आज संविधान दिवस, संविधान कार्यान्वयनको दशक यात्रा

नेपालको संविधान जारी भएको आजबाट नौ वर्ष पुरा भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासको जगमा ३ असोज २०७२ मा प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालको संविधान जारी गरेका थिए । आजैका दिन अर्थात नौ वर्षअघि जनताका प्रतिनिधिले जनताका लागि नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेका थिए ।

सार्वभौम सत्तासम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् संविधानले गरेको छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै सबै राजनीतिक दल एक ठाउँमा उभिएको दिनले एक दशकको यात्रामा प्रवेश गरेको छ ।

यस्तै, सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने दुरदर्शी संकल्प संविधानले राखेको छ । जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्नु संविधानको मुल ध्येय हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित भई नेपालको संविधान २०७२ जारी भएको थियो ।

यो गौरवपूर्ण इतिहासले दशकमा पाइला टेक्दै गर्दा अझै पनि देशको आमुल परिवर्तन हुन नसकेका आवाजहरु बुलन्दित छन् । निरङ्कुश राणा शासन र पञ्चायती व्यवस्था तथा राजतन्त्रात्मक एकात्मक शासन व्यवस्थाको समूल अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म मुलुकलाई डो¥याएका राजनीतिक दल र तिनका नेतृत्वले राजनीतिक प्रणालीको रूपान्तरणमा योगदान त गरे तर मुलुकको आर्थिक प्रशासनिक क्षेत्रमा समायानुकूल सुधार गर्न सकेनन् भन्ने आवजहरु अहिले प्रसस्त उठ्न थालेका छन् । संविधानले परिकल्पना गरेको संघीयता कायान्वयनका जटिलताका रुपमा संघमा निहित कतिपय अधिकारहरु संघ तथा स्थानीय तहमा विकेन्द्रिकरण हुन सकेका छैनन् । अर्कोतर्फ संविधानको मुलमर्म अनुरुप सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सुदृढ हुन नसकेको पछिल्ला राजनीतिक अभ्यासहरुले देखाइरहेका छन् ।

प्रदेशका लागि आवश्यक पर्ने कानुन निर्माणमा संघले ध्यान नदिने, संघमा हुने राजनीतिक फेरबदलको असर प्रदेशसम्म पर्ने लगायतका कारणले सात वटै प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको आरोप छ । जसको साइड इफेक्ट प्रदेश संरचना देशले धान्न सक्दैन भन्ने तर्कहरुले स्थान लिन थालेका छन् । अर्कोतर्फ ठुला राजनीतिक दलहरुले संविधान जारी भएको लामो समयपछि यसमा भएका केही अपूर्णताले स्थायित्व कायम हुन नसकेको भन्दै संसोधनको प्रस्ताव अगाडि सारेका छन् । यो उनीहरुको देश प्रतिको चिन्ता हो या सत्ताको स्वार्थ त्यो हेर्न धेरै टाढा जानुपर्ने स्थिती भने छैन ।

संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नतर्फ दलहरुले ध्यान पु¥याउन नसक्दा देशमा निराशा बढेको चर्चा पनि उत्तिकै छ । राजनीतिक दलहरुले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्दा पनि ओझेमा पारेका छन् । दलित, आदिवासी, सिमान्तकृत वर्गका महिला तथा बालबालिका सहजै राज्यको मुलप्रवाहमा आउन सक्ने स्थिती अझै बन्न सकेको छैन । संविधान कार्यान्वयमा आएको दशक पुग्न लाग्दा पनि देशमा किन आर्थिक समृद्धिसहितको राजनीतिक स्थायित्व कायम हुन सकेन ? संविधानको अक्षरस कार्यान्वयनमा नेपालको राजनीति किन चुकिरहेको छ ? लगायतका मुलभुत प्रश्न आमनागरिकको मानसपटलमा घुमिरहेका छन् ।

