देउसि भैलोबाट संकलित रकमले स्टेचर वितरण


तिहारको अवसरमा देउसि भैलोबाट संकलित रकमले स्टेचर वितरण गरेको छ । जुम्लाको हिमा गाउँपालिका–३ मा मोफ्लामा रहेको राहदेब हरियालि देउसि भैलो टिमले स्टेचर खरिद गरि वितरण गरेको हो। मोफ्ला गाउँमा ७ वटा, चेमा र जोगिवाडा गाउँमामा १÷१ वटा स्टेचर देउसि भैलोबाट संकलित रकमबाट खरिद गरि वितरण गरिएको युवा राजेन्द्रवहादुर रोकायाले बताए ।
देउसि भैलोबाट संकलित १ लाख १९ हजार रकम मध्ये ३९ हजार ६ सय रुपैयाँको स्टेचरमा लगानी गरिएको उनको भनाइ छ । हिमा– ३ को मोफ्ला, चेमा र जोगिवाडा गाउँ राष्ट्रिय राजमार्गसँग नजोडिएको हुनाले विरामीलाई स्वास्थ्य संस्था सम्म लैजान सहजताका लागि स्टेचर वितरण गरिएको हिमा गाउँकार्यपालिका सदस्य परिलाल विकले बताए ।
विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पु¥याउनु पर्ने भएकाले सहजताका लागि स्टेचर दिइएको हो । गाउँमा स्टेचरको समस्या हुँदा कम्बल वा अन्य उपाए लगाएर स्वास्थ्य संस्थासम्म विरामी बोकेर लिनु पर्ने बाध्यता रहेको रोकायाले बताउँछन् । बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पताल सम्म पुर्याउन स्टेचर आवश्यक पर्ने उनको भनाइ छ ।
यस्तै, साथै देउसि भैलोबाट संकलन भएको रकमले मोफ्लागाउँमा रहेको खानेपानीको ट्रयाङ्किको गेटबल समेत मर्मत गरिएको छ । देउसि भैलाबाट संकलित रकम सामाजिक काममा खर्चिएको राहदेव हरियालि देउसि भैलो टिमका अध्यक्ष हर्कवहादुर रोकायाले बताए ।






