स्वास्थमैत्री बैजनाथ गाउँपालिका : गाउँमै डाक्टरदेखि पूर्णखोपसम्म

बाँके,१५ असोज ।
स्वस्थ रहन पाउनु नागरिकको नैर्सर्गिक अधिकार हो भन्ने भावनालाई आत्मसात् गर्दै बैजनाथ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँबासीलाई सहज, नजिक र समयमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पनि विभिन्न उल्लेख्य कार्यक्रमहरू अघि सारेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण शाहीका अनुसार यस वर्ष ३ वटा विद्यालयमा किशोरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत किशोरीको रक्तनमुना परीक्षण गरेर रगत कमी देखिएकालाई आइरन चक्की वितरण गर्नासाथ पोषक तत्वयुक्त खानेकुरा खान सुझाव दिइएको छ। यस्तै ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ प्रभावकारी रूपमा कार्यान्वयन भई गर्भवती महिलाले गाउँकै स्वास्थ्य चौकीमा दक्ष नर्सिङ कर्मचारीबाट गर्भ जाँच गर्न पाउने व्यवस्था गरिएको छ। यसले महिलालाई गर्भावस्थामा हुने सम्भावित समस्या चाँडै पत्ता लगाई आवश्यक परामर्श वा विशेषज्ञ उपचारमा समयमै पुग्ने अवसर दिएको छ।
यसै आर्थिक वर्षमा बैजनाथ गाउँपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले औपचारिक रूपमा घोषणा गर्नुभएको हो। पूर्णखोपसहितका स्वास्थ्य सूचक पूरा गर्नु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको शाखा प्रमुख शाही बताउनुहुन्छ।
गाउँपालिकाभित्र हाल ३ वटा स्वास्थ्य चौकी, १ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्र र ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन्। यसमध्ये वडानम्बर ५ मा रहेको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र गाउँमै डाक्टरसहितको सेवा दिने केन्द्र बनेको छ। यहाँ २४ सैं घण्टा प्रसूति सेवा, प्रयोगशाला, एक्स-रे, स्वास्थ्य बीमा कार्यक्रमलगायतका सुविधा उपलब्ध छन्। वार्षिक २५ हजारभन्दा बढीले यस केन्द्रबाट उपचार सेवा लिने गरेका छन्।

गाउँपालिकाका कार्यपालिका सदस्य भूमिसरा रानाका अनुसार गाउँमै डाक्टरसहित प्रसूति सेवा उपलब्ध हुनु ठूलो उपलब्धि हो। उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकार संवेदनशील भएर काम गरिरहेको छ। बर्थिङ सेन्टरमा महिलाहरूले सुरक्षित रूपमा बच्चा जन्माउने वातावरण बनेको छ।”
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि बिरामीको चाप अझ बढेको केन्द्रका सिनियर अहेव अधिकृत भोला प्रसाद अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार यस केन्द्रले बीमा, अनुदान र अन्य आम्दानीमार्फत गतवर्ष मात्रै करिब १ करोड ४९ लाख रुपैयाँको कारोबार गरेको थियो। औषधीको दैनिक कारोबार मात्रै ३० देखि ३५ हजार रुपैयाँसम्म हुने गरेको छ। यस केन्द्रमा वार्षिक ७५ देखि १ सय महिलाले सुरक्षित प्रसूति गरिरहेका छन्।
बैजनाथ गाउँपालिकाभित्र रहेको चिसापानी स्वास्थ्य चौकी पुरानो र विश्वसनीय स्वास्थ्य संस्था हो। यहाँ पनि २४ घण्टा बर्थिङ सेन्टरसहित खोप तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध छ। प्रमुख प्रेम शाहका अनुसार यहाँ बैजनाथका वडासँगै बर्दियासहितका गाउँबाट पनि नागरिक उपचारका लागि आउँछन्। सामान्य देखिने तर जटिल हुने अवस्थालाई समयमै पहिचान गरेर ठूलो अस्पतालतर्फ रिफर गर्ने काम पनि यही चौकीबाट भइरहेको छ।
स्वास्थ्य शाखाले नसर्ने दीर्घरोग तथा सिकलसेल एनिमिया सम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। यस्ता दीर्घरोगीका लागि स्वास्थ्य बीमा मार्फत थप सहजता दिलाउने काम भइरहेको शाखा प्रमुख शाहीले जानकारी दिनुभयो।
गाउँपालिकाका कार्यपालिका सदस्य कृष्णकुमारी सुनारका अनुसार, “जनताले उपचार नपाएर ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ गाउँपालिकाले स्वास्थ्यका कार्यक्रम ल्याएको हो।”
यसरी, पूर्णखोप घोषणा, गाउँमै डाक्टरसहित स्वास्थ्य सुविधा, बर्थिङ सेन्टर, स्वास्थ्य बीमा कार्यान्वयनदेखि दीर्घरोग नियन्त्रण कार्यक्रमसम्मका योजनाले बैजनाथ गाउँपालिकालाई स्वास्थ्यमैत्री पालिका बनाउन सहयोग पुर्याएको छ। स्थानीय सरकारको यस प्रयासले गाउँबासीलाई सहज र विश्वासिलो स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराइरहेको छ।