लैङ्गिक समतालाई बिर्सन हुँदैन


टिका विष्ट, महिला अधिकारकर्मी

पहिलो कुरा नेपालले आफ्नो विकास गर्ने सन्दर्भमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा धेरै कानुनी सुधारहरु गरेको छ । यो विषय संविधानमा पनि राखिएको छ । यो एकदमै राम्रो छ । विश्वका देशहरुलाई तुलना गर्दा धेरै चाँडो विकास गरेको र कतिपय अवस्थामा उदाहरणीय कुराहरु पनि छन् । जस्तो महिलालाई राष्ट्रपति, प्रधान न्यायधिस र सभामुख बनाइएका विषय हाम्रा लागि आफैमा गौरव गर्न लाएक छन् । खासगरी संविधानले प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराइनु पनि राम्रो कुरा हो ।

यसले महिला सहभागितामा उर्जा नै भरेको छ । तर राज्यका निकायमा ३३ प्रतिशत महिलाको सहभागिता हुने कुरा संविधानमा लेखिरहदा आज तीनै राज्य अर्थात संघ, प्रदेश र स्थानीय तहहरुमा सहभागिता सुनिश्चित हुन सक्यो या सकेन यसको समिक्षा तहमा हामी छौं । यसले हामीलाई आगामी योजना तय गर्न सघाउ पुग्नेछ । संविधान दिवसका अवसरमा सरकारी तवरबाट यस्ता विषयमा योजना बनाएर जाने अवसर पनि हो । हामी कहाँ संविधान जारी भइसकेपछि केही अपूर्णता छन् ।

जस्तो कि संघीय निकायमा महिला आयोग छ । यसलाई प्रादेशिक तहसम्म पु¥याउनु पर्ने हो । किन भने जब मुलुक संघीयतामा गइसकेपछि कार्यालय हटाइएको वा मर्ज गरिएको एउटा मात्रै कार्यालय छ । त्यो भनेको महिला विकास कार्यालय हो । अन्य कार्यालय जस्तै शिक्षा, स्वास्थ्य जस्ता निकायका कुनै पनि कार्यालय हटाइएको वा मर्ज गरिएको अवस्था छैन । तर महिला विकास कार्यालय हटाइयो । यसले जिल्लामा महिलाका सवाल ओझेमा परे । अर्कोतर्फ राष्ट्रिय महिला आयोगलाई प्रादेशिक तहमा विस्तार गरिएको छैन । यसलाई महिलाको हिसावले नभई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका हिसावले हेर्दा त पछाडि परेको वर्ग, लिङ्ग, समुदाय भनौ या भुगोललाई मुलधारमा प्रवाहीकरण गर्ने कुरामा केही प्रयास भएका छन् । तर यसलाई प्रर्याप्त मान्न सकिदैन ।

सरकारका हरेक बजेट लैङ्गिकमैत्री भए या भएन, कार्यान्वयको स्थिती के छ भन्ने कुरा हे¥यो भने कसरी अगाडि बढ्न सक्छौ भन्ने कुरा आउन सक्छ । अर्को कुरा हाम्रा प्रदेश सरकारहरु कहिलेकाँही महिलाविहिन हुन्छन् त्यो कुरा थाहा छदैछ । कानुनमा लैङ्गिकमैत्री मात्रै भएर भएन व्यवहारमा पनि लागु हुन प¥यो । अर्थपूर्ण सहभागिताको कुरा गरिरहदा नाम मात्रको सहभागिता पनि त हुन सकिरहेको छैन । यो भनेको राजनीतिक दल, नेतृत्वकर्ताहरुमा संविधानले अङ्गिकार गरेको लैङ्गिकमैत्री संरचनाको अपनत्व नभएको हो कि भन्ने लाग्छ । अझै पनि संविधानले ग्यारेण्टी गरेका अधिकार उपभोगमा समस्या देखिन्छ । यो राज्यले मात्रै भएको छैन यसमा जनतामा जागरको अभाव पनि छ । महिला पुरुषको सम्पत्तीमा समान हक हुने व्यवस्था संविधानमा राखेपनि आज कति छोरीहरु यसबाट पीडित छन् । यसको वास्तविक तथ्यांक राज्यसँग हुनु प¥यो नि ? लैङ्गिकमैत्री संरचना लैङ्गिकमैत्री नीति महिलाका लागि मात्रै चाहिएको हो त ? यो समाजको विषय पनि हो भन्ने दृष्टिकोणबाट बहस हुन जरुरी छ । मुलतः यो विषय महिलाको मात्र नभई समाज, सरकार हुँदै मानव सभ्यतासँग जोड्दै समतामुलक समाज निर्माणको बाटोमा लैजानु नै आजको आवश्यकता हो ।

राज्य संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुक्यो


रणसिंह परियार, प्रदेशसभा सदस्य, कर्णाली

वास्तवमा भन्ने हो भने संविधान निर्माण भएदेखि यता संविधानले प्रदत्त गरेका अधिकारहरु कार्यान्वयनको प्रक्रिया प्रभावकारी ढङ्गले अगाडि बढाउन राज्य चुक्यो । विशेष गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्दा त राज्यले बिर्सिनै सक्यो । अझै पनि ठुला जातिय विभेदका घटनाहरु घटेका छन् । दलितमाथिको थिचोमिचो कायमै छ । राज्यका निकायमा दलितलाई मुलप्रवाहमा आउँनै मुस्किल छ । समाजमा के हुन्छ भने संविधानमा प्रदत्त अधिकारहरु कार्यान्वयन गर्ने प्रक्रियाहरु कानुनी मान्यताका आधारमा राज्यले अगाडि बढाउनु पर्ने हो । त्यो अहिलेसम्म भएको देखिदैन । अझै पनि दलित तथा पछाडि पारिएका सिमान्तकृत वर्गका मानिसहरुले सामाजिक न्यायको अनुभुति गर्न पाएका छैनन् ।

संविधान संसोधनको विषय आवश्यकता र परिवेशका आधारमा अगाडि बढाउनु स्वाभाविक हुन्छ । तर संविधानमा भएका अधिकार कटौती गरेर गरिएको संविधान संसोधन देश र जनताका लागि मान्य हुँदैन । यसतर्फ सबैले ध्यान दिनु पर्छ । अर्को कुरा समर्ग उत्पिडनमा परेको वर्ग र समूदायको अधिकार कटौती गरेर गरिएको संविधान संसोधन आफैमा स्वीकार्य पनि त हुँदैन । संविधान संसोधन कुन आधारमा टेकेर गर्ने भन्ने विषयको औचित्य पुष्टि गरेर लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्दालाई केन्द्रमा राखे सबैका लागि स्वीकार्य हुन्छ । संविधान संसोधनको मुद्दा अगाडि सारेका दलहरुले यसमा ध्यान दिनुपर्छ ।

यस्तै हो भने विकल्प खोज्ने बेला भयो

पीताम्बर ढकाल, राजनीतिक विश्लेषक

संविधान जारी भएको नौ वर्ष पुरा भएर करिव दशक हुन लाग्यो । अहिलेसम्मका हाम्रा संविधानहरुको आयु एउटाको एभरेजमा १० वर्ष छ । त्यस अर्थमा यो संविधानको विकल्प पनि सोच्नु पर्ने बेला आएको हो कि जस्तो मलाई लाग्छ । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष, सात आठ वटा पार्टीले गरेको संघर्षको परिणाम अहिलेको संविधान हो । यो यति छिटै त नजानु पर्ने हो । तर यसको काम गराई र प्रयोग राम्रो ढङ्गले भएन । यसको धेरै दुरुपयोग भयो । कतिपय अवस्थामा संविधानले राम्रै कुरा ल्यायो कि भन्ने लागेको थियो । तर अहिले समिक्षा गर्दा संविधानत नराख्नु पर्ने कुरा पनि त्यसमा राखियो ।

