लागुऔषध दुव्र्यसनीको जालोले छोपिँदै वीरेन्द्रनगर

ओम शाही
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा लागुऔषध दुव्र्यसनी बढ्दै गएको छ । कर्णाली प्रदेश राजधानीको मुकामसमेत रहेको वीरेन्द्रनगरमा लागुऔषध प्रयोगकर्ता, ओसारपसार तथा विक्रिवितरण तीव्ररुपमा बृद्धि भइरहेको प्रहरीको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा पछिल्ला बर्षहरुमा वीरेन्द्रनगर लागुऔषधको हटस्पट बन्दै गएको देखिन्छ । कानूनले दण्डित गरेपनि यसको सेवनसँगै ओसार पसार र विक्रिवितरणमा बृद्धि हुनुले चुनौती थपिएको छ । लागुऔषधको दुव्र्यसनीको जालोमा १८ देखि ४५ वर्ष उमेर समूह फस्दै गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्मा बताउँछन् ।
तीन वर्षको अवधिमा वीरेन्द्रनगरमा ९० जना यहीँ उमेर समूह लागुऔषध मुद्दामा पक्राउ परेको उनले बताए । कानूनले लागुऔषधलाई जघन्य अपराध मानेको तर, विभिन्न फ्याक्टरले यसले झन् बढवा पाइरहेको उनी बताउँछन् । परिवार, समाज तथा विद्यालयस्तरमा जनचेतना फैलाउन ढिलाई हुँदा लागुऔषधको जालो भित्रभित्रै भुसको आगोसरी फैलिँदै गएको उल्लेख गर्दै उनी प्रहरीले मात्रै यसको न्यूनिकरण गर्न नसक्ने बताउँछन् ।
प्रहरीले लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न लालटिन अभियान, लागुऔषध नियन्त्रण घरदैलो कार्यक्रम, प्रर्चा पम्पलेट वितरण, पुनस्थापना केन्द्रको नियमित अनुगमन तथा सचेतना, सवारी चालकको लापसे चेकिङ, हटस्पट केन्द्रित सचेतनामुलक कार्यक्रम, गाँजा तथा अफिम फैडानी लगायतका कामहरु गर्दै आएको उनले बताए ।
प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको न्यूनिकरण सम्भव नभएको उल्लेख गर्दै प्रहरी प्रवक्ता विश्वकर्मा परिवार, समाज, स्थानीय सरकार जिम्मेवार नभए झन् विकराल अवस्था सिर्जना हुने बताउँछन् । प्रवक्ता विश्वकर्माका अनुसार वीरेन्द्रनगरमा तीन आर्थिक वर्षको अवधिमा लागुऔषध सम्बन्धिका दुई सय ३५ मुद्दा दर्ता भएका छन् ।
यी मुद्दामा तीन सय ६९ लाई पक्राउ गरी मुद्दा चलाइ चलाइएको प्रहरीको तथ्यांक छ । लागुऔषध कारोवारी तथा सेवनकर्तामा मुद्दा चलाइएका अधिकांश १८ देखि ४५ वर्ष उमेर समूहको सक्रिय जनसंख्या बढी छन् । प्रक्राउ परेकाहरु ब्राउन सुगर प्रयोगकर्ता बढी छन् भने, महिला तथा बालबालिका पनि बढ्दै गएका छन् । प्रहरी अनुसन्धान अनुसार लागुऔषध भारतको रुपइडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको छ । लागुऔषध सुर्खेत ल्याउन सजिलो र बढी पैसा पाउने लोभले युवाहरु जोखिममा पर्दै गएको प्रहरीको निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा लागुऔषध सम्बन्धिका ८८ मुद्दा दर्ता भएका छन् । जसमा ११ महिला, एक सय २७ पुरुष र बालक १० गरी एक सय ४८ पक्राउ परेका छन् । पक्राउ गरिएकाहरुसँग एक सय ६२ ग्राम ब्राउन सुगर, एक सय ५१ ग्राम चरेश, गाँजा सात सय ६२ ग्राम, ४८ ट्याबलेट नाइट्राजोपाम, कोरेक्स र कोडिन १०० मिलिग्राम बरामद भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा लागुऔषध सम्बन्धिका ७४ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । यी मुद्दमा चार महिला, एक सय चार पुरुष, एक बालक गरी एक सय नौ जनालाई प्रहरीले प्रक्राउ गरी मुद्दा चलाएको छ । उनीहरुको साथबाट एक सय १८ ग्राम ब्राउन, ४० ग्राम चरेश, २१ मिलिग्राम गाँजा बरामद भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म यही शिर्षकमा ७३ मुद्दा दर्ता भइसकेका छन् ।
चालु आर्थिक वर्षमा प्रहरीले ७३ मुद्दामा सात महिला, एक सय चार पुरुष, एक बालक गरी एक सय १२ माथि मुद्दा चलाएको छ । प्रक्राउ परेकाहरुबाट एक सय ५३ ग्राम ब्राउन सुगर, शून्य दशमलव आठ मिलिग्राम ह्वाइट सुगर, एक सय ५३ ग्राम लागुऔषध गाँजा, निटकोर १२ ट्याब्लेट, निटकोर–१० नाइट्राजेपाम लेखेको औषधी ६० ट्याब्लेट, नाइट्राजेपाम १६० ट्याब्लेट, ट्रामाडोल पाँच हजार २३ ट्याब्लेट लागुऔषध बरामद भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीको तथ्यांक अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ११ लागुऔषधको बढी सेवन र कारोवार हुने हटस्पट बनेका छन् । चालु आर्थिक वर्षमा प्रहरीले वडा नं. ४ बाट १२ र ११ बाट ११ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरेको छ ।
त्यस्तै, वडा नं. १२ मा आठ, १० मा सात, ८ मा चार, ३ मा चार, ५ मा तीन, ७ मा तीन, १ मा एक, र १४ मा एक जना लागुऔषध मुद्दामा पक्राउ गरेको छ । यस अवधिमा प्रहरीले पक्राउ गरेका व्यक्तिहरु १८ वर्षदेखि ४५ वर्षसम्मका धेरै छन् । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार १८ वर्षमुनिका एक नाबालक, १८ देखि २५ वर्षसम्मका ४७, २५ देखि ३५ वर्षसम्मका ४३, ३५ देखि ४५ वर्षसम्म १९, ४५ देखि ५५ वर्षसम्मका एक र ६५ देखि माथि उमेर समूहका एक जना गरी एक सय १२ पक्राउ भएका छन् ।
यसरी बनाउन सकिन्छ लागुऔषध मुक्त समाज
समाजलाई लागुऔषध मुक्त बनाउन प्रहरीबाट मात्रै सम्भव नरहेको बताउँछन्, लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपालका राष्ट्रिय अध्यक्ष बसन्तराज कुँवर । समर्ग राष्ट्रलाई लागुऔषध मुक्त बनाउन स्थानीय सरकारहरुले अपनत्व नलिएसम्म यसको न्यूनिकरण कदापी हुन नसक्ने उनी बताउँछन् ।
यसका लागि स्थानिय तहका जनप्रतिनिधि कर्मचारी, शिक्षक र स्कुल क्याम्पस व्यवस्थापक, आमासमूह र नागरिक समाजलाई सचेत बनाउँनु पर्ने उनी बताउँछन् । निर्वाचित मेयर, उपमेयरदेखि सबै वडाका अध्यक्ष तथा सदस्य, नगर तथा गाउँपालिका भित्रका अन्य राजनैतिक दलका प्रतिनिधिहरु समेतलाई लागुऔषधका बारेमा मसिनो गरी सिकाउन सके यसको रोकथामको पहिलो प्रयास थालनी हुने उनले बताए ।
प्रथम चरणको सचेतना कार्यक्रम पुरा भइसकेपछि दोस्रो चरणमा पालिकाका प्रशासकिय अधिकृत, स्वास्थ्य, शिक्षा र सामाजिक सेवासँग सम्बन्धित कर्मचारी, प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बैंकका कर्मचारीलाई लागुऔषध सम्बन्धि तालिम प्रदान गुर्नपर्ने कँुवर बताउँछन् । जनप्रतिनिधि र कर्मचारी ड्रग्समूक्त पालिका बनाउन तयार भएपछि घर–घर, टोल–टोल र सबै शैक्षिक संस्थाहरुमा तेस्रो चरणको अभियान थाल्नु पर्ने उनी बताउँछन् ।
‘अधिकांश युवाहरु स्कुल कलेजमै भेला हुने हुँदा ड्रग्सका डिलरहरुले यही स्थानलाई लक्षित गरि आफ्नो कारोबार सञ्चालन गर्ने प्रयास गर्दछन्,’ उनी भन्छन्, ‘अतः हरेक स्कुल व्यवस्थापक र शिक्षकहरुले आ–आफ्नो स्कुल लाई कसरी लागू औषध मूक्त गर्न सकिन्छ ? भनेर बुझाउन सकिए यसको न्यूनिकरण गर्न सकिन्छ ।’ लागुऔषध मुक्त समाज निर्माणमा आमाहरुको भुमिका महत्वपूर्ण हुने उनी बताउँछन् ।
‘प्रत्येक आमाहरुले ड्रग्स बाट आफ्ना छोरा–छोरी र परिवारलाई जोगाउन ड्रग्स के हो ? सेवन गरेको कुरा कसरी थाहा पाउने ? थाहा पाए पछि के गर्ने के नगर्ने ? पूर्नस्थापना केन्द्र भनेको के हो ? आदि कुराहरुको सम्बन्धमा गहिरो ज्ञान राख्नु पर्ने हुन्छ र यो ज्ञान हरेक घर घरमा पु¥्याउन आवश्यक छ,’ उनले भने ।
जनप्रतिनिधिबाट लागू औषध मूक्त पालिका घोषणा हुनेछ, कर्मचारीहरुबाट गुरुयोजना तयार गरिने छ, त्यस पछि स्कुल व्यवस्थापक र आमा समूहका साथै अर्को महत्वपूर्ण भूमिका नागरिक समाजको हुने कुँवर बताउँछन् ।
‘नागरिक समाजको भूमिका प्रत्येक टोल–टोलमा दवाव समूह बनाई आफ्नो टोललाई लागुऔषध दुव्र्यसन निषेधित क्षेत्र बनाउने र दुव्र्यसनमा परेकाहरुको पहिचान तथा उपचारमा सहयोग गर्ने संयत्रको विकास गर्नुपर्छ,’ उनले भने, ‘यो समूहमा पत्रकार, नागरिक समाजका अगुवाहरु, पूर्व प्रहरी, पूर्व सैनिक, सरकारी कर्मचारी, युवा क्लव, एनजिवोज, व्यापार संघ, यातायात संघ, उपभोक्ता समिति, वन समिति संलग्न हुनुपर्दछ ।’
उनीहरुलाई लागुऔषध के हो ? लागुऔषध प्रयोगकर्ता भनेको के हो ? लागऔषध प्रयोगकर्ता भएको टोलमा के कस्ता समस्याहरु आउँछन र उनीहरुलाई कसरी व्यवस्थापन गर्ने विषयमा ज्ञान प्रदान गर्न सके लागुऔषध मुक्त समाज निर्माण गर्न सकिने लागुऔषध दुव्र्यसन रोकथाम अभियानका अध्यक्ष कुँवरको तर्क छ ।






