लागुऔषधसहित पाँच जना पक्राउ

सुर्खेत, १६ कार्तिक ।
सुर्खेत प्रहरीले २३–२४ भदौको जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार एक कैदीसहित पाँच जना लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्नलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७, का ३० वर्षीय नरेन्द्र ठाडा र वडा नम्बर ८ बस्ने १९ वर्षीय ललिता तामाङ्गलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
ठाडा जेन–जी आन्दोलनका क्रममा काठमाण्डौंस्थित जगन्नाथ देवल कारागारबाट भागेका कैदी हुन् । यसअघि पनि उनी लागुऔषध मुद्दामै जेल सजाय भोगिरहेका थिए । उनको साथबाट पाँच सय ३० ग्राम शुद्ध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
त्यस्तै, लागुऔषध मुद्दामा थप तीन जना प्रक्राउ परेका छन् । वीरेन्द्रनगर भित्रने मुख्यनाका सुब्बाकुनामा नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०७०९ नम्बरको इभी गाडी चेकजाँचका क्रममा उनीहरुलाई प्रक्राउ गरिएको उनले बताए ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–११, बस्ने वर्ष १८ को बिशाल ठाडा मगर, वडा नं. १२ बस्ने वर्ष २२ को राजु सुनार र वडा नं. ७ बस्ने बर्ष १८ को रमेश सुनार छन् । उनीहरुको साथबाट शुद्ध दुई ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको प्रवक्ता बुढथापाले जानकारी दिए ।






