२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

महिलालाई कारावास, परिवारको उठिवास

सुर्खेत । शिक्षकको हत्याको अपराधमा एक महिलालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । अदालतले गुराँस गाउँपालिका-८ मकुटककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट मुनालाई जन्मकैद फैसला भएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । फैसलामा मुनाले जन्मकैद कारागार बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैंयाँ जम्मा गर्नुपर्ने उल्लेख छ । मुनाले आफ्नै छिमेकी मालिका मावि लालीकाँडा मकुटकमा कार्यरत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर वीसीको २०७८ भदौ २९ गते राति धारिलो हतियार प्रयोग गरि हत्या गरेकी थिइन् । बयानका क्रममा मुनाले आफूमाथि यौनजन्य दुव्र्यवहार भएपछि धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् ।

घटनाताका बेला हत्या गरिएका शिक्षक वीसीका दुई छोरा अध्ययनको शिलसिलामा बाँकेको कोहलपुरमा थिए । घटनाकै दिन शिक्षक वीसीको श्रीमती कृष्णाकुमारी काम विशेषले दैलेख सदरमुकाममा थिइन् । शिक्षक वीसीले घर नजिकै आफ्नो दिदीको घरमा साँझको खाना खाईसकेपछि मुनाको देवरले चलाएको पसलमा राति ११ बजेसम्म बसेर घर फर्किने क्रममा आफु सुतेको कोठामा पुगी यौन दुव्र्यवहार गरेको मुनाको आरोप छ । मुनाले आफूसँग सुतेका छोराहरुलाई थाहा नहोस् भनेर शिक्षक वीसीलाई आफ्नै घरसंग जोडिएको मालिका माविको हातामा लगेर चक्कु प्रहार गरेको एकैनाशको बयान प्रहरी र अदालतमा दिएकी थिइन् ।

मुनाका श्रीमान २५ वर्षीय डम्बर खड्कालाई भने अदालतले सफाई दिएको छ । सुर्खेतमा रहेका श्रीमानलाई मुनाले हत्या घटना लगत्तै मोबाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौंला’ भनेर म्यासेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो । ‘लुकाउने प्रयास गरौंला’ भनेर मुनालाई म्यासेज लेखेकै आधारमा हत्या अभियोगमा डेढ वर्षदेखि थुनामा रहेका खड्काले सफाई पाएका हुन् ।

शिक्षक वीसीको हत्यामा संलग्न मुनाको परिवार भने विस्थापित छ । घटना भएयता पीडित परिवारले हत्याका आरोपित मुनाका परिवारहरुलाई आफ्नो घरमा बस्न नदिएको कारण डेढ वर्षदेखि विस्थापित हुनु परेको इन्सेक प्रतिनिधि अमर सुनारले बताए । बुहारीले शिक्षक हत्या गरेपछि गुराँस गाउँपालिका-८ छोटेपोखराका नवलसिंह खड्का, नवलसिंहकी श्रीमती डिलसरा खड्का, कान्छो छोरा दीर्घबहादुर खड्काको ४ जनाको परिवार समेत ६ जना विस्थापित छन् ।

आफ्नो घरमा बस्न कोशिस गर्नैपर्छ भनेर गत मंसिर २५ गते घर पुगेका मुनाका सासुससुरा नवलसिंह र डिलसरालाई मृतक शिक्षक नगेन्द्रको श्रीमती कृष्णाकुमारी र बुहारीले कालोमोसो दलेर दुव्र्यवहार गरेको स्थानीयको भनाई छ । नवलसिंहले आफ्नो घरमा बस्न पाउनु पर्ने भन्दै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगमा लिखित र मौखिक उजुरी गरेका छन् ।

महिलालाई कारावास, परिवारको उठिवास

तीन करोड नजिक नेपालको जनसंख्या (पूर्ण पाठ)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!