कांग्रेसको महाअधिबेशन प्रतिनिधिमा शारदाका मेयर भण्डारीकाे उम्मेदवारी

सुर्खेत, १० असोज ।
सल्यानको शारदा नगरपालिकाको नेतृत्वमा पुगेका प्रकाश भण्डारीको राजनीतिक यात्रा स्थानीय सरकारको नेतृत्वबाट सुरु भएको होइन । करिब दुई दशकअघि विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा नेविसंघको जिल्ला सदस्य हुँदै केन्द्रीय विद्यार्थी संगठन, नेपाली कांग्रेसको जिल्ला नेतृत्व र अन्ततः स्थानीय तहको प्रमुखसम्म पुगेको छ । अहिले यही यात्राको अर्को चरणका रूपमा उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महासमिति प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । २०४४ वैशाख ९ गते सल्यानको साविक बरला गाविसमा जन्मिएका भण्डारीको राजनीतिक प्रवेश नेपाल विद्यार्थी संघबाट भयो । २०६० सालमा नेविसंघको जिल्ला सदस्य बनेसँगै सुरु भएको उनको विद्यार्थी राजनीतिक यात्रा त्यसपछि निरन्तर अघि बढ्यो । उनले सल्यानमा कांगेसको संगठन निर्माण र विस्तारमा ठुलो योगदान पु¥याएका छन् ।
२०६३ सालमा उनले सिआइटी कलेजको इकाइ सभापतिको जिम्मेवारी पाए । दुई वर्षपछि, २०६५ सालमा उनी प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय सचिव बने । विद्यार्थी संगठनमा जिम्मेवारी बढ्दै गएपछि उनको सक्रियता फेरि गृहजिल्लातर्फ फर्कियो । २०६६ सालमा नेविसंघ सल्यानको जिल्ला सदस्य बनेका भण्डारी सहसचिव र सचिव हुँदै जिल्ला उपाध्यक्षको जिम्मेवारीमा पुगे । विद्यार्थी संगठनको जिल्ला नेतृत्वमा उनको उपस्थिति बलियो हुँदै जाँदा पार्टी राजनीतिमा पनि उनको भूमिका विस्तार हुन थाल्यो । कांग्रेसको १२औँ महाधिवेशनमा २०६७ सालमा उनी क्षेत्रीय प्रतिनिधि बने । त्यसको दुई वर्षपछि २०६९ सालमा नेविसंघ सल्यानको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । विद्यार्थी संगठनको नेतृत्वमा रहँदा बनाएको राजनीतिक आधारलाई उनले त्यसपछि कांग्रेसको मूल संगठनमा विस्तार गर्दै लगे ।
२०७२ सालको कांग्रेसको १३औँ महाधिवेशनमा उनी जिल्लाबाट उत्कृष्ट मतसहित सदस्यमा निर्वाचित भएको विवरणमा उल्लेख छ । त्यसपछि २०७५ सालमा पार्टीका अत्यधिक बहुमत जिल्ला सदस्यको प्रस्तावमा उनी सचिवमा मनोनित भए । २०७८ सालको कांग्रेसको १४औँ महाधिवेशन उनको राजनीतिक यात्राको अर्को महत्वपूर्ण चरण बन्यो । उक्त महाधिवेशनमा जिल्लाकै उत्कृष्ट मतसहित उनी दोस्रो कार्यकालका लागि सचिव निर्वाचित भएका थिए । पार्टी संगठनमा सक्रिय रहँदै आएका भण्डारीको राजनीतिक परिचय त्यसपछि स्थानीय सरकारसँग जोडियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी शारदा नगरपालिकाको नगर प्रमुख निर्वाचित भए । यससँगै विद्यार्थी संगठन र पार्टीको जिल्ला राजनीतिमा सीमित उनको भूमिका प्रत्यक्ष जनप्रतिनिधिको जिम्मेवारीमा पुगेको हो ।
नगर प्रमुखको जिम्मेवारी सम्हालिरहेका भण्डारी अहिले भने फेरि पार्टीको संगठनात्मक भूमिकातर्फ फर्किएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा महासमिति प्रतिनिधिका लागि उनको उम्मेदवारी परेको छ । उनको अभियानले आफूलाई युवा नेतृत्वसँग जोडेको छ । ‘युवाको नेतृत्व, कांग्रेसको भविष्य’ उनको अभियानको मूल नारा छ । विद्यार्थी संगठनको जिल्ला सदस्यबाट सुरु भएको जिम्मेवारी इकाइ नेतृत्व, केन्द्रीय विद्यार्थी संगठन, जिल्ला नेतृत्व, पार्टी सचिव हुँदै स्थानीय तहको प्रमुखसम्म पुगेको भण्डारीको राजनीतिक यात्रामा विभिन्न तहका संगठनात्मक जिम्मेवारी जोडिएका छन् । महासमिति प्रतिनिधिको उम्मेदवारीसँगै उनको राजनीतिक यात्राले अब पार्टीको नीति, संगठन र नेतृत्व निर्माणमा थप भूमिका खोजेको देखिन्छ । उनी कांग्रेसलाई एकताको सुत्रमा बाध्य अग्रजहरुको योगदान र अनुभवलाई युवा नेतृत्वले अगाल्नु पर्ने बताउँछन् । ‘विचारमा स्पष्टता, व्यवहारमा सरलता र संगठनमा प्रतिवद्ध भएमात्रै कांग्रेसलाई एक सुत्रमा बाध्न सकिन्छ,’ उनी भन्छन्, ‘देशलाई अग्रगामी दिशमा लैजान कांग्रेसको नेतृत्व आवश्यक भएकाले मैले महासमिति प्रतिनिधिमा उम्मेदवारी दिएको हुँ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *