एमाले महाधिवेशन कर्णालीमा एक्लिए ईश्वर पोखरेल !

दिनेश बुढा
सुर्खेत, १६ मंसिर ।
नेकपा एमालेको ११औं महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनौट भएका छन् । एमालेले मंसिर २७–२९ भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । १० वटै जिल्लाबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लागेको प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले जानकारी दिए । उनकाअनुसार रुकुमपश्चिम बाहेक अन्य नौ जिल्लामा सर्वसम्वत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । यद्यपी केही जिल्लाको बाहेक छानिएका प्रतिनिधिहरुको नाम सार्वजनिक भएको छैन् ।
एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईंले रुकुमपश्चिम बाहेक अन्य जिल्लामा सर्वसम्वत प्रतिनिधि छनौट भएको जानकारी दिए । उनले भने, ‘मुगुबाट छनौट हुने ६ जना प्रतिनिधि बाहेक अन्य जिल्लाबाट छनौट भएका प्रतिनिधिहरुको नामावाली आइसेकेको छ । कर्णालीमा एमालेका ४७ हजार संगठित सदस्य छन् । एमालेको १५ कार्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ ।’
उपाध्यक्ष पछाईंका अनुसार हुम्लामा ६ जना, मुगु ६ जना, जुम्ला ६, कालीकोट ८, डोल्पा ८ जना, दैलेख २० जना, सुर्खेत २१ जना, जाजरकोट १२ जना, रुकुमपश्चिम ६ जना र सल्यानबाट ८ जना प्रतिनिधि चयन भएका छन् । अन्यमा मजदुर संगठनबाट, कर्णाली सम्पर्क मञ्चबाट र प्रदेश पार्टी कमिटीबाट प्रतिनिधि छनौट गरिएको छ ।
कर्णालीमा ओलीकै दवदवा
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर ११औँ महाधिवेशनमा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका ईश्वर पोखरेल कर्णालीमा भने एक्लिएका छन् । कर्णाली प्रदेशबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्दा अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको पक्षमा कुनै पनि नेता खुल्ने हिक्मत गरेका छैनन् ।
कर्णाली प्रदेश अध्यक्ष शाहले कर्णाली प्रदेशबाट छनौट भएका प्रतिनिधिहरु कुनै पनि गुट उप–गुटबाट नभई सर्वसम्मत रुपमा भएको दाबी गरे । अध्यक्ष शाहले प्रदेशका १० जिल्ला मध्ये रुकुमपश्चिममा पार्टीको जिल्लाको आन्तरिक विवादका कारण निर्वाचन भएको बताए । उनले भने, ‘१० जिल्ला मध्ये ९ जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको छ ।
रुकुमपश्चिमा पार्टी केन्द्रका पक्षविपक्ष नभई आन्तरिक विवादका कारण निर्वाचन भएको हो । अन्य जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन गरिएका छन् । यहाँ कुनै गुट छैन् ।’ कर्णाली प्रदेशमा छनौट भएका प्रतिनिधिहरु सबै संस्थापन पक्ष पार्टी अध्यक्ष केपी ओली समूहमा देखिएका छन् । उनीहरुले एमालेको भावी अध्यक्ष ओलीको विकल्प नरहेको भन्दै पोखरेललाई साथ नदिने पक्षमा पुगेको कर्णालीबाट महाधिवेशन प्रतिनिधि रहेका एक नेताले दाबी गरे । यद्यपी प्रतिनिधि हुनका लागि नखुलेको पनि हुनसक्ने उनले बताए । ‘हामी त केपी ओलीलाई नै अध्यक्ष बनाउनुपर्छ भनेर लागेका छौं,’ उनले भने, ‘ओलीको विकल्प खोज्नेहरु अहिलेसम्म देखिएका छैनन् ।’
त्यस्तै, नेकपा एमाले सुर्खेतका उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मोहनसिंह बडुवालले कर्णाली हालसम्म कर्णाली प्रदेशले पदाधिकारी नभएको भन्दै ११औँ महाधिवेशनबाट कर्णालीले पनि पदाधिकारी पाउनुपर्ने माग गरे । ‘कर्णालीमा कुनै गुट छैन् । एउटै छ । त्यो केन्द्रमा केपी ओली ।’
यस्तै, नेकपा एमाले जिल्ला कमिटि डोल्पाका अध्यक्ष लंकबहादुर रोकायाले प्रतिनिधि छनौटमा कुनै विवाद नभएर सर्वसम्मत रुपमा चयन भएको जानकारी दिए । आफु युवा (४० वर्षमुनी) कोटाबाट प्रतिनिधि छनौट भएका अध्यक्ष रोकायाले प्रतिनिधिहरु सबै संस्थापन पक्ष एमाले अध्यक्ष ओली समूहका रहेका दाबी गरे ।
केन्द्रीय नेताहरु पनि ओलीतिरै ढल्किए
२०८० असोजमा भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटिको दोस्रो अधिवेशनमा पार्टी अध्यक्ष ओलीले भनेको कुरा नमान्ने एमालेका केन्द्रीय कमिटिका नेताहरु महाधिवेशनमा समयमा ओलीतर्फ ढल्किएका छन् । उक्त अधिवेशनबाट एमाले कर्णाली प्रदेश अध्यक्ष पदमा सल्यानका गुलावजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच निर्वाचन भएको थियो ।
त्यस समयमा एमाले अध्यक्ष ओलीले मीनबहादुर शाहीलाई अध्यक्षमा सहगाउन कर्णाली प्रदेशबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने प्रत्येक नेताहरुलाई फोन गरेर अनुरोध गरेका थिए । तर, त्यतिबेला अधिकांश केन्द्रीय कमिटि सदस्यहरुले ओलीको अनुरोधलाई इन्कार गरेका थिए । जसका कारण ओलीले सहयोग गरेका उम्मेदवार शाही अर्का प्रतिद्धन्द्धी शाहसँग पराजित भए ।
अधिवेशनमा शाहलाई हाल कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य यामलाल कँडेल, पोलिटब्यूरो सदस्यहरु मुगुका मोहन बानियाँ, जाजरकोटका भैरवसून्दर श्रेष्ठ, दैलेखका लक्ष्मीप्रसाद पोखरेल तथा केन्द्रीय सदस्यहरु, हुम्लाका दल रावल, डोल्पाकी बद्मी बोहरा, दैलेखका राजबहादुर बुढा, मिनासिंह रखाल, धर्मराज रेग्मी, जाजरकोटका सिपी घर्ती, डम्बरबहादुर सिंह लगायतका नेताहरुले सहयोग गरेका थिए ।
त्यस्तै, ओलीले सहयोग मागेका मीनबहादुर शाहीको पक्षमा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरु दैलेखका विनोदकुमार शाह, विष्णु रिजाल, कालिकोटका नगिन्द्र शाही, जुम्लाका रतननाथ योगी, जाजरकोटका निरज आचार्य र रुकुमपश्चिमका चन्द्रबहादुर विश्वकर्मा, सुर्खेतका नवराज रावत लगायतका नेताहरुले सहयोग गरेका थिए ।
२०८० असोजमा भएको कर्णाली प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष ओलीले भनेका उम्मेदवार हराउन अघि बढेका नेताहरु ११ औँ महाधिवेशन नजिकिँदै गर्दा ओलीतर्फ ढल्किएका छन् । हालसम्म कर्णालीबाट छनौट भएका प्रतिनिधि मात्रै नभएर कर्णाली प्रदेशबाट एमाले केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने कुनै पनि नेताहरुले ईश्वर पोखरेलको पक्षमा खुल्ने आट गरेका छैनन् ।
११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा ओली र पोखरेलबीच निर्वाचन हुने पक्का भएपछि ओलीको टिममा परेर चुनाव कसरी जित्ने भन्ने आन्तरिक रणनीतिमा लागेका छन् । कर्णाली प्रदेशबाट प्रतिनिधि छनौटमा केपी ओली र ईश्वर पोखरेलको गुट नदेखिए पनि स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरखबहादुर बोगटीबीच आन्तरिक प्रतिस्पार्धा भएको नेताहरु बताउँछन् । कर्णालीबाट एमालेको स्थायी कमिटी सदस्यमा सुर्खेतका कँडेल र हुम्लाका बोगटी छन् । उनीहरुबीच विगतदेखिनै कर्णाली प्रदेश कमिटीको अधिवेशन हुँदै जिल्ला अधिवेशनमा समेत शक्ति मापन हुँदै आएको छ ।






