सम्पादकीय : शिक्षामा गुणस्तरको संकट

यस वर्ष (२०८१) लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा कर्णाली प्रदेशबाट संस्थागत तथा सामुदायिक विद्यालयबाट ३१ हजार सात सय ७३ विद्यार्थी सहभागी भएकोमा १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्ष (२०८०) को तुलनामा सुधारिएको नतिजा भए पनि सन्तोषजनक भने होइन । गत वर्ष ५८ प्रतिशत विद्यार्थी फेल हुँदा यस वर्ष ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन् ।

गत वर्षको एसईईमा कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट ३३ हजार ६ सय ३४ विद्यार्थी सहभागी भएकोमा ५८ दशमलव पाँच प्रतिशत अर्थात् १९ हजार ६ सय ६६ जना विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउँने गरी फेल भएका थिए । हालै सार्वजनिक भएको यस वर्षको एसईई नतिजा अनुसार १३ हजार सात सय ३१ विद्यार्थी कक्षा ११ मा पढ्न नपाउँने गरी फेल भएका छन् ।

यस वर्षको एसईईमा कर्णालीको नतिजा सुधार हुँदा दैलेख भने पुछारमा परेको छ । सबैभन्दा धेरै विद्यार्थी दैलेखमा फेल भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार दैलेखबाट चार हजार सात सय ७५ विद्यार्थीले एसईई दिदा एक हजार ९३ विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गरेका छन् । यस्तै, सुर्खेतबाट सबैभन्दा बढी सात हजार ७१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा पास भने तीन हजार एक सय १५ मात्रै भएका छन् ।

यस्तो तथ्यांकले शिक्षाको गुणस्तर निकै संकटमा रहेको देखाउँछ । यस वर्षको एसईई अघिल्लो वर्षको तुलनामा सुधार भएको भएपनि अधिकांश विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन नसकेको अवस्था । कर्णालीको एसईई नतिजा राम्रो हुनुमा संस्थागत विद्यालय पनि जोडिएका छन् । राज्यले शिक्षाको गुणस्तर सुधार गर्न बर्षेनी अर्बौ बजेट लगानी गरिहेको छ । तर नतिजा भने अपेक्षा गरिए अनुसार प्राप्त हुन सकेको छैन ।

कर्णालीका विद्यार्थीहरु विशेष गरी अंग्रेजी, गणीत र विज्ञान विषयमा कमजोर छन् । यसको प्रमुख कारण विषयगत शिक्षकको अभाव हो । यहाँ अझै पनि दरवन्दी अनुसार विषयगत शिक्षकको चरम अभाव छ । जसको असर शिक्षाको गुणस्तरमा प्रत्यक्ष परेको छ ।

संघीय सरकारसँगै प्रदेश सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गर्दै आएका छन् । तर ती लगानी शिक्षाको गुणस्तर सुधारभन्दा पनि बडेमानका स्कूल भवन निर्माणमा केन्द्रित छन् । अर्कोतर्फ समायानुकुल शैक्षिक प्रणालीलाई परिमार्जित गरी प्रविधिमैत्री कक्षा कोठा निर्माणमा ध्यान पु¥याउन नसकिएको अवस्था छ ।

जबसम्म विद्यालयका भवनसँगै प्रविधिमा आधारित सिकाई मैत्री कक्षा कोठा निर्माण गरिदैन तबसम्म शिक्षामा गुणस्तर खोज्नु व्यर्थ हुन्छ । संविधानले शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राख्नै सकेका छैनन् । सरकारका कार्यक्रम शिक्षाको संख्यात्मक पहुँचभन्दा बढी गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षाप्रति केन्द्रित हुनु पर्दछ ।

शिक्षाको गुणस्तर भाषणले बढ्दैन । कर्णालीको शिक्षा सुधार गर्न राजनीतिक इच्छा शक्ति, कार्यान्वयनमा प्रशासनिक संयन्त्रको कौशलता र जिम्मेवारी बिना सम्भव छैन । यसर्थ, विद्यालयलाई आवश्यक दक्ष शिक्षकसँगै सिकाईमुलक प्रविधिमैत्री कक्षा कोठा निर्माणमा ध्यान दिनु आजको आवश्यकता हो ।

यसमा विद्यालय व्यवस्थापन समिति, विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक, पढाउने शिक्षक र अभिभावकले आफ्नो भूमिका इमान्दारीपूर्वक पुरा गर्न सक्ने हो भने कर्णालीको शिक्षालाई युग सुहाउँदो बनाउन असम्भव छैन । यसतर्फ सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

सम्पादकीय : शिक्षामा गुणस्तरको संकट

घुँयत्राे : नेपालाँ त कुलिङ भन्याचाइँ ताताे

सम्पादकीय : शिक्षामा गुणस्तरको संकट

वीरेन्द्रनगरले थाल्यो सुरक्षित सडक अभियान : अब

Leave a comment

Your email address will not be published. Required fields are marked *