वैज्ञानिक बिना चलिरहेको राजिकोट बागवानी अनुसन्धान केन्द्र : किसानको भरोसा टुट्दै

गोल्डेन बुढा
जुम्ला,१९ असार।
चन्दननाथ नरपालिका -१ मा अवस्थित राजिकोट बागवानी अनुसन्धान केन्द्र हाल वैज्ञानिक तथा प्राविधिक जनशक्ति अभावमा नाम मात्रको संस्थाजस्तो बनिरहेको छ। २०२४ सालमा स्थापना गरिएको केन्द्रमा तीन जना वैज्ञानिक र तीन जना प्राविधिक अधिकृतको दरबन्दी भए पनि हाल वैज्ञानिक राजकुमार गिरी एक्लैले केन्द्र सम्हालिरहेका छन्। बाँकी दरबन्दी रिक्त हुँदा अनुसन्धान गतिविधि लगभग ठप्प भएको छ।

केन्द्र स्थापना गर्ने मूल उद्देश्य बागवानीजन्य बालीहरूमा अनुसन्धान, गुणस्तरीय बीउ उत्पादन र किसानलाई सिफारिस प्रदान गर्ने भए तापनि जनशक्तिको अभावले प्रभावकारी रूपमा काम अघि बढ्न सकेको छैन। प्रमुख गिरी भन्छन्, “सरकारले अनुसन्धानका लागि केन्द्र खोल्छ, तर दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान निष्प्रभावी भएको छ।”
स्थानीय बासिन्दा मुन बहादुर डाँगीले सरकारको दृष्टिकोण प्रति निराशा व्यक्त गर्दै राज्यले यस्तो सम्भावना बोकेको क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। अर्का स्थानीय महेन्द्र कार्की भन्छन्, “नामको मात्रै अनुसन्धान भयाे, दक्ष जनशक्ति र उपकरण व्यवस्थापनको अभावले यहाँको सम्भावना कुहिएर गइरहेको छ।”

केन्द्रले हालसम्म लसुनको ‘राजिकोट–१’ र ‘राजिकोट–२’ जात तथा स्याउका ‘स्टार्क क्रिप्सन’, ‘ब्राइज्ड एनअर्ली’ र ‘स्टार्क स्पर गोल्ड’ जात किसानस्तरमा सिफारिस गरिसकेको छ। ‘टप रेड’ र ‘रेड स्पर’ जातको स्याउ भने सिफारिसका लागि ललितपुरको हरिहरभवनस्थित बीउ बिजन केन्द्रमा परीक्षणमा छ। ओखर खेतीमा पनि केन्द्रले कलमी प्रविधि विकास गरी बिरुवा उत्पादन गरिरहेको छ, जसको बजार मूल्य ५ सय रुपैयाँ तोकिएको छ।
शुरुमा अनुसन्धान केन्द्रको स्थापनाबाट आशावादी देखिएका किसान अहिले भने निराश छन्। उनीहरू नयाँ जातको बीउबिजन पाउने, आम्दानी बढ्ने र समस्या समाधान हुने अपेक्षामा थिए। तर जनशक्ति अभाव, अनुसन्धानको न्यूनता र सरकारी बेवास्ताले त्यो सपना अधुरो बन्न पुगेको छ।

कृषिमा वैज्ञानिक अनुसन्धानलाई सबल बनाएर मात्र आत्मनिर्भरता र समृद्धिको बाटो खुल्न सक्छ। यस्तो संवेदनशील क्षेत्रप्रति राज्य गम्भीर नभए बागवानीको भविष्य अझै अध्यारो बन्ने देखिन्छ।





