बाँकेमा एक वर्षमै ८० नयाँ एचआइभी संक्रमित थप, रोकथाम र उपचारमा समुदायको भूमिका अपरिहार्य

 बाँके ,१५ मंसिर
बाँकेमा पछिल्लो एक वर्षको अवधिमा ८० नयाँ एचआइभी संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकलपर्सन रविन्द्र कुमार साहका अनुसार ८ हजार ६९७ जनामा गरिएको परीक्षणबाट नयाँ संक्रमितहरू पहिचान भएका हुन्।

यसैबीच, ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ (पीएमटिसिटी) कार्यक्रमअन्तर्गत २८ हजार २३४ गर्भवती आमाको परीक्षणमा भने कुनै नयाँ संक्रमित नदेखिएको साहले जानकारी दिनुभयो।

भेरी अस्पतालमा हाल ६१३ जना एचआइभी संक्रमितले नियमित रूपमा एआरटी सेवा उपयोग गरिरहेको बताइँदै, साहले जिल्लामा रोकथाम तथा उपचार कार्यलाई अझ प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता अनिवार्य बन्दै गएको उल्लेख गर्नुभयो।

साहका अनुसार संक्रमणको रोकथाम, गुणस्तरीय सेवा विस्तार, समुदायमा अझै कायम रहेको कलंक–भेदभाव न्यूनीकरण तथा संक्रमितको जीवनस्तर सुधारजस्ता क्षेत्र अझै पनि चुनौतीपूर्ण छन्। जीविकोपार्जन कार्यक्रमलाई मजबुत बनाउँदै संक्रमितलाई आत्मनिर्भर बनाउनुपर्ने उहाँको सुझाव छ।

अभियन्ताहरूका अनुसार एचआइभी–एड्सविरुद्धको अभियानमा स्थानीय सरकारले अझ संवेदनशील र जिम्मेवारीपूर्वक काम गर्न आवश्यक रहेको छ। सबै तह–तप्काबाटको सहकार्यबिना संक्रमण नियन्त्रण सम्भव नहुने उनीहरूको धारणा छ।
नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्ने व्यक्तिहरू, यौनकर्मी, जेलका कैदी, पुरुष समलिंगी तथा तेस्रोलिंगी समुदाय, र विदेश जाने श्रमिकहरू पर्दछन्। यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू तथा पुरुष समलिंगी यौनकर्मीहरूमा संक्रमणदर अझै पनि उच्च रहेको अध्ययनहरूले देखाउँछन्।

३८औँ विश्व एड्स दिवस यस वर्ष ‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नाराका साथ मनाइँदैछ। दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरीसहित विभिन्न सन्देशमूलक कार्यक्रम आयोजित गरिएको छ।

विशेषज्ञहरूका अनुसार समयमै परीक्षण, नियमित उपचार, सुरक्षित व्यवहार र समुदायको सहयोगको संयोजनले मात्र बाँकेलगायत देशभर एचआइभी संक्रमण घटाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

 

बाँकेमा एक वर्षमै ८० नयाँ एचआइभी संक्रमित थप, रोकथाम र उपचारमा समुदायको भूमिका अपरिहार्य

सम्पादकीय : एमाले भित्रको शक्ति सन्तुलन

बाँकेमा एक वर्षमै ८० नयाँ एचआइभी संक्रमित थप, रोकथाम र उपचारमा समुदायको भूमिका अपरिहार्य

एनसेलको ‘एनपीएल प्ले प्याक’ सार्वजनिक: अब मोबाइलमै

Leave a comment

Your email address will not be published. Required fields are marked *