आज जनैपूर्णिमा

काठमाडौँ ।
आज जनैपूर्णिमाको दिन देशका धेरै ठाउँमा बिहानैदेखि चहलपहल छ ।
बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ ।
यसरी जनै र रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
दिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर अन्य मठमन्दिर तथा नदीको किनारमा भक्तजनको भिड लाग्ने गर्छ । पाटनको कुम्भेश्वरमा यस दिन विशेष मेला लाग्ने गर्छ ।
जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन समाजमा रहेको छ । यस दिन खाइने क्वाँटी बनाउन विभिन्न किसिमका गेडागुडी मिसाई एकादशीकै दिन भिजाउने चलन रहेको छ । टुसा उम्रिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने आयुर्वेदिक मान्यता रहेको छ ।
यस्तै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेमसम्बन्ध प्रगाढ हुने विश्वास समाजमा रहेको छ । राखी बाँधेपछि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र विभिन्न उपहार दिने गर्दछन् ।






