जाजरकोटमा टिप्पर दुर्घटना एकको मृत्यु, दुई घाइते
जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा आज मङ्गलबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले दिएको जानकारीअनुसार मृतक व्यक्ति मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीका ट्याक्टर चालक हुन् । उनी टिप्परमा यात्रारत रहेको र दुर्घटनाका क्रममा मृत्यु भएको हो ।
‘टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, डिएसपी पाण्डेले बताए । दुर्घटनामा टिप्पर चालक र सहचालक घाइते भएका छन्, भने सहचालकको अवस्था गम्भीर रहेको छ ।






