पानी घट्ट पछिल्लो समय लोप हुन थाले


कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा पुस्तौँदेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समय लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल संन्चालन हुनुको साथै परम्परागत अन्न बाली उत्पादन गर्ने कृषकहरूसमेत घटेर आयातित बस्तुको अधिक प्रयोग हुन थाले पछि गहुँ, कोदो, मकै, फापर, जौ, उवा, पिस्न प्रयोग हुने खोलाका पानी घट्ट,ओखल,जाँतो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

बिजुली बलेसँगै खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै जान थाले पछि यस्ता परम्परागत पानी घट्ट केही वर्ष पछि खोजेर नभेटिने अवस्थामा पुग्न लागेको छायाँनाथ रारा नगरपालिका वडा नं १ निवासी झुप्री नेपालीले बताए । उनले आफ्ना पुस्ताहरूले प्रयोग गर्ने जाँतो तथा घट्टहरू संरक्षण गर्न ढिला भइसकेको गुनासो गरे । उनले भने,‘हाम्रा पुर्खाको निशानी हुन् पानी घट्टहरू, मिल भन्दा घट्टमा पिसेको रोटी कमलो र स्वादिलो हुन्छ मिलमा पिसेको पिठोको रोटी बनाउँदा खासै स्वाद हुँदैन, यस्ता परम्परागत प्रविधिहरूलाई लोप हुन नदिन संरक्षण गर्नु पर्छ ।’

जिल्लाका चार ओटै स्थानीय निकायहरू मध्ये छायाँनाथ रारा नगरपालिका भित्रका विभिन्न ८७ वटा बस्तीहरूका अधिकांश घरधुरीले घट्टमा पिसेको पिठोको प्रयोग गर्ने गरेको भएपनि केही वर्ष यता पुराना सिप भएका मानिसहरूको मृत्यु भैसकेको र आधुनिक युवाहरू घट्ट बनाउन तिर त्यति आकर्षित नभए पछि घट्ट लगायत ओखलहरू लोप हुँदै जान थालेका छन् । बस्तीहरूमा बिजुली र डिजेलबाट चल्ने मिलहरू भित्रिँदै जाँदा गाउँघरमै पिठो पिस्ने काम हुने गरेको छ । ‘गाउँ तिर पानी घट्ट ,ओखल,जाँतो कमै भेटिने गरेका छन् , घट्टमा पिसेको पिठो र मिलमा पिसेको पिठोमा धेरै भिन्नता छ र मिलमा पिसेको पिठो भन्दा घट्टमा पिसेको पिठोको निकै स्वादिलो हुन्छ’, छाँयानाथ रारा नगरपालिका वडा नम्बर ८ टोप्ला गाउँका कृष्ण बहादुर रावलले बताए ।

आज भोली सस्तो र सहज रुपमा बजारमा पिसेको पिठो चामल पाउन थाले पछि बिग्रेका पानी घट्ट पुर्न मर्मत गर्न कसैको खासै चासो नहुनाले पानी घट्ट घट्दै गएको उनले बताए ।

समयमा पानी घट्ट,ओखल,जाँतो निमार्ण गर्ने व्यक्तिहरू पनि भेटिन छोडेकाले घट्ट,जाँतो,ओखल लोप हुँदै गइरहेको छाँयानाथा रारा नगरपालिका वडा नम्बर ६ का खेम बहादुर रावलले बताए । गमगाड खोलामा भरिभराउ देखिने घट्टहरू २०७९ साल असोजको तेस्रो साता परेको अविरल बर्षाले बगाएर बगरमा परिणत गरेको थियो । हालसम्म पनि बाढीले बगेका घट्टहरू बगेको स्थानमा पुन निर्माण हुन नसक्दा घट्ट लोप हुँदै जान थालेको स्थानीय बासिन्दाले बताए ।

ओखल,जाँतो र पानी घट्ट संरक्षण गर्नको लागी एक गाउँ एक पानी घट्ट, एक गाउँ एक ओखल निमार्ण गर्ने योजना रहेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

केही वर्ष यता गाउँ घरमा विद्युतीय मिलको अधिक प्रयोग हुन थालेपछि पुर्खादेखि चल्दै आएका पानी घट्ट,ओखल,जाँतो जस्ता स्थानीय स्रोत साधनको प्रयोग बाट निमार्ण भएका कुटनी पिसनीका साधनहरु मुगु लगाएत जुम्ला ,कालिकोट,दैलेख,हुम्ला डोल्पा,जाजरकोट जिल्लाहरुबाट लोप हुन थाले पछि यसको संरक्षण तथा प्रवद्घनको लागि राज्यका निकायहरू स्थानीय ,प्रदेश तथा संघीय सरकारले जोड दिनु पर्ने देखिन्छ ।

पानी घट्ट पछिल्लो समय लोप हुन थाले

६ महिनामा २६ करोडको तरकारी तथा फलफूल