बालविवाह रोक्न कानुनको कार्यान्वयन भएन्


जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनले कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । २५ ओैँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजना तथा प्लान नेपाल जुम्लाको आर्थिक सहयोगमा बालविवाह अन्त्यका लागि गाउँपालिकाले तयार पारेको रणनीति छलफल कार्यक्रममा बाल विवाहलाई रोक्न थुप्रै ऐन कानुन बने पनि कार्यान्वयन हुन नसकेको उनिहरुले गुनासो गरेका छन् ।
कनकासुन्दरी –८ कि सृष्टि भट्टले भनिन्, ‘बाल विवाहलाई रोक्न थुप्रै ऐन कानुन नबनेका होइनन् । तर त्यसको प्रर्याप्त कार्यन्वयन नहुँदा बाल विवाहमा हामीले सोचेजस्तो कमी आएको छैन,’कुसंस्कार, गरिबी र अशिक्षाका कारण समाजको कुसंकारको रुपमा रहेको बालविवाह हट्न नसकेको गुनासा गर्दै सृष्टिले भनिन्, ‘हामी जस्ता किशोरी र बालबालिकाहरुलाई विभिन्न किसिमका शोषणबाट जोगाउँदै उनीहरुको पूर्ण व्यक्तित्वको विकास र अधिकारको संरक्षण आजको हाम्रो प्रमुख चुनौती हो ।’
अहिले पनि कनकासुन्दरीमा २० प्रतिशत बालविवाह हुने पाइएको छ । गरिबी र अशिक्ष नै बालविवाहको प्रमुख कारणले बालविवाह हुने गरेको भट्टले उल्लेख गरीन् । गुठीचौर गाउँपालिकामा ३३ प्रतिशत, पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी आमा बनेको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ ।
त्यस्तै, उक्त गाउँपालिका–६ की किशोरी मनिशा बिकले गरिबी, अशिक्षाका कारण बाल विवाह सामाजिक कुरितीको रुपमा विकास हुँदै गएको धारणा राखिन् । सामाजिक सञ्जालको दुरुपयोग, फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालविवाह बढ्दो छ।यस्तै कनकासुन्दी गाउँपालिका–६ दलित सञ्जालकी उपाध्यक्ष राजकली कामीले विगतमा भन्दा केही हदसम्म न्युनिकरण भएकोमा बताइन्।अझै पनि न्यूनीकरणमा समस्या छ ।
उनले भनिन्, ‘यस्ता कार्यका लागि सामूहिक प्रयास आवश्यका हुन्छ ।’ एक्लैले केही गर्न नसक्ने भएकाले सबैको प्रयास जुट्नु पर्ने बताउँछिन् । यता सोही गाउँपालिका –५ दर्पण उपाध्यायका अनुसार बालविवाहको अन्त्य गर्न सरकार, नागरिक समाज, धार्मिक व्यक्ति तथा संस्थाहरू, समाजका नेताहरू र युवाहरूबीच सहकार्य हुन जरुरी छ ।
यता गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले बढ्दो बालविवाह रोक्न गाउँपालिकाले रणनीतिक बनाइसकेको बताइन् । सरकारी सेवा सुविधा रोक्ने, कानुनी प्रक्रियामा लैजाने, बालविवाह गरेको भोजभतेरमा सहभागी नहुने,दिन दिने धामीझाँक्रीदेखि गाउँबस्तीमा सचेतना फैलाउने काम गरिरहेको दाबी गरिन् ।
चालू आर्थिक वर्षमा गाउँपालिकाले ५ वटा बालविवाह रोकिएको उनको भनाइ छ।उनले १७ वर्षको आमा बनेको अनुभव सुनाउँदै् बालविवाह गर्दा निकै कष्ट ब्यहोर्नु पर्यो, उनले भनिन् ,‘बालविवाहको असर अहिले देखा पर्न थालेको छ । निकै पश्चातापमा छु ।’ स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन् । किशोर किशोरीलाई राम्रोसँग पढेर आफ्नो खुट्टामा उभिएर मात्रै विवाह गर्न सुझाइन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जंगलाल बुढाले वडाका सबै स्वास्थ्य सस्था सम्म बालविवाह सम्बन्धि सचेतना दिइने काम भइरहेको बताए। स्वास्थ्य शिक्षाका बारेमा परामर्श दिन्छौं,उनले भने, चालू आर्थिक वर्षको पालिका भरिएका १५ जना किशोरी २० वर्षमुनिका गर्भजाँच गर्न पुगेका छ । ५ र ६ वडालाई आगामी भदौ १ गते बालविवाह मुक्त घोषणा वडा गर्ने तयारी छ। प्रहरीसम्म उजुरी अहिले सम्म परेको देखिदैन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्द जुम्लामा बालविवाह धेरै भएको देखिएपनि प्रहरीकोमा उजुरीका रुपमा नआएको बताउँछन् । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ ।
सन २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालविवाह न्युनिकरण, छाउपडी प्रथा न्युनिकरणका क्षेत्रमा क्याड नेपालले काम गर्दै आएको छ । बालविवाह जिल्लाको एक नगरपालिका सहित ७ वटा गाउँपालिकामै व्याप्त देखिन्छ । जनस्वास्थ्य रिपोर्ट हेर्ने हो,भने गत आर्थिक वर्षमा जिल्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए ।
चन्दननाथमा १ सय ९० जना,पातारासीमा १ सय ३४ जना, तातोपानीमा ६६ जना, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठीचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमा गाउँपालिकामा ७७ जना किशोरी आमा बनेका थिए ।