नेपाल जस्तो सानो मुलुकमा उपराष्ट्रपति आवश्यक छैन । उपराष्ट्रपतिलाई बाह्य मुलुकको अभ्यास अुनसार राष्ट्रियसभाको अध्यक्ष राखे पनि हुन्छ । यो छुट्टै चाहिदैन । अर्कोतर्फ देशमा भ्रष्टाचार घट्दै जानुको साटो बढ्दै गएको अवस्था छ । यसको प्रमुख काणर संसदबाट मन्त्री बनाउने परिपाटी नै हो । सत्तामा रहेका प्रधानमन्त्रीप्रति मात्रै बफादार हुने अरुप्रति नहुने पद्धतीको सुरुवात भयो यसले बेथितीलाई बढवा दियो । यसैले यो संसदबाट मन्त्री बनाउने व्यवस्था हटाउन पर्दछ । यसमा प्रधानमन्त्रीले जहाँबाट जो व्यक्ति ल्याउन चाहन्छ ल्याउन सक्ने अवस्था आए यो व्यवस्था टिक्ला । अर्को कुरा तीन तहका सरकार भनेको छ । केन्द्र सरकारले प्रदेश सरकारलाई निर्देशन गर्न सक्ला तर स्थानीय सरकारलाई नियमन गर्ने निकाय नै छैन । यसको अनुगमन गर्ने संयत्र तथा मूल्यांकन गर्ने परिपाटी पनि छैन ।

अनि यस्तो छाडा ढङ्गले सरकारहरुलाई छाड्ने हो भने यसले आकर्षण होइन विकर्षण मात्रै जन्माउछ । १० वर्ष प्रवेश गर्ने बेलामा यो संविधानको पनि समिक्षा गर्नु पर्दछ । अहिले हामीकहाँ समानुपातिकका नाममा जुन दुरुपयोग भइरहेको छ यसलाई सबैले मान्ने खालको सिद्धान्त प्रतिवादन गरेर संविधानमा भित्र्याउन पर्छ । होइन भने या त यो पद्धति नै फाल्न पर्छ होइन भने तुरुत सोच्ने बेला आइसकेको छ । पद्धति जनता र मुलुकको हितमा हुने हो । अन्यथा मुलुकलाई हित नगर्ने खालको पद्धतिको अभ्यास गरिनु आफैमा घातक हुन्छ ।

राज्यले यौनिक अल्पसंख्यकलाई चिन्नै सकेन
अन्जली विसी, यौनिक तथा अल्पसंख्यक

यौनिक तथा अल्पसंख्यकहरुलाई राज्यले चिन्नै सकेको छैन । हामी पनि यो देशका नागरिक हौं । हामीलाई पनि अन्य मानिस सरह समाजमा सम्मानजन जीवनयापन गर्न मन छ । राज्यले संविधानमा यौनिक तथा अल्पसंख्यकलाई विशेष अधिकारको व्यवस्था गरेको छ । तर यी कार्यान्वयन हुन नसक्दा हाम्रो जीवन नर्क जस्तै बनेको छ । कर्णाली प्रदेशमा यौनिक तथा अल्पसंख्यक धेरै साथीहरु खुलेर आउनु भएको छ ।

संविधानले दिएका अधिकार न हामीले पाएका छौं न राज्य यसमा गम्भिर छ । राज्यसँग हाम्रो अपेक्षा भनेकै नागरिकता, रोजगारी, समलिङ्गी विवाहको कानुनी मान्यता हो । हामी पनि रोजगारी गर्न सक्छौं । यसमा राज्यले आरक्षणको व्यवस्था गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ । संविधानले हाम्रा हक अधिकार सुरक्षित गरेको भए पनि राज्यले हामीलाई नागरिकको रुपमा हेरेको छैन ।

आज संविधान दिवस, संविधान कार्यान्वयनको दशक यात्रा

YUGAAWHAN NATIONAL DAILY (2081-06-03)

आज संविधान दिवस, संविधान कार्यान्वयनको दशक यात्रा

सम्पादकीय: संविधान कार्यान्वयन र संशोधनको चर्चा