शिव मन्दिर आउने पुजा खर्च ७ वर्षदेखि गायव
सुर्खेत ।
वि.सं. २०७३ सालसम्म वीरेन्द्रनगर स्थित लाटीकोइली शिव मन्दिरलाई पुजा खर्च (हुण्डी) भनेर आर्थिक सहायता प्राप्त हुन्थ्यो । मासिक रुपमा सात सय रुपैयाँ यहाँका पुजारीलाई उपलब्ध हुन्थ्यो । तर अहिले सात वर्षदेखि शिव मन्दिरको पुजारीले पुजा खर्च नै पाएका छैनन् ।
लाटीकोइली शिव मन्दिरका पुजारी अक्षयकुमार योगीले स्मरण गरे, ‘पहिले पहिले म आफै काठमाडौं पुगेर पुजा खर्च वापतको रकम ल्याएर आउँथे । अहिले म आफैपनि विरामी छु । काठमाडौं जान सकेको छैन । पैसा पनि आएको छैन ।’
यसअघि करिव १२ वर्षसम्म शिव मन्दिरले पुजा खर्च पाईरहेको थियो ।
मासिक सात सय रुपैयाँले वार्षिक रुपमा आठ हजार चार सय रुपैयाँ हुन्छ । मन्दिरका पुजारीका लागि यो रकम लिन काठमाडौं पुगेर आउन समेत खर्चले धान्दैन । नेपालभरका मन्दिरहरुका लागि गुठ संस्थानद्वारा उपलब्ध गराइने यो रकम हाललाई व्यवहारिक समेत देखिदैन ।
थोरै रकम, त्यसमा पनि रकम लिन काठमाडौं नै जानुपर्ने वाध्यतामा गुठी संस्थान्ले शिव मन्दिरका लागि जिल्ला स्थित मालपोत कार्यालयमा रकम पठाउने व्यवस्था समेत मिलाएको थियो । शिव मन्दिरका पुजारी योगीले भने, ‘त्यो रकम व्यवहारिक पनि छैन । महंगी कहाँ पुग्यो । केहि रकम मात्र लिन काठमाडौं धाउँदा खर्च धेरै हुने भएपनि पछि एकपटक मैले मालपोत कार्यालयबाट समेत रकम लिएको थिए । अहिले मालपोतमा समेत पैसा पठाएको छैन । गुठीमा सम्पर्क गर्दा मालपोतमा बुझ्नुस् भन्छन् । मालपोतमा पैसा आएको समेत छैन ।’

हालको समयमा गुठी संस्थानले नेपालभरका मन्दिरलाई पठाउने पुजा खर्चमा एकरुपमा भने छैन । मन्दिरको माग र हालको महंगीलाई मध्यनजर गर्दै संस्थानले पुजा खर्च पठाउने गर्छ । शिव मन्दिरलाई समेत संस्थानले यसअघि पठाएको सात सय रुपैयाँ व्यवहारिक नदेखिएपनि रकम बढाउन सकिने गुठि संस्थानका प्रशासक किरण शाक्य बताउँछन् ।
‘त्यो सात सय रुपैयाँ हालको समयम निकै न्युन रुपैयाँ हो । मन्दिरबाट माग आयो भने उक्त रकममा हेरफेर गर्न सकिन्छ’, गुठि संस्थानका प्रशासक शाक्यले भने ।
शिव मन्दिरलाई हालसम्म पनि पुजा खर्च नपठाएको विषयमा भने उनले अनविज्ञता जनाए । उनले भने, ‘यसवारे हामीले पनि बुझ्नुपर्छ । पहिले गएको रकम अहिले पनि मालपोत मार्फत जानुपर्ने हो । गएको छैन भने माग समेत गर्न सकिन्छ ।’
गुठी संस्थानका प्रवक्ता एवं सूचना अधिकार जनक पोखरेल भने शिव मन्दिरका विषयमा मालपोतमा बुझ्नुपर्ने बताउछन् । उनले समेत पुजा खर्च नआएको विषयमा आगामी दिनमा माग गर्न सकिने र केहि वर्ष मालपोत कार्यालयमा बजेट पठाइएको हुनसक्ने बताए । शिव मन्दिरलाई जानुपर्ने रकम हालसम्म नगएको विषयमा थप जानकारी लिने उनले जनाए ।
रकम आएको थाह छैनः मालपोत कार्यालय
मालपोत कार्यालय, सुर्खेत समेत शिव मन्दिरका लागि आउने पुजा खर्च रकमका विषयमा जानकार नै छैन । मालपोत कार्यालय, सुर्खेतका प्रमुख नारायण थापाले भने, ‘हामीलाई अहिलेसम्म यस विषयमा जानकारी नै छैन ।’
कार्यालयका लेखापाल राजबहादुर थापा समेत हालसम्म शिव मन्दिरका लागि पुजा खर्च आएको विषयमा जानकार नभएको बताए । ‘म यहाँ कार्यरत रहेको दुई–तीन वर्ष भईसक्यो । मन्दिरका लागि पुजा खर्च आउने विषयमा भन्ने अहिले सुन्दैछु’, उनले भने, ‘आएको भएपनि कार्यालयको बजेटमा देखिने कुरो हो । अहिले कुनै बजेटमा पुर्जा खर्च शिर्षकमा रकम आएको छैन ।’
आज भण्डारा
लाटीकोइली शिव मन्दिरमा आज (सोमवार) भण्डारा कार्यक्रमको आयोजना हुने भएको छ । मन्दिर दर्शनका आउने भक्तजनहरुका लागि भोजन कार्यक्रमको आयोजना गरिएको मन्दिरका पुजारी अक्षयकुमार योगीले जानकारी दिए ।
भण्डारा कार्यक्रमका लागि महन्त योगी पहेलाद नाथ र शिष्य योगी मागेनाथ वीरेन्द्रनगर आएका छन् । भण्डारा कार्यक्रममा उपस्थित भई शिव प्रसाद ग्रहण गरिदिन पुजारी योगीले अनुरोध गरे ।