झुप्रा जलविद्युत केन्द्रको साढे पाँच विगाह जग्गामा दुई मेगावाट सौर्य विद्युत उत्पादनको तयारी

सुर्खेत। लेकवेशी नगरपालिकामा नेपाल विद्युत प्राधिकरणले दुई मेगावाट क्षमताको सौर्य विद्युत उत्पादन गर्दैछ । प्राधिकरणको आफ्नै स्वामित्वमा रहेको पाँच विगाह १२ कट्ठा जग्गामा झुप्रा सौर्य विद्युत आयोजना सञ्चालन गरिने भएको हो ।

सांकेतिक तस्विर ।

लेकवेशी नगरपालिका–१०, साटाखानीमा रहेको उक्त जग्गामा प्राधिकरणले चार हजार वटा सोलार प्यानलहरु मार्फत दुई मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । सोलार प्यानलबाट ‘डिसी’मा उत्पादन भएको विद्युतलाई ‘एसी’मा परिणत गरेर उत्पादित विद्युत प्रसारण लाइनमा जोड्ने प्राधिकरणको योजना छ ।

यसका लागि वीरेन्द्रनगर सवस्टेशनको ११ केभी प्रसारण लाइनमा सौर्य विद्युत आयोजना मार्फत उत्पादित दुई मेगावाट विद्युत जोडिने र राष्ट्रिय विद्युत प्रणालीमा आवद्ध हुने आयोजनाद्वारा जारी सूचनामा जनाएको छ । आयोजनाले हाल प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदनमा अन्तिम तयारीमा छ ।

अध्ययन प्रतिवेदनका लागि आयोजनाले अघिल्लो हप्ता सरोकारवालावीच आयोजनाले पार्ने प्रभावका विषयमा राय तथा सुझाव समेत माग गरेको थियो । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजना सञ्चालन हुँदा सो क्षेत्रको प्राकृतिक, भौतिक, साँस्कृतिक र आर्थिक प्रणालीमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा राय तथा सुझाव मागिएको हो ।

यसका लागि लेकवेशी नगरपालिकाका साथै त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संस्थालाई लिखित राय तथा सुझाव पेश गर्न अनुरोध गरिएको छ । यो आयोजना लेकवेशी नगरपालिका–१०, साटाखानी स्थित झुप्रा खोला साना जलविद्युत केन्द्रको पावरहाउस परिसरमा निर्माण हुने आयोजनाले जनाएको छ ।

अनुदान सहयोगमा ५३ करोड लगानी हुन

झुप्रा सौर्य विद्युत आयोजनामा ५३ करोड रुपैयाँ बढी लगानी हुदैछ । जर्मन सरकारको अनुदान सहयोगमा नेपाल विद्युत प्राधिकरणले आयोजना सञ्चालन प्रक्रिया अघि बढाएको हो । आयोजनाले यसअघि नै लेकवेशी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको समेत आयोजना गरिसकेको छ ।

साउन ६ गतेका दिन साटाखानीमा सरोकारवालाहरुका विचमा आयोजनाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिरकण, काठमाडौंमा कार्यरत झुप्रा सौर्य विद्युत आयोजनाका प्रमुख प्रकाश रावत र प्रवन्धक मिलन दाहालले स्थानीय र जनप्रतिनिधि लगायतलाई आयोजनाका प्राविधिक तथा वातावरणीय पक्षका विषयमा जानकारी दिएका थिए । ‘साटाखानीमा यो ठुलो आयोजना निर्माण हुनु हाम्रा लागि राम्रो कुरो हो ।

यसले यहाँ स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन समेत मद्दत गर्नेछ’, लेकवेशी नगरपालिका–१० का वडा अध्यक्ष पर्शुराम भण्डारीले भने, ‘आयोजनाले यहाँ विद्युत उत्पादन मात्र नभईकन सिंचाई तथा रोजगारको विषयमा समेत सहयोग गर्ने बताइएको छ ।’ उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले आयोजनासँग वडामा सिंचाई कुलो निर्माण, लक्षित वर्गलाई स्वरोजगार लगायतका कार्यक्रममा सहयोग मागेका थिए ।

त्यसैगरी योग्यताका रुपमा आयोजनामा स्थानीयलाई रोजगार समेत दिइनुपर्ने स्थानीयको माग रहेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए । आयोजना मार्फत दुई मेगावाट क्षमताको विद्युत वार्षिक रुपमा करिव ३८ लाख युनिट उत्पादन हुने बताइएको छ । नेपाल विद्युत प्राधिकरणले हाल बन्द रहेको झुप्रा खोला साना जलविद्युत आयोजनाको पावर हावस क्षेत्रमा खाली रहे को जमिनलाई सदुपयोग गर्दै सौर्य विद्युत आयोजना निर्माण गर्न लागेको हो ।

नेपाल सरकारको दश प्रतिशत विद्युत उत्पादन सौर्य उर्जाबाट गर्ने नीति अनुरुप प्राधिकरणले देशैभरी विभिन्न स्थानमा सौर्य विद्युत आयोजनाहरुको निर्माण कार्य अगाडी बढाएको छ । ५३ करोड रुपैयाँ लागत रहेको आयोजना २०८०÷०८१ बाटै ठेक्कापट्टा कार्य सञ्चालन गर्ने योजनाका वारेमा जानकारी पाएको वडा अध्यक्ष भण्डारीले बताए । निर्माण कार्य शुरु भएको मितिले एक वर्षभित्र आयोजना सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

झुप्रा जलविद्युत केन्द्रको साढे पाँच विगाह जग्गामा दुई मेगावाट सौर्य विद्युत उत्पादनको तयारी

YUGAAWHAN NATIONAL DAILY (2080-04-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *