बीमा कम्पनीलाई २ अर्ब अनुदान दिन बाँकी


सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई दिन हालसम्म करिब २ अर्ब रुपैयाँ बाँकी रहेको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले उक्त कुरा बताएको हो । सरकारले कृषि बीमाको अनुदानबापतको रकम नदिँदा बीमा कम्पनीहरू अत्याधिक जोखिममा रहेको पनि संघले बताएको छ ।
संघले विज्ञप्ति जारी गर्दै उपरोक्त अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दासमेत हाल सम्म प्राप्त नभएको बताएको हो । विज्ञप्तिमा भनिएको छ,‘यसले बीमा कम्पनीहरू अत्यधिक जोखिममा रहेका छन् ।’
नेपाल सरकारले मिति २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पश्चात मात्र उपलब्ध गराउने गरेको थियो । तर, लामो समयदेखि सरकारले उपलब्ध गराउने अनुदान रोकिएको छ ।
कृषि बीमाको एकातर्फ अनुदान प्राप्त नहुने र अर्कोतर्फ दाबीको भुक्तानी तत्काल गर्नुपर्ने परिस्थितिका कारण बीमकहरूको नगद प्रवाहमा समस्या भएको संघले जनाएको छ । ‘तसर्थ, बीमक संघको वैशाख १० मा बसेको पूर्ण बैठकको निर्णयअनुसार सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन अनुरोध गर्दछौँ’, विज्ञप्ति भनिएको छ,‘अन्यथा नगद प्रवाहको अभावमा बीमकहरूलाई दाबी भुक्तानी गर्न असहजता हुनेछ ।’






