कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु

आइतबार राति कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु भएपछि पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन् । वीरेन्द्रनगर सुर्खेत वडा नं ६ निवासी अन्दाजी २० वर्षीय सर्मिला सुनारको मृत्यु भएको हो । उनका श्रीमान दैलेखका हुन् ।
सुत्केरीलाई आइतबार बेलुकी ८ बजे बेथा लागेपछि सुर्खेत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका डाक्टरहरूले बच्चालाई बचाउन नसकिने तर आमालाई बचाउन सकिने बताएका थिए । पीडित पक्षले सुत्केरीलाई नेपालगञ्ज रिफर गर्न आग्रह गरे पनि डाक्टरहरूले अस्पतालमै उपचार हुने भन्दै अस्वीकार गरेको पीडितले बताए ।
पीडित परिवारका अनुसार सुत्केरीलाई इमरजेन्सीमा पु¥याएपछि उनीहरूलाई ११÷१२ बजेसम्म भेट्न दिइएन । डाक्टरहरूले राति १२ बजे बच्चाको मृत्यु भएको जानकारी दिए भने सुत्केरीलाई आईसियुमा राख्ने बताएका हुन ।
तर, पीडित परिवारका अनुसार, सुत्केरीको मृत्यु १०÷११ बजे नै भएको आशङ्का छ, जुन पोस्टमार्टम पछि मात्र पुष्टि हुने बताइएको छ । पीडित परिवारका सदस्य दीपेन्द्र बी .क. ले डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै न्यायको लागि लडिरहने र आन्दोलन जारी राख्ने बताएका छन् ।
अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै पीडित पक्षले जुलुस निकाल्ने तयारी गरिरहेको दलित संघका अधिकारी गम्भीर सिंह भुलले जानकारी दिए ।






