सिमावर्ति नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर: ७११ जनाले पाए उपचार सेवा

बाँके,१८ असार।
बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ७११ जनाले सेवा प्राप्त गरेका छन्। स्वास्थ्य पूर्वाधारको अभावले घरमै रोग बोक्न बाध्य ग्रामीण बासिन्दाहरूलाई लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा २५९ जना महिला, २२६ जना पुरुष र २२५ जना बालबालिकाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको बज्रदल गणका प्रमुख सेनानी रविन श्रेष्ठले जानकारी दिनुभयो।
शिविर श्री सैनिक अस्पताल नेपालगन्ज, नरैनापुर गाउँपालिका, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल नेपालगन्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि, गुल्म अस्पताल नेपालगन्ज, एचसिआरसी अस्पताल र शाही डेन्टल क्लिनिकको संयुक्त सहकार्यमा सम्पन्न भएको हो।
स्वास्थ्य सेवामा सैनिक अस्पताल नेपालगन्जका प्रमुख सेनानी डा. मोहित थापासहित ११ जना विशेषज्ञ चिकित्सकहरूले सहभागिता जनाएका थिए। उनीहरूले फिजिसियन, बालरोग, छाला तथा यौनरोग, स्त्री तथा प्रसूति, दन्त, नाक-कान-घाँटी लगायतका सेवाहरू प्रदान गरेका थिए।
सीमावर्ती ग्रामीण क्षेत्रमा यस्तो बहुविषयक शिविर सञ्चालन हुँदा स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन्। साथै, सेनाप्रतिको विश्वास, सम्मान र सकारात्मक भावना अझै बलियो बनेको सेनानी श्रेष्ठले बताउनुभयो।
स्थानीयले शिविरप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवा निरन्तर हुनुपर्ने माग गरेका छन्।






