विपद् पूर्वतयारीमा ध्यान देऊ !

यस वर्षको मनसुन पनि शुरु भईसकेको छ । नेपालमा मनसुनको अवधि प्रायः जेठको अन्तिम सातावाट शुरु भएर तीन महिना वा केही बढीसम्म रहने गरेको छ । यसपटक विगत वर्षहरुमा भएको औषतभन्दा कम पानी पर्ने पूर्वानुमान मौसमविद्हरुले गरेका छन् । कम पानी पर्ने भएपनि कर्णालीमा बाढी पहिरोको जोखिम भने उत्तिकै छ । मनसुन शुरु भएसँगै पानी परेर जमिन गल्न थालिसकेको छ । गलेको जमिनले धैरै आकाशे पानी सोस्न सक्दैन । त्यस्तै हिउँदको समयमा पहाडका धेरै ठाउँमा डढेलो लागेकोले ती वनक्षेत्रमा पानी सोस्ने तथा माटो अड्याएर राख्ने क्षमतामा निक्कै कमी भएको सोझै अनुमान गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण कुनै ठाउँमा एक्कासी अधिक वर्षा हुने क्रम पनि बढेर गएको छ । यस्तो अवस्थामा अलिकति पूर्वतयारी र सावधानी अपनाउने हो भने केही मानिसलाई बचाउन सकिन्छ । केही धनसम्पत्ति जोगाउन सकिन्छ । एक जनाको मात्रै जीवन जोगाउन सकियो भने त्यो ठूलो पूण्यकर्म हुन्छ ।

जसका लागि स्थानीय स्तरवाट समेत केही कामहरु शुरु गर्नुपर्छ । खासगरी स्थानीय स्तरमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारी मध्ये ढल, कुलो, नाला, खोल्सा सफाइ गर्ने, थुनिन सक्ने स्थान खोल्ने, कमजोर स्थानमा मर्मत गर्ने र पानीको निकास सुनिश्चित गर्नुपर्छ । बस्ती छेउका खोला नदीको बाँध मर्मत गर्ने, घर आवास वरपर सफाई गर्ने, चुहिने स्थान मर्मत गर्ने, घर माथीबाट नाली बनाएर पानी सुरक्षित स्थानमा तर्काउने खालका काम गर्नुपर्छ । पहाडी क्षेत्रमा घर वा बस्तीमाथी राम्री निरीक्षण गर्ने, मनसुनी पूर्वसूचना प्रणालीबाट सूचना लिने र सोहीअनुसार तयारी गर्न जानकारी गराउने, खोला नालामा जथाभावी नपस्न र सुरक्षित रहन समुदायस्तरमा सचेतना फैलाउने, स्थानीय समुदाय, सहकारीहरु, शिक्षक, विद्यार्थीहरु तथा स्वयंसेवकहरु परिचालन गर्ने र उच्च जोखिमका बस्ती पहिचान गरी अस्थायी रुपमा भएपनि स्थानान्तरण गर्दा विपद् विरुद्द सुरक्षित पूर्वतयारी हुनसक्छ ।

त्यसैगरी प्रतिकार्यको तयारीमा स्थानीय स्तरमा प्रकोपको जोखिम हुने विषयमा जानकारी लिने, सम्भावित प्रकोपअनुसार खोज उद्दारका सामग्री जोहो गरी चालू हालतमा राख्ने, आपत्कालीन कार्य सञ्चालनको बन्दोबस्ती मिलाउने कार्यहरु गर्नुपर्छ । सुरक्षा निकायहरुसँग समन्वय गरी प्रतिकार्य जनशक्ति तयार राख्ने, आपत्कालीन अवस्थामा काम गर्ने जनशक्तिको सूचना सञ्जाल तयार गर्ने, विपद्बाट प्रत्यक्ष प्रभावित हुन सक्ने जनसंख्याको आँकलन गर्ने, खानेकुरा, औषधी र सरफाइ सामग्री जस्ता अत्यावश्यक राहत तथा उपचार सामग्री र रकम तयार राख्नुपर्छ । आपत् आईपरेमा कसलाई कसरी सम्पर्क गर्ने र कहाँ जाने भन्ने कुराको विवरण तयार गरी स्थानीय बासिन्दालाई जानकारी गराउनुपर्छ । साथै आवश्यक पर्नासाथ प्रयोग हुने गरी आपतकालीन सामग्रीहरुको जोहो गर्ने र आश्रयस्थलमा बासस्थान निर्माण, शौचालय तथा खानेपानी व्यवस्थापन लगायतको तयारी गर्नुपर्छ । यी कामका लागि बजेट र जनशक्तिसहितको पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेर कार्य गर्दा प्रभावकारी विपद् व्यवस्थापनमा सहयोग मिल्छ । विपद् जोखिम व्यवस्थापन एक्लैले गरेर वा एक पटक गरेर हुने विषय होइन । यसले निरन्तर र वृहत्तर सहकार्य खोज्दछ ।

विपद् पूर्वतयारीमा ध्यान देऊ !

YUGAAWHAN NATIONAL DAILY (2080-04-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *