक प्राविधिक परीक्षण पश्चात जडान गरिएका बत्ती ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने तयारी नगरपालिकाको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वीरेन्द्र चौकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको थियो । जसअन्तर्गत इ थ्री सेल्स एण्ड सर्भिसेज प्रालि काठमाण्डौंसँग २४ लाख ७५ हजार पाँच सय ८० रुपैयाँमा ठेक्का व्यवस्थापन भई ट्राफिक बत्ती जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन ।

उनका अनुसार वीरेन्द्र चौकमा ट्राफिक बत्ती जडान भइ सकेको छ भने, अन्य चौकहरुमा जडान गर्ने तयारी छ । जसमा पैदल यात्रु तथा सवारी चाप बढी हुने रत्न राजमार्ग अन्तर्गत यरिचोक, मंगलगढी चौक, एयरपोर्ट चौकमा सडक विभाग र मुलपानी चौक, दैलेख रोड चौक लगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्नेछ । ट्राफिक बत्ती जडान भएसँगै अब सवारीले मात्रै होइन यात्रुलेसमेत जथाभावी बाटो काट्न पाइने छैन ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरु अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । ‘राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आईटी जोन जस्ता शहरी पूर्वाधार निर्माणका लागि १२ करोड विनियोजन गरेका छौं,’ ढकालले भनिन्, ‘नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्वोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको छ ।’

नगर प्रमुख ढकालले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै तीन सय बढी सीसी क्यामेरा जडान गर्न लागिएको बताइन । ‘उपत्यकाका विभिन्न क्षेत्रमा मानिसहरुको चहलपहल बढी हुने स्थानमा चोरी, डकैती तथा लुटपाट, सडक दुर्घटना लगायतका घटनाहरू बढ्दै गएको सन्दर्भमा यसलाई रोक्न संवेदनशिल क्षेत्र पहिचान गरी तीन सय थान सीसी टिभी क्यामेरा जडान गर्ने तयारी गरेका छौं । यसअघि जडान भएका तर बिग्रिएका क्यामेरा पनि मर्मत गर्ने तयारी छ,’ नगर प्रमुख ढकालले भनिन् । यसका लागि नेपाल टेलिकमसँग सहकार्य गर्न लागिएको उनले बताइन ।

एक वर्षभित्र नगर बस, मंगलगढीमा आकाशे पुल
नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चौकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन लागेको छ । नगर प्रमुख ढकालका अनुसार आगामी बर्ष रत्न राजमार्गमा भईरहने दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्न मंगलगढी चौकमा आकाशे पुल निर्माण सम्पन्न हुनेछ । यसका लागि दुई करोड बजेट व्यवस्थापन भई ठेक्का प्रक्रिया अघि बढाउन लागिएको उनले बताइन ।

उनका अनुसार दोस्रो चरणमा यरीचौक, एअरपोर्ट चौक लगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिईनेछ । साथै उनले नगरको यातायातलाई भरपर्दो र सर्वसुलभ बनाउन आगामी वर्षमा नगर बस खरिद गरि संचालन गर्न दुई करोड बजेट व्यवस्थापनसमेत भएको बताईन । आगामी वर्ष नगरपालिकाले उक्त बजेटबाट आफ्नै नगर बस खरिद गरेर सञ्चालनमा ल्याउन लागिएको योजना ढकालले सुनाईन ।

त्यस्तै, वीरेन्द्रनगरको नगर गौरवको आयोजना घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिणतर्फ पार्क तथा पार्किङ निर्माण, गोदामलाईनमा पार्किङ निर्माण तथा फुटपाथ व्यवस्थापन कार्य आगामी बर्षमा सम्पन्न गरी पर्यटन पूर्वाधार तथा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ ।

वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै बढ्दो जनघनत्व र सवारी चापका कारण अधिकांश क्षेत्रका सडक पार गर्न पैदल यात्रुलाई जोखिम मोल्नुपर्ने बाध्यता छ । ट्राफिक लाइटसँगै आकाशे पुल निर्माण गरिए वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन चुस्त हुने अपेक्षा गरिएको छ ।

