२०८२ बैशाख १७ गते
×

Now Playing

कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज

कालीकोट ।
कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज भएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका कर्मचारीले कार्यालयकै कमजोरीकै कारणले अस्पताल खारेज भएको दाबी गरेका छन् । कोरोना कालमा कोभिड अस्पताल बनाइएको जिल्लाको एकीकृत भवनलाई कर्णाली प्रदेश सरकारले एक वर्षअघि सरुवा रोग अस्पताल नामकरण गरेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम तथा बजेटमा सरुवा रोग अस्पतालका बारे प्रदेश सरकार बेखबर भएपछि अस्थायी रूपमा सञ्चालनमा आएको अस्पताल स्वतः खारेज भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले निर्णय गरेको भन्दै दुई पटक सरुवा रोग अस्पतालको उद्घाटन समेत गरेका थिए । आ.व २०७९÷८० मा अस्पतालको नाममा एक करोड बजेटसमेत विनियोजन भएको थियो ।

सरुवा रोग अस्पतालका लागि नियुक्त गरिएका डाक्टरसहित १८ जना कर्मचारीलाई सरुवा रोग अस्पतालमा कामकाज नगराएर जिल्ला अस्पतालमा खटाइएको थियो । सरुवा रोग अस्पतालका लागि नियुक्त गरिएका स्वास्थ्यकर्मी अन्य अस्पतालमा कामकाजमा खटाएकै कारणले सरुवा रोग अस्पतालमा एक जना पनि बिरामीले सेवा पाएनन् ।

अस्पतालमा बिरामी जाँच गर्ने र हेरचाह हेर्ने कर्मचारी नभएका कारणले बिरामी आउनै छाडेका थिए । आएका बिरामीलाई पनि जिल्ला अस्पतालमा पठाउने काम हुँदा अस्पताल खारेज हुन पुगेको कर्मचारीको भनाइ छ । सरुवा रोग अस्पतालमा कर्मचारीलाई काम गर्न दिँदा त्यहाँको व्यवस्थापन अलग हुने चिन्ताले त्यहाँ कर्मचारी नराखेर जिल्ला अस्पतालको कामकाजमा खटाइएको स्रोतको दाबी छ तर स्वास्थ्य सेवा कार्यालयका तत्कालीन निमित्त व्यवस्थापक जनस्वास्थ्य अधिकृत कटक महतले त्यो कुरा अस्वीकार गरेका छन् ।

उनले अस्पताल स्थापनाका लागि आफूहरू पनि मन्त्रालयमा पुगेको र पुनर्बहालीको माग गरेको दाबी गरे ।

कालीकोटको सरुवा रोग अस्पताल सञ्चालन भएको एक वर्षमै खारेज

YUGAAWHAN NATIONAL DAILY (2080-05-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *