भौतिक निर्माणको चरणमा जादै जगदुल्ला हाइड्रो कर्णालीको आर्थिक हैसियत बदल्ने अपेक्षा


कर्णाली प्रदेश सरकारको ५ प्रतिशत शेयर लगानी रहेको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु हुने अन्तिम तयारी भइरहेको छ । हिमाली जिल्ला डोल्पामा विद्युत् विकास विभागले निर्माण गर्न लागेको अर्धजलाशययुक्त आयोजनाका लागि प्रदेश सरकारले गत वर्ष ११ लाख ७१ हजार ५ सय कित्ता शेयर खरिद गरेको थियो ।

प्रदेश सरकारले प्रतिशेयर १ सयका दरले ११ करोड ७१ लाख ५० हजार शेयरबापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई दिएको थियो ।चालु आर्थिक वर्षमा नै निर्माण सुरु गर्न लागिएको कर्णाली प्रदेशका लागि महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले समग्र कर्णालीको मुहार फेर्ने जनाइएको छ ।

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कर्णालीले उर्जा क्षेत्रका लागि अथाह सम्भावना बोकेको भएपनि लगानीको अभावले दर्जनौँ जलविद्युत् परियोजनाहरुअगाडि बढ्न सकेका छैनन् ।
कर्णाली प्रदेशको कुल ऊर्जा उत्पादन क्षमता १८ हजार मेगावाट क्षमता भएपनि हाल दैलेखमा आठ दशमलव ५५ मेगावाट बिजुली मात्रै उत्पादन हुँदै आएको छ । सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शून्य दशमलव २० मेगावाटमात्रै उत्पादन भएको छ । दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
कुल १०६मेगावाट क्षमताको सो आयोजनाले विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ, भने वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा छ । परामर्शदाता र निर्माण व्यवसायी छनौंटका लागि विश्वव्यापीरूपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको काम भइरहेको छ । उक्तबैंकले चार अर्ब ७० करोडबराबर लगानी गर्नेछ । यस्तै नबिल बैंकले चार अर्ब, एचआइडीसीएलले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब, एभरेष्ट बैंकले एक अर्ब ५० करोडबराबर लगानी गर्नेछन्।

सरकारी स्वामित्वको कम्पनीमा निजी क्षेत्रका बैंकले लगानी गर्न लागेको पनि पहिलोपटक भएको उनको भनाइ छ ।आयोजनाको निर्माणअवधि पाँच वर्षको छ । प्रमुख कार्यकारी अधिकृत सापकोटाले आयोजना निर्माणका लागि पूर्वतयारीको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।
उनका अनुसार बोलपत्रको काम पूरा गरी सकेसम्म चालु आवको अन्त्य, नभए पनि आगामी आवदेखि निर्माणमा जाने तयारी भइरहेको छ । आयोजना निर्माणका लागि लाग्ने २३ अर्बमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपुँजीबाट जुटाइनेछ । आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रक्र्यूरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) ढाँचामा बोलपत्र गर्न लागिएको उनले बताए ।

यस्तो बन्ने छ आयोजना
२०८६ असारभित्र सम्पन्न गर्नेगरी अगाडि बढाउन लागिएको आयोजनाको २०७८ मै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको थियो । डोल्पाको मुड्केचुला गाउँपालिका–७, इलमा विद्युत् उत्पादनगृह रहने आयोजनाको जगदुल्ला गाउँपालिका–१, को हुरीकोटमा २३ मिटर अग्लो जलाशययुक्त बाँध निर्माण हुने अयोजनाले जनाएको छ ।

प्रस्तावित जलविद्युत् आयोजना तथा जलाशयमा हुने डुबान क्षेत्र तथा विभिन्न संरचनाहरूको निर्माणका लागि जम्मा ५२ दशमलव ७६ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी स्वामित्वको १३ दशमलव ५७ हेक्टर र सरकारी स्वामित्वको ३९ दशमलव २१ हेक्टर (शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र १४ दशमलव ९३ हेक्टर र २४ दशमलव २६ हेक्टर डिभिजन वन कार्यालय मातहतको वन क्षेत्र) प्रयोग गरिनेछ ।
आयोजनाको इन्टेक साइटसम्मको जलाधार क्षेत्र ६ सय ३३ दशमलव ८३ वर्गकिलोमिटर रहनेछ । जलाशयको भण्डारण क्षमता ४ लाख ६५ हजार ९ सय७० घनमिटर र जलाशयको लम्बाइ ५ सय मिटर रहनेछ भने, आयोजना कार्यान्वयन हुँदा जगदुल्ला (भेरी) नदीको २७ किमि क्षेत्र समेटिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

आयोजनाको मुख्य संरचनाहरूमा आकस्मिक स्पिल्वे भएको तीनवटा द्वारसहितको २३ मिटर उचाइको बाँध, साइड इन्टेक, भुमिगत प्रकृतिको दुइवटा अप्रोच कल्भर्ट, ० दशमलव १० मिमिसम्मको कण थिग्रयाउने इन्टरमिटेन्ट फ्लसिङसहितको डुफर सेटलिक बेसिन, सर्ज साफ्ट, प्रेसर साफ्ट, भूमिगत प्रकारको विद्युत् गृह र घोप्टो डी आकारको ६ हजार १ सय ३५ मिटर लामो हेडरेस सुरुङ निर्माण गरिनेछ ।

जगदुल्ला नदीको विभिन्न खण्ड र सो नदीका सहायक नदीमा १२ वटा बेलिब्रिज र आन्तरिक पहुँच सडकको निर्माण हुनेछन् । आयोजनाबाट जगदुल्ला गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६, मुड्केचुला गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख छ ।

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्नेगरी शेयर संरचना तय गरिएको छ । पहिलोपटक प्रसारण लाइन प्रभावितका लागि समेत शेयर लगानी गर्न सक्नेगरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक शेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत शेयर छ । यस्तै, कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत शेयर रहेको आयोजनाले जनाएको छ । बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारणका खुला गरिने निर्देशक सापकोटाले बताए ।

कर्णालीलार्ई यसरी हुन्छ फाइदा
आयोजना निर्माण सम्पन्न भएपछि पश्चात यसबाट आउने प्रतिफल सबैभन्दा पहिले कर्णालीले लिने छ । आयोजनाको निर्माणको चर्चा सुरु भएसँगै आयोजना प्रभावित क्षेत्रमा सकारात्मक प्रभाव देखा पर्न थालिसकेको छ ।

आयोजना निर्माण पश्चात वार्षिक चार अर्ब ८० लाखबराबरको आम्दानी हुनेछ । त्यसबाट संघीय सरकारले वार्षिक रूपमा १९ करोड २३ लाखबराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले नौ करोड ६१ लाखबराबरको रोयल्टी प्राप्त गर्नेछ । पूर्वाधार विकासमा पछाडि परेका आयोजना प्रभावित क्षेत्रका स्थानीय तहले जगदुल्लाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्नेछन् ।

त्यस्तै, एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ आयोजनाको निर्माणपछि रोयल्टी बढेर २० करोड बराबर पुग्नेछ । आयोजनाले एक अर्बबराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ । त्यसबाट हरेक हिसाबले पछाडि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

हाल कोहलपुर सुर्खेत प्रसारण लाइनबाट समग्र कर्णाली प्रदेशभर नै बिजुली प्रवाह भइरहेको छ । लामो र कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीय बिजुली कर्णाली प्रदेशवासीले पाउन सकेका छैनन् । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणपछि गुणस्तरीय र भरपर्दो बिजुलीकार्णालीका नागरिकले उपभोग गर्न पाउनेछन् ।

भौतिक निर्माणको चरणमा जादै जगदुल्ला हाइड्रो कर्णालीको आर्थिक हैसियत बदल्ने अपेक्षा

कर्णालीमा अझै पनि ५२ प्रतिशत नागरिक बहुआयमिक

भौतिक निर्माणको चरणमा जादै जगदुल्ला हाइड्रो कर्णालीको आर्थिक हैसियत बदल्ने अपेक्षा

कर्णाली खस सभ्यता आधुनिक नेपाली भाषाको जननी