सरकारी अस्पतालमा पार्किङ शुल्क

सुर्खेत,१५ फागुन ।
वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पार्किङबाटै रकम असुली भइरहेको छ । कर्णाली र सुदूरपश्चिमका केही जिल्लाका बिरामीको रेफर सेन्टरका रूपमा रहेको प्रदेश अस्पतालभित्र छिर्ने सवारीसाधनबाट पार्किङ गरेबापत रकम संकलन भइरहेको हो ।
कालागाउँ युवा क्लबका कर्मचारीहरू अस्स्पतालको गेटैभित्रै संस्थाको ब्यानर राखेर अस्पतालभित्र आउने सवारीसाधनका चालकबाट धमाधम चिट काट्दै पैसा उठाइरहेका हुन्छन् ।
निःशुल्क सेवासुविधा दिने गरी स्थापना भएको सरकारी अस्पतालको पार्किङबाटै यसरी पैसा उठाउन थालेपछि बिरामी भएर जानेदेखि उनीहरूका कुरुवा र आफन्तहरूले हैरानी खेपिरहेका छन् । जुम्ला घर भई वीरेन्द्रनगर नगरपालिका–१ बस्दै आएका भरत शाहीले सुत्केरी श्रीमतीलाई अस्पताल भर्ना गरेका छन् ।
उनी अस्पताल र कोठा गइरहनुपर्छ । मोटरसाइकल भएका उनी जतिपटक अस्पतालभित्र बाइक ल्याएर राख्छन् त्यति नै पटक १० रुपैयाँ शुल्क तिर्न बाध्य छन् । शुल्क तिर्दातिर्दै हैरान भएको उनले बताए ।
‘पाँच दिन भयो श्रीमतीलाई भर्ना गरेको,’ उनले भने, ‘जति पटक आयो उति पटक पैसा तिरेर मात्र पार्किङ गर्न पाइन्छ, कुनै दिन त पार्किङ शुल्क मात्रै १ सय रुपैयाँसम्म तिरेको छु ।’ उनका अनुसार गेटैमा युवाहरूको एक हूल बसेको हुन्छ । उनीहरूले पैसा तिरेर मात्र मोटरसाइकल राख्न दिन्छन् । बिरामी आउने ठाउँमा अनावश्यक पैसा उठाएर दुःख दिनु गलत भएको उनको भनाइ छ ।
अछामको पञ्चदेवल–विनायक नगरपालिका–९ बाट बिरामी दाजुको कुरुवाका रूपमा आएका प्रजापति जोशी पनि अस्पतालमा आउजाउ गर्न थालेको हप्ता दिन बढी भइसक्यो । उनले पनि मोटरसाइकल पार्किङ गरेबापत हरेक पटक पैसा तिरेको बताए । ‘गाडी दुर्घटनामा परेका दाजुलाई लिएर आएको हुँ,’ उनले भने, ‘सरकारी कार्यालयमा त पार्किङ गर्न दिनुपर्छ नि ।’ यसरी सरकारी कार्यालयमा पैसा असुल्नु नाजायज भएको उनले बताए ।’
अस्पताल परिसरमा बाइक पार्किङको १०, गाडी र अटो पार्किङको ५० रुपैयाँ शुल्क तोकिएको छ । एक पटक शुल्क दिएपछि १२ घण्टासम्म काम गर्ने क्लबका कर्मचारी वसन्त पुरीले दाबी गरे । उनका अनुसार अस्पतालले टेन्डर आह्वान गरेर पार्किङको शुल्क लिने संस्था छनोट गरेको हो ।
सुरुवातमा १ वर्षको सम्झौता भएकामा फेरि म्याद थप भएर २ वर्षका लागि आफूहरूले काम गरिरहेको कालागाउँ युवा क्लबका अध्यक्ष पदम हमालले बताए । उनका अनुसार यसरी उठाएको रकम ४५ प्रतिशत अस्पताललाई दिन्छ भने ५५ प्रतिशत क्लबले राख्ने गरेको छ । क्लबले संकलन भएको रकम संस्थागत काममा खर्च गर्ने गरिएको जनाएको छ । केही रकम त्यहाँ कार्यरत कर्मचारीहरूले तलबका रूपमा लिन्छन् भने केही संस्थाको अन्य कार्यमा खर्च गर्ने गरिएको हमालले बताए ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले युवा क्लबले टेन्डर परेरै काम गरिरहेको बताए । सवारीसाधन हुनेसँग थोरै मात्रामा पैसा तिर्न समस्या नहुने गरेको उनको तर्क छ । अस्पतालमा आउने रकमले विपन्न बिरामीको उपचार गरिरहेको उनले बताए ।
कान्तिपुर