जोडिए सडकमा सोलार बत्ती
नगरपालिकाले धुलियाबिट चौकदेखि बाङ्गेसिमलसम्म सोलार बत्ती जडान गर्न सुरु गरेको छ । नगरपालिकाले वातावरणमैत्री ऊर्जा र सुरक्षित सहर निर्माण गर्ने अभियान अन्तर्गत रत्न राजमार्ग तथा बजार क्षेत्रमा अत्याधुनिक प्रविधिमा आधारित सोलार बत्ती जडानको कार्य थालेको हो ।

पहिलो चरण अन्तर्गत धुलियाबिटदेखि बसपार्कसम्म ९५ लाख ७६ हजार लागतमा एक सय ४३ सोलार बत्ती जडानको कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गत बसपार्कदेखि मंगलगढी, यरी चौक, मुलपानी चौक, हिलेखाली चौक हुँदै रेडियो नेपालसम्म ९८ पोलमा सोलार बत्ती जडान गर्ने काम असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको निर्माण व्यवसायी ग्रिन लिफ प्रालि काठमाण्डौंका इन्जिनियर सञ्जिव यादलले बताए । उनका अनुसार यसको कुल लागत ८४ लाख छ ।

त्यस्तै, तेस्रो चरणमा बाङ्गेसिमलसम्म सोलार प्रणाली जडान गर्ने लक्ष्य राखिएको छ । इञ्जिनियर यादवका अनुसार जडान गर्न लागिएको सोलार प्रणाली अध्यारोमा आफै बल्ने र उज्यालोमा आफै निभ्ने अटो स्वीच प्रविधिमा आधारित छ । सोलार प्रणालीमा आधारित सडक बत्ती जडान पश्चात विद्युत् खपत कम हुँदा यसले दीर्घकालीन रूपमा लागत घटाउने नगरपालिकाको विश्वास छ ।

नगरपालिकाले यस अघि वीरेन्द्रनगरका मुख्य चौकहरुमा हाइ मार्स लाइट जडान गरिसकेको छ । सडक बत्ती जडान भएसँगै सडक दुर्घटना न्यूनिकरण, पैदल यात्रुहरूको सुरक्षा र बजार क्षेत्रको निगरानीमा सहयोग पुग्ने नगर प्रमुख ढकाललको विश्वास छ । त्यस्तै मंगलगढी चोकदेखि सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जोड्ने सडकमासमेत सोलार बत्ती जडान गर्न नगरपालिकाले ठेक्काको प्रक्रिया अघि बढाइसकेको छ ।

सोलार बत्ती जडान गरिएको क्षेत्रमा अब सिसी क्यामेरा जडान, सडकको मर्मत सम्भार र सार्वजनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने योजना रहेको ढकालले बताइन् । उनका अनुसार नगरका अन्य क्षेत्रका सडकलाई उज्यालो बनाउने कार्यक्रम पनि अघि बढेको छ । ‘हामीले ‘उज्यालो सहर’ कार्यक्रम अन्तर्गत नगरका १२ वडामा करिब पाँच हजार बल्ब दिने योजना बनाएका छौं,’ उनले भनिन्, ‘वडा नम्बर १ देखि १२ का विभिन्न चौकलाई उज्यालो बनाउँने योजना मुताबिक विद्युत प्राधिकरणसँग सम्झौता गरेर पाँच हजार बल्ब दिने तयारी गरेका छौं । यसले नगरवासीको जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास हाम्रो छ ।’

वीरेन्द्रनगरले थाल्यो सुरक्षित सडक अभियान : अब मन लाग्दी काट्न पाइने छैन बाटो

सम्पादकीय : शिक्षामा गुणस्तरको संकट

वीरेन्द्रनगरले थाल्यो सुरक्षित सडक अभियान : अब मन लाग्दी काट्न पाइने छैन बाटो

सम्पादकीय : कानूनी सचेतनाको खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *