कर्णालीमा पत्रकारिताको विकास र वर्तमान अवस्था

युवराज शर्मा ।
नेपालको पश्चिम उत्तरमा रहेको कर्णाली प्रदेश भूभागका दृष्टिले अन्य प्रदेशभन्दा ठूलो प्रदेश हो । नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको यो प्रदेशलाई नेपाल एकिकरणपूर्व पनि कर्णालीमा पत्रकारिताको विकास र वर्तमान अवस्थामा पत्रकारिताको विकास र वर्तमान अवस्था प्रदेशकै नामले चिनिन्थ्यो । यो प्रदेश कला, साहित्य, संस्कृति, जल, जमिन र जडिबुटिका लागि प्रख्यात छ । भौगोलिक विविधताले भरिपूणर् यो प्रदेशमा विभिन्न जातजातीका आफ्नै भाषा, संस्कार, गीत, सङ्गीत र नृत्यहरुको खानी नै छ ।

नेपालमा सङ्घीय राज्य व्यवस्था स्थापना भएपछि विभाजित सातवटा प्रदेशमध्येको एक प्रदेश हो, कर्णाली प्रदेश । साविकको कणर्ाली अञ्चलका पा“च जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटका साथै भेरीका सुर्खेत, दैलेख, जाजरकोट,राप्तीका सल्यान र पश्चिम रुकुम गरी दशवटा जिल्ला मिलाएर यस प्रदेशको निर्माण भएको छ । यस प्रदेशमा २५ नगरपालिका र ५४ गाउ“पालिका गरी जम्मा ७९ स्थानीय तहहरु रहेका छन् ।

सञ्चार

अखबारको समकक्षी शब्दका रुपमा संस्कृत शब्द पत्रको प्रयोग गरी त्यससम्बन्धि विधालाई पत्रकारिता भनिएको हो । पत्रकारिता शब्दले रेडियो, टेलिभिजन र अनलाइनमार्फत सूचनामूलक सामाग्री प्रशारण गर्ने कामलाई पनि बुझाउँछ । पत्रकारिता एक पेशा हो, जसको सम्बन्ध हरेक जीवनसँग छ । पत्रकारिताको उद्देश्य एउटा आदर्श समाजको स्थापना गर्नु हो ।

सामान्यतया पत्रकारिता भन्नाले आमसञ्चारमाध्यमहरुमार्फत आमजनतालाई विविध विषयबारे जानकारी दिने कार्य हो । पत्रकारिताले मूलतः आफ्ना लक्षित समूहलाई सूचना दिने, शिक्षा दिने, मनोरञ्जन दिने र उत्प्रेरित गर्ने कार्य गर्दछ । आजको पत्रकारिता आवाजविहिनहरुको आवाज हो । यसले सत्य तथ्य, सन्तुलन र विश्वसनीयतालाई आफ्नो मूल मर्म बनाएर पछि पारिएका दूरदराजका मानिसहरुको आवाज मुखरित गर्ने गर्दछ । पत्रकारिता एकप्रकारको कला हो भने पत्रकार एकप्रकारको कलाकार । पत्रकारले दिनभरिका घटनाहरु, घटनासम्बन्धि समाचार एवम् नयाँ परिवर्तनका सम्बन्धमा आफ्नो विचार र त्यससम्बन्धि विश्लेषणसमेत प्रस्तुत गर्दछ ।

पत्रकारिताका माध्यमबाट जनमत निर्माण गर्नुका साथै सरकारलाई समेत सचेत पार्न सकिन्छ । त्यसैलेसच्चा पत्रकारितालाई राष्ट्रको पहरेदार पनि भनिन्छ । तसर्थ सञ्चार माध्यमबाट समाजमा भएका वा भइरहेका घटनाहरु, घटनासम्बन्धी विचारहरु, सूचना, दृष्टिकोण, ध्वनि एवम् दृश्यहरु सङ्कलनका साथै लेखन, सम्पादन, प्रकाशन वा प्रशारण कला नै पत्रकारिता हो ।

कर्णाली  प्रदेशमा पत्रकारिता

कर्णाली प्रदेशको इतिहासलाई हेर्ने हो भने पत्रकारिताको क्षेत्रमा परम्परागत माध्यमहरुको प्रयोग गरिएको पाइन्छ । कटवाल कराएर गाउ“बस्तिका सूचना दिने चलन अहिले पनि कतिपय ठाउ“मा कायमै छ । त्यसैगरी कर्नाल फुकेर, दमाहा, ढोलक र झ्याली बजाएर, शङ्ख फुकेर र बन्दुक पड्काएर साङ्केतिक रुपले सूचना दिने चलन पनि कायमै छ । हाल आएर सूचना र प्रविधिको क्षेत्रमा भएको द्रुततर विकासको उपयोग गर्दै यस प्रदेशमा पनि सञ्चारका आधुनिक माध्यमहरु सञ्चालनमा आएका छन् र यस्ता माध्यमहरु खुल्ने क्रम पनि जारी छ ।

उद्योग व्यवसाय, आयआर्जन, शिक्षा र जनचेतनाका हिसावले अन्य प्रदेशको दाँजोमा कर्णाली प्रदेश पछाडि छ । यस प्रदेशका १० जिल्लामध्ये दक्षिणको चुरे र महाभारत क्षेत्रमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुम जिल्ला पर्दछन् भने उच्च पहाडी तथा हिमाली क्षेत्रअन्तर्गत जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्ला पर्दछन् । यस प्रदेशका उच्च पहाडी भागका जिल्लाहरुको तुलनामा दक्षिणी भूगोलका जिल्लाहरुमा आधुनिक स्रोत साधनको उपलब्धता राम्रो देखिन्छ ।

सूचकाङ्कको अध्ययन गर्ने हो भने सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुममा १७ वटा दैनिक र ६ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशन भएको देखिन्छ भने एउटा रेडियो, २६ वटा एफ.एम रेडियो, चारवटा केवल टेलिभिजन र ४१ वटा अनलाइनहरु सञ्चालन भएको पाइन्छ । त्यसैगरी जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा चारवटा दैनिक, ६ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशन भएको देखिन्छ भने १९ वटा एफ.एम रेडियो, एउटा केवल टेलिभिजन र ११ वटा अनलाइनहरु सञ्चालन भएको पाइन्छ ।

कर्णालीमा जिल्लागत पत्रकारिताको अवस्थाः

सुर्खेतमा पत्रकारिता

सुर्खेतमा पत्रकारिताको विकास पञ्चायतपछि मात्रै भएको भएपनि सुरुवात भने पञ्चायतकालमा नै भएको पाइन्छ । वि.स. २०३५ सालभन्दा पहिले भाष्करदेव गिरीले सुर्खेतमा पहिलो प्रिन्टिङ्ग प्रेस ल्याएको र विभिन्न छपाईका काम त्यसबाट गरिएको पाइन्छ । यो प्रेसको नाम भाष्कर प्रिन्टिङ् प्रेस राखिएको थियो । वि.स. २०३९ सालमा टङ्कप्रसाद भट्टराईले आफ्नै सम्पादकत्वमा बुलबुले तालको नामबाट ‘बुलबुले’ नामक साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरे जसलाई सुर्खेतको पहिलो सम्पादक मानिन्छ ।

यो पत्रिका बाहेक पञ्चायतकालमा सुर्खेतमा अन्य पत्रिकाको स्थापना हुन सकेन । यस अघि नै (२०३९) सालमा सुर्खेतबाट केही व्यक्तिहरुले नेपाली काँग्रेसको मुखपत्र तरुणमा पञ्चायतका विरुद्ध समाचार लेख्ने गरेको पाइन्छ । मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि भने सुर्खेतमा मिडियाको स्थापना हुने क्रमले तीव्रता पायो ।२०४७ सालमा शुशेली साप्ताहिक पत्रिकाको स्थापना भयो । तत्कालिन समयका चिरञ्जीवी अर्यालले यो पत्रिका प्रकाशन गरेका हुन् । अर्याल नै पत्रिकाको प्रकाशकसँगै प्रधान सम्पादकसमेत थिए भने श्रीधर पौड्याल यस पत्रिकाका सम्पादक थिए । यो समयमा जनअधिकार साप्ताहिक पत्रिकाको समेत प्रकाशन भएको थियो । जसको सम्पादक भानुभक्त भारती थिए ।

वि.स. २०४८ सालमा धर्मेन्द्र बास्तोलाले सुर्खेतपोष्ट साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरे । हाल यो पत्रिका दैनिक भएको छ । यो समयावधिमा सुर्खेतमा स्व.टङ्ककप्रसाद भट्टराई, चिरञ्जीवी अर्याल, पीताम्बर ढकाल, श्रीधर पौड्याल, लिलाधर गौतम, भानुभक्त भारती, जीवनकुमार शाक्य, निरक केसी, नीलमणि सापकोटा लगायतले पत्रकारिता गरेको पाइन्छ । वि.स. २०४९ सालमा सुर्खेतमा नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा गठन गरियो । चिरञ्जीवी अर्यालको सभापतित्वमा गठन गरिएको शाखाको उपसभापति लिलाधर गौतम, सचिव भानुभक्त भारती र कोषाध्यक्ष श्रीधर पौड्याल थिए । वि.स. २०४९ फागुन ५ र ६ गते भएको महासङ्घको केन्द्रीय अधिवेशनमा सुर्खेत शाखाबाट पहिलोपटक सभापति चिरञ्जीवी अर्यालकासाथै बालाराम शर्मा र श्रीधर पौड्याल केन्द्रिय पार्षद चुनिएर अधिवेशनमा सहभागी भएका थिए ।

रेडियो नेपालले क्षेत्रीय प्रशारणको अवधारणा ल्याएपछि वि.स. २०४९ चैत्र २० गते सुर्खेतको कालागाउँमा क्षेत्रीय प्रशारण केन्द्र सुरु भयो । सुर्खेतमा अप्mसेट प्रेसको स्थापना भने २०५४ सालमा भएको हो । यो प्रेस कणर्ालीको पहिलो प्रेस हो । पीताम्बर ढकाल, चिरञ्जीवी अर्याल र श्रीधर पौड्यालले स्थापना गरेको यो प्रेस कमजोर व्यवस्थापनका कारण केही वर्ष चलेर बन्द भयो । यसै प्रेसबाट २०५५ सालमा पीताम्बर ढकालको सम्पादन र प्रकाशन, सहसम्पादक रामबहादुर थापा (भक्तपुर) र यादव देवकोटा काठमाण्डौंको सम्पादन सल्लाहकारमा भेरी साप्ताहिक पत्रिकाको प्रकाशन प्रारम्भ भयो । यो साप्ताहिक २०५८ चैत मसान्तसम्म प्रकाशन भएपनि त्यसपछि बन्द भयो । तर २०५९ देखि केही समय नमराज शर्माले यो पत्रिका प्रकाशनमा ल्याए । यो पनि बन्दभयो । अहिले लोकमञ्च लगायत बगे्रल्ती अफसेट प्रेसहरु सुर्खेतमा रहेका छन् ।

वि.स. २०५८ सालमा जिल्लाकै पहिलो दैनिकका रुपमा काँक्रेविहार दैनिकको स्थापना भयोे । यसपछि भने सुर्खेतको पत्रकारितामा उल्लेखनीय विकास भएको पाइन्छ । वि.सं. २०६० मा जिल्लाको पहिलो एफएम रेडियोको रुपमा रेडियो भेरी एफएमको स्थापना भयो । बुलबुले दैनिकको प्रकाशन सुरु भयो । २०६३ तिर यो पत्रिका निकै लोकप्रियसमेत बन्यो । हाल यो बन्द अवस्थामा छ । २०६० सालपछि भने मिडिया स्थापना हुने लहर नै चल्यो । बुलबुले एफएम, जागरण एफएम, रेडियो सुर्खेत एफ. एम. र प्रदेश एफ.एमले आफ्नो प्रशारण सुरु गरे । त्यस्तै युगआव्हान, काँक्रेविहार, लोकमञ्च, हाम्रो नयाँ नेपाल, लगायतका पत्रिकाहरुले पनि दैनिक प्रकाशन सुरु गरे । माओवादी शान्तिप्रकृयामा आएसकेपछि हिमाल एफएमको प्रशारणसमेत सुरु भयो ।

केही व्यक्तिहरुको पहलमा केवुल टेलिभिजन रारा र इन्द्रेणीको सुरुवात भयो तर यी टेलिभिजन हाल बन्द भएका छन् । पुनः केही युवाको पहलमा सुनगाभा टिभीको प्रशारण भएको छ । त्यस्तै समावेशी केवुल टिभी र देउती खबर टेलिभिजन पनि खुले । सुर्खेतमा हाल बाह्रवटा दैनिक र एउटा साप्ताहिक पत्रिका, एउटा रेडियो, सातवटा एफ.एम.रेडियो, तीनवटा केवल टेलिभिजन र १० वटा अनलाइन नियमित सञ्चालनमा छन् ।

दैलेखमा पत्रकारिता

२०५५ अघि दैलेखमा टेलिफोन पहुँचमा धेरै नागरिक थिएनन् । सञ्चारको काम गर्ने पत्रकारहरूको अभाव थियो । प्रजातन्त्र अघिको पञ्चायतताका पुण्य रेग्मीले राष्ट्रिय समाचार समिति (रासस) मा दैलेख प्रतिनिधि भएर काम गरेको पाइन्छ । प्रजातन्त्रको वहालीपछि २०४८ सालमा भेषराज थापा राससको जिल्ला समाचारदाता बनेका थिए । २०५० ताका टीकाराम शर्माले पनि राससमा काम गरेको देखिन्छ भने सुरेन्द्र अधिकारीले जनआस्था र दृष्टि पत्रिकामा काम गरेको पाइन्छ ।

२०५१ मा राससमा अमर सुनार र रेडियो नेपालमा स्वर्गीय डेकन्द्र थापाले रिर्पोटिङ्ग गरेका थिए । पहिले आ. वा(आकाश वाणी) बाट समाचार पठाउनुपर्ने वाध्यता थियो भने टेलिफोन सेवा सुरु भएसगैं फ्याक्सबाट समाचार पठाउन थालेपछि यसले पत्रकारिता फस्टाउनमा ठूलो मद्दत पुग्यो । वि.सं. २०५५ सालमा नेत्र केसी रेडियो नेपालको जिल्ला सम्वाददाता भई झण्डै एक वर्षसम्म काम गरे ।

२०६४ सालमा धमाका दैनिक प्रकाशन भयो । जुन दैलेखको पहिलो दैनिक पत्रिका हो । यसबीचमा अर्जुनदृष्टि, खोजपत्र साप्ताहिक, द्रोणाचल साप्ताहिक केही वर्ष प्रकाशित भए । हाल ती पत्रिका बन्द छन् । हाल धमाकासँगै पञ्चकोशी खबर दैनिक, ज्वाला सन्देश दैनिक, नौमूले पोष्ट साप्ताहिक, हाम्रो तेस्रो आँखा पत्रिका नियमित प्रकाशनमा छन् । रेडियोतर्फ २०६४ सालमा स्थापना भएको पञ्चकोशी एफएम हाल बन्द छ । जुन दैलेखको पहिलो एफएम रेडियो हो । सदरमुकाम दैलेखबजारबाट ज्वाला एफएम, धु्रवतारा एफएम र दुल्लू नगरपालिकाबाट दुल्लु एफएम सञ्चालनमा छन् । २०६६-६७ सालमा सञ्चालित पञ्चकोशी टेलिभिजन हाल बन्द छ । दैलेखमा हाल तीनवटा दैनिक पत्रिका, तीनवटा साप्ताहिक पत्रिका, तीनवटा एफ.एम.रेडियो, र चारवटा अनलाइन सञ्चालित छन् ।

२०५८ साल माघ २८ गते पहिलोपटक दैलेखमा नेपाल पत्रकार महासङ्घको शाखा गठन भयो । २०५८ सालमा तदर्थ समितिको सभापति अमर सुनार थिए । हाल यज्ञराज थापाको अध्यक्षतामा रहेको कार्यसमिति क्रियाशल छ । दैलेखमा नेपाल पत्रकार महासङ्घकासदस्यहरु ८२ जना छन्।

जाजरकोटमा पत्रकारिता

सञ्चारका आधुनिक माध्यमहरुको विकास नहु“दासम्म जाजरकोटमा परम्परागत सञ्चारबाटै सूचनाको आदान-प्रदान गर्ने चलन थियो । त्यतिबेला कटुवाले कराउने, बाजा बजाउने, कर्नाल फुक्ने, शङ्ख फुक्नेजस्ता परम्परागत सञ्चार माध्यमको प्रयोग हुने गथ्र्यो । मस्टो देवताको थान मान्ने दिन अहिले पनि कफल्नामा कर्नाल बजाउ“ने चलन छ । राजनीतिक विकास र समृद्धिबारे विगतदेखि नै अभिलेख नभएको जाजरकोटमा सूचना प्रविधि र सञ्चार विकासको अभिलेख पनि छैन । जिल्लाको सामाजिक, आर्थिक र राजनैतिक विकासको सहयोगी सञ्चारको इतिहास हेर्दा वि.सं. २०३९ सालमा पहिलोपटक लिथो मेसिनबाट प्रकाशित मालिका नै जिल्लाको पत्रकारिताको जग भएको प्रमाण भेटिन्छ ।

जाजरकोटमा २०३९ सालमा लिथोबाट प्रकाशित भएको मालिका पत्रिकापछि २०५१ सालमा प्रकाशित इन्द्रेणी, २०५६ सालमा प्रकाशित युवा आव्हान, २०५८ देखि केहि वर्षसम्म प्रकाशित जाजरकोट सन्देश, २०५९ सालमा प्रकाशित कन्दरा, २०६० सालमा प्रकाशित सिर्जनाका पाइलाहरु, २०६० सालमै प्रकाशित भरियालगायतका केहि साहित्यिक तथा अन्य पत्रपत्रिकाहरु र जिल्लाबाट केन्द्रिय मिडियाहरुमा रिपोर्टिङ्ग गर्ने पत्रकारका कारण जिल्लाको पत्रकारिताले गति लिएको पाइन्छ ।

२०६२ साल मङ्सिरमा नेपाल पत्रकार महासङ्घको स्थापना भएको देखिन्छ । दिनेशकुमार चौधरीको सभापतित्वमा नेपाल पत्रकार महासङ्घ जाजरकोटको तदर्थ समिति बनेको र त्यसको लगत्तै भएको प्रथम अधिवेशनबाट दिनेश चौधरीकै सभापतित्वमा नयाँ कार्यसमिति बनेको पाइन्छ । हाल वालकुमार शर्माको अध्यक्षतामा रहेको कार्यसमिति क्रियाशील छ । यहि अवधिमा जाजरकोटबाट प्रकाशन भएका खलङ्गा दर्पण, युवा आवाज र पछिल्लो चरणमा दैनिक पत्रिकाको रुपमा प्रकाशित भेरी मालिका दैनिक र सुर्खेतमा केन्द्र भएर जाजरकोटवाट पनि प्रकाशित भइरहेको युगआव्हान दैनिकलगायतका पत्रिका प्रकाशनमा छन् ।

त्यसैगरी खलङ्गा एफ.एम, जाजरकोट एफ.एम र रेडियो हाम्रो पाइला सञ्चालनमा छन् भने रेडियो पृथ्वी एफ.एम प्रशारणको तयारीमा छ ।
त्यसैगरी जाजरकोटमा पछिल्लो प्रविधिको विकाससँगै अनलाइन पोर्टलहरु पनि सुरु भएका छन् । यस्ता अनलाइनहरुमा नेपाल पोष्ट खबर, कुशेमालिका अनलाइन, डिजिटल सञ्चार, प्रवाह डटकम, भिजन खबर, च्वाइस खबर, हाम्रो पहुँच, बोल्ड खबर, कुशे न्युजलगायत छन् ।

सल्यानमा पत्रकारिता

आधुनिक प्रविधिको विकास हुनुअघि सल्यानमा परम्परागत रुपले सञ्चार गर्ने चलन थियो । नेपालमा पत्रकारिता सुरु भएको झण्डै ६५ वर्षपछि मात्र सल्यान आधुनिक पत्रकारितामा प्रवेश गरेको इतिहास फेला परेको छ । २०२० सालमा सल्यान बुलेटिन प्रकाशन भएको पाइन्छ । वासुदेव शर्माले सम्पादन गर्नुभएको सल्यान बुलेटिन पत्रिका सल्यानको पहिलो पत्रिका हो । भारतको लखनउमा मुद्रित पत्रिका सामाचारमूलक रहेको थियो । वि.स. २०२१ सालमा मरिचमान सिंहको सम्पादनमा राप्ती दर्पण नामक पत्रिका प्रकाशन भएको थियो । राप्ती दर्पण २०२१ देखि निरन्तर २०४५ सम्म प्रकाशन भएको देखिन्छ ।

जिल्लामा सामाचारमूलक पत्रिका निरन्तर प्रकाशन नभएपनि साहित्यिक, विचारप्रधान र सङ्घ सङ्गठनका मुख्यपत्रहरु प्रकाशन भएको पाइन्छ । सल्लेरी साहित्यिक परिवारले २०३६ सालमा साहित्यिक पत्रिका प्रयास प्रकाशन गरेको थियो । अमर शाह (भल्चौर) र नेत्रलाल श्रेष्ठ (खलङ्गा) को साहित्यिक समूूहद्वारा प्रकाशित पत्रिकाको सम्पादन मोहनसिंह थापा र उषा हमालले गरेका थिए । यस्तै सल्यान क्याम्पसको मुखपत्र चिन्तन, सल्यानी समाज काठमाडौँको नवसिर्जना, महाकवि लक्ष्मीप्रसाद प्रतिमा संरक्षण समितिले लक्ष्मीप्रसाद देवकोटा स्मारिका, प्रगतिशील सल्यानी मञ्च काठमाडौँले चेतना, जनकल्याण मा.वि का विद्यार्थीहरुले नयाँ चेतना (भित्ते पत्रिका), मौसमदास श्रेष्ठको सम्पादनमा पञ्चरत्न, नेकपा एमाले सम्पर्क मञ्चले सूर्यध्वजा पछि सिर्जना र नवसिर्जना, प्रकाशन गरेको पाइन्छ ।

आरोहण साहित्यिक परिवारले पूणर् भण्डारी (पङ्कज) सम्पादक रहेको कदम साहित्यिक पत्रिका,कल्पना सेजवालले बालआवाज, नेपाली काँग्रेस सल्यान काठमाण्डाँै सम्पर्क समितिले शारदा, नेकपा माले सल्यान काठमाण्डौँ सम्पर्क समितिले चुनौती, सल्यान सरोकार समाज काठमाण्डौँले सल्यानी आवाज, अनेरास्ववियू (क्रान्तिकारी) सल्यानले शाकुसन्देश प्रकाशन गरेको देखिन्छ ।

शालिकराम शर्मा प्रधान सम्पादक र प्रतिक इच्छुक शर्मा सम्पादक रहेको सल्यानी सन्देश राष्ट्रिय साप्ताहिक, सल्यानी साहित्यिक समाजले प्रारम्भ, सल्यानी विद्यार्थी मञ्च दाङले सल्यानी आवाज, हाल सल्यानी शुशेली, असल शासन युवा क्लवले असल शासन आवाज प्रकाशन गरेको पाइन्छ । त्यसैगरी सल्यान पोष्ट साप्ताहिक, समावेशी आवाज, उज्यालो सामाचार साप्ताहिक, दर्पण साहित्यिक त्रैमासिक, कुमाख खबर पत्रिका प्रकाशन भएपनि निरन्तरता पाउन सकेनन् । प्रकाशित भएका पत्रिकामध्ये सल्यानी सन्देश राष्ट्रिय साप्ताहिक बाहेक अन्य सबै पत्रिका हाल बन्द अबस्थामा रहेका छन् ।

सल्यानमारेडियो राप्ती एफ.एम.(१०४.८), रेडियो तहल्का (९१.९), रेडियो मध्यपहाड (८८.२), शारदा एफ.एम.(९९.२) सञ्चालनमा छन् । त्यसैगरी तहल्का अनलाइन, दियो अनलाइन र लेकाली अनलाइन क्रियाशील छन् ।सल्यानमा पहिलो पटक २०५२ मंसिर ४ मा हरिशरण आचार्यको अध्यक्षतामा शाखा गठन भएको इतिहास पाइन्छ भने अहिले महासंघमा आवद्ध पत्रकारहरुको सङ्ख्या ८१ रहेको छ ।

रुकुम पश्चिममा पत्रकारिता

आधुनिक सञ्चारमाध्यमको प्रयोग गरिनुअधि रुकुममा प्राचीनकालदेखि प्रयोगमा आएका सञ्चारमाध्यमको प्रयोगमार्फत सञ्चार हु“दै आएको थियो । जुन अहिले पनि प्रयोगमा छ ।रुकुममा हातैले लेखेर पत्रिका तयार गरी (हाते पत्रिका) भित्तामा टाँस्दै पत्रकारिता गरेको इतिहास छ । पछि आएर हाते पत्रिकालाई फोटोकपी गरेर मानिसका हात-हातमा दिने चलन सुरु भएको पाइन्छ । नेपाल टेलिकमको रुकुम कार्यालयमा रहेको एकमात्र टेलिफोनबाट मौखिक रुपमा काठमाडौंमा समाचार टिपाइन्थ्यो ।

त्यसैगरी समाचार पठाउन रुकुमदेखि काठमाण्डौं चल्ने रात्रीबसको प्रयोग गरिन्थ्यो । हुलाक र कुरियर गरेर पनि समाचार पठाउनुपर्ने बाध्यता थियो । त्यसपछि भने लिथो, टाइपराइटर हुँदै कम्प्यूटर र छापाखानाको प्रयोग गरी पत्रिका छाप्ने प्रचलन सुरु भएको पाइन्छ । रुकुममा पत्रिका छाप्ने सुविधा नभएको बेला बाँकेको नेपालगञ्जबाट पत्रिका छापेको अनुभव रुकुम पश्चिमको पत्रकारितासँग छ । हालसम्म जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा २९ वटा पत्रिका दर्ता भएका छन् ।

जिल्लाको पहिलो पत्रिकाको रुपमा जन्तीधारा साप्ताहिक पत्रिका प्रकाशन भएको पाईन्छ । २०६१ जेठ २ गते दर्ता भएर नारायणकुमार शाहको प्रकाशन सम्पादनमा उक्त पत्रिका प्रकाशन भएको हो । त्यसअघि केहि दर्ता बिनाका राजनीतिक तथा अन्य मुखपत्रहरु प्रकाशन हुने गरेको पाईन्थ्यो । जन्तीधारालगतै कणर्बहादुर नेपालीको सिस्ने ट्रिव्यून साप्ताहिक र विनोदकुमार मल्लको प्रेरणा मासिकलगायतका पत्रिकाहरु प्रकाशन भएको देखिन्छ ।

शुरुवातमा दर्ता भएका धेरै पत्रिकाहरु हाल बन्द भएका छन् । हाल दुई वटा साप्ताहिक पत्रिकाहरु आहा सञ्चार साप्ताहिक र रेखदेख साप्ताहिक नियमित प्रकाशन भैरहेका छन् । यसबाहेक केहि मासिक, त्रैमासिक र वार्षिक पत्रिकाहरु पनि प्रकाशन भइरहेका छन् । रुकुममा हाल सातवटा रेडियो प्रशारणमा छन भने एउटा प्रशारणको तयारीमा छ । रेडियो सानीभेरी जिल्लाको पहिलो रेडियो स्टेशन हो । त्यसपछि रेडियो सिस्ने, रेडियो उत्तरगंगा, रेडियो युनिक, रेडियो गेमीत्रिवेणी, रेडियो चौरजहारी र रेडियो आप्mनो एफ.एम सञ्चालनमा आए । त्यसैगरी सानीभेरी गाउँपालिकाबाट रेडियो मौराखारा प्रशारण हुने तयारीमा छन् । जिल्लामा कुनैपनि टेलिभिजन प्रशारणमा छैनन् ।

जुम्लामा पत्रकारिता

वि.स. २०२६ सालमा काठमाण्डौमा अध्ययनको शिलशिलामा पत्रकार रत्नाकार देवकोटाले बेन्नु नामक पत्रिका प्रकाशन गर्नुभएको थियो । त्यसपछि जुम्लामा काम गर्ने विषयमा वि.सं. २०२७ सालमा वरिष्ठ पत्रकार भैरव रिसाल जुम्ला आउ“दा रमानन्द आचार्यलाई राष्ट्रिय समाचार समितिमा काम गर्न लगाईएको इतिहास छ । वि.सं. २०२८ सालमा रत्नाकर देवकोटाले राससको नियुक्ति लिएर पत्रकारिता गरे । स्वर्गीय रत्नाकर देवकोटाले तत्कालिन अञ्चल कार्यालय जुम्लामा कार्यालय स्थापना गरेपछि राष्ट्रिय समाचार समितिमा धेरै पत्रकारले काम गर्ने अवसर पाए ।जुम्लामा कणर्ालीको सन्देश साप्ताहिक पत्रिका दर्ता भयो ।

प्रकाशक तथा प्रधान सम्पादक नरेन्द्रनाथ योगी रहेको कणर्ालीको सन्देस साप्ताहिक हालसम्म निरन्तर सञ्चालन भईरहेको छ । जुम्लामा अप्mसेट प्रेस नभएपछि नेपालगञ्जबाट प्रकाशित भई सेवा प्रवाह गर्दै आईरहेको कर्णालीको सन्देश साप्ताहिकपछि अहिले दैनिक पत्रिकाहरु पनि सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका विभिन्न १० वटा पत्रिकामध्ये चारवटा दैनिक पत्रिका दर्ता भएका र हाल तीनवटा दैनिक पत्रिका सञ्चालनमा रहेका छन् । वि.सं २०७१ सालमा प्रकाशित कर्णाली सरोकार दैनिक जुम्लाकै पहिलो दैनिक पत्रिका हो, यो निरन्तर प्रकाशन भईरहेको छ । पछिल्लो समय कणर्ाली पोष्ट दैनिक, माउण्टेन टुडे दैनिक पत्रिकापनि प्रकाशन भईरहेका छन् । त्यस्तै साप्ताहिक पत्रिका कणर्ालीको सन्देश साप्ताहिक, बिहानीको तारा र कर्णालीको खोजखबर पत्रिका प्रकाशन भईरहेका छन् । हाल प्रकाशनको तयारीमा रहेको खस शब्दको खसिया आँखर पुस्तकका सम्पादक रमानन्द आचार्यका अनुसार वि.सं. २०२६ सालमा तत्कालिन जुम्लाका अञ्चलाधीश बद्रीविक्रम थापाको सहयोगमा लिथोबाट कणर्ाली समाचारपत्र प्रकाशन गरिएको थियो ।

वि.सं. २०६१ सालमा जुम्लामा रेडियो कणर्ालीको स्थापना भएपछि रेडियो पत्रकारितासँगै रेडियो पत्रकारहरुको जन्म हुने क्रम बढ्यो । कर्णालीकै पहिलो रेडियोको रुपमा रेडियो कणर्ाली र त्यसपछि रेडियो नारीआवाज, रेडियो सिञ्जा, रेडियो खुला आकाश, रेडियो गुठिचौर रिले स्टेशन, रेडियो माउण्टेनसहित अहिले ६ वटा रेडियोहरु स्थापना भएका छन् । जुम्लाबाटै अहिले आधा दर्जन अनलाईनहरु क्रियाशील छन् ।

नेपाली पत्रकारहरुको छाता सङ्गठन पत्रकार महासङ्घको स्थापना वि.सं २०६० सालमा भयो । संस्थापक सभापति नरेन्द्रनाथ योगीसहित भीम कसिंगर, बरमबहादुर महतले महासंघको नेतृत्व गर्नुभयो । वि.स २०७७ साल चैत्र २५ गते सम्पन्न महासङ्घको जिल्ला अधिवेशनबाट गोरखापत्रमा कार्यरत पत्रकार नेत्रबहादुर शाही अहिले महासङ्घ जुम्लाको अध्यक्ष छन् ।

हुम्लामा पत्रकारिता

शीर्ष सदरमुकाम नामक कर्मचारीहरुको मुखपत्रबाट हुम्लामा शुरु भएको छापा पत्रकारिता २०५६ सालमा मुकुन्द भण्डारीको हिमाली मुस्कान नामक मासिक पत्रिकाको प्रकाशन भएपछि थप विकसित भएको देखिन्छ ।आधुनिक पत्रकारिताको कोषेढुङ्गाका रुपमा स्थापित भएको बेन्नु, दुवोबाट हुम्लाको पत्रकारिताले थप मौलाउने अवसर पाएको देखिन्छ । हाल हुम्लामा चारवटा एफ.एम. रेडियो (रेडियो कैलास एफ.एम., रेडियो कर्णाली एफ.एम. र रेडियो श्रीनगर एफ.एम.) सञ्चालित छन् भने एउटा रेडियो सञ्चालनको पक्रियामै रहेको छ । जिल्लामा तीनवटा दैनिक पत्रिका दर्ता भएका छन् ।

दर्ता भएका चारवटा साप्ताहिक पत्रिकामध्ये दुईवटाको प्रकाशन भइरहेको छ । मासिक पत्रिका ६ वटा दर्ता छन् भने एउटा खारेज भएको छ । तीनवटा अनलाईन दर्ता छन भने सञ्चालनमा रहेर पनि पा“चवटा दर्ता हुन बाँकी छन् । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको स्थापना वि.सं. २०५८ सालमा भएको हो । महासङ्घ जिल्ला शाखाको संस्थापक अध्यक्ष जयबहादुर रोकाया हुन । हुम्लाकै पहिलो एफ.एम.कैलाश, साविक कर्णाली अञ्चलको सबैभन्दा पहिला दर्ता भएको पत्रिका हिमाली मुस्कान मासिकका व्यवस्थापक भएर पनि जयबहादुर रोकायाले काम गरेका छन् ।

रोकायाले कर्णालीको साझा आवाजको रुपमा प्रकाशन हुने बेन्नु पत्रिकामा आवद्ध भएर जे.बी प्यासीको उपनाममा लेख रचना पनि प्रकाशन गरे । २०२४ सालपछि कर्णालीका जागरुक युवाहरुको समूहले शुरुवात गरेको बेन्नु पत्रिकाको मुख्य व्यवस्थापन समूहमा रहेर उनले पत्रकारिताको इतिहास रचेको देखिन्छ । हाल हुम्ला जिल्लाबाट ९ देखि १० जना क्रियाशील पत्रकार रहेका छन् । ३२ जनाले रातो प्रेस पास लिएका छन् भने महासङ्घमा ३२ जनाले सदस्यता लिएका छन् ।

मुगुमा पत्रकारिता

मुगुमा दुरसञ्चारले आ.वा (आकाशवाणी) सेवा दिएपछियसकै प्रयोग गरेर र हुलाकमार्फत चिठ्ठीपत्र पठाएर सञ्चार गर्न थालियो । यहि चरणबाट मुगुमा पत्रकारिताको सुरुवात भएको पाइन्छ । त्यसपछि विकास भएको टेलिफोन र प्mयाक्स प्रविधिको प्रयोग गरेर मुगाली पत्रकारहरुले केन्द्रीय मिडियामा रिर्पोटिङ्ग गर्ने गरेका थिए । वि.सं. २०६३ सालमा वीरबहादुर बम प्रकाशक र जीवन सेजुवाल सम्पादक रहेको रारा रैवार मासिक पत्रिकाको प्रकाशन सुरु भयो । सुरुमा यो पत्रिका नेपालगञ्जमा छापिन्थ्यो । जुम्लामा छापाखाना स्थापना भएपछि जुम्लाबाट छापिन सुरु भएको यो पत्रिका साप्ताहिक हु“दै दैनिक रुपमा प्रकाशन भएको थियो । यो पत्रिका हाल प्रकाशनमा छ्रैन । योस“गै रारा टाइम्स साप्ताहिक र मुगु खबर साप्ताहिक प्रकाशनमा आएपनि अहिले प्रकाशन हुन छोडेका छन् ।

२०६२/०६३ को राजनैतिक परिवर्तनपछि रेडियो रारा एफ.एम., रेडियो मुगु एफ.एम., रेडियो सौर्यदय एफ.एम. र रेडियो खेस्मामालिका सञ्चालन भए । एउटा नया“ एफ.एम. रेडियो स्थापना हुने प्रक्रियामा रहेको छ भने रेडियो राराको प्रशारण बन्द छ । त्यस्तै अनलाइन पोर्टलमा रारा रैवार डट कम सञ्चालमा आयो र हाल यो पनि बन्द भएको छ । वि.सं. २०६१ सालमा विनोद मल्लको सभापतित्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरेपछि नेपाल पत्रकार महासङ्घ मुगु शाखाको स्थापना भएको हो । जसको सचिवमा जीवन सेजुवाल र कोषाध्यक्षमा राजबहादुर शाही रहेका थिए । हाल नृपेन्द्र मल्लको अध्यक्षतामा रहेको कार्यसमिति क्रियाशील छ । मुगुमा नेपाल पत्रकार महासङ्घका २१ जना सदस्य छन् ।

डोल्पामा पत्रकारिता

कान्तिपुर दैनिकले २०५५ फागुन ५ गते विष्णुलाल बुढालाई जिल्ला समाचारदाता नियुक्त गरेपछि डोल्पामा आधुनिक पत्रकारिताको चरण सुरु भएको हो ।२०५६ मा राष्ट्रिय समाचार समितिले डोल्पा प्रतिनिधिमा विष्णुप्रसाद देवकोटालाई नियुक्ति गरेपछि यहा“को पत्रकारिता थप बलियो भयो । त्यससँगै २०५७ मा विभिन्न राष्ट्रिय दैनिक समाचारपत्रमा खड्क शाही, हिमालय टाइम्समा इन्द्र हिराचन, स्पेश टाइममा होमबहादुर डाँगी, राजधानी दैनिकमा सुदिप गुरुङले पत्रकारिता सुरु गरेका थिए ।

त्यतिबेला सार्वजनिक रुपमा टेलिफोन वितरण गरिएको थिएन, त्यसैले फ्याक्स चल्ने कुरै भएन । सुरुका दुई बर्ष समाचार हुलाकबाट नेपालगञ्जस्थित कान्तिपुर पत्रिकाको कार्यालयमा पठाइन्थ्यो । पछि दुरसञ्चारमा र त्यसको केही समयपछि जिल्ला प्रशासन कार्यालयमा टेलिफोन जडान भएपछि केही समयसम्म त्यही फ्याक्सबाट प्रतिमिनेट १२ रुपैयाँ तिरेर फ्याक्स गरेर पत्रकारिता धानियो । फ्याक्स पनि एकदमै क्यार, क्यार गरेर ढिलो जाने, त्यही पनि कहिले इरर आउने, इररको पनि पैसा तिर्ने गरिन्थ्यो ।

यसैबीचडोल्पामा विष्णुलाल बुढाको प्रकाशन र ईश्वरी ज्ञवालीको सम्पादकत्वमा २०५८ असोज ५ गते हिमाली सुस्केरा पाक्षिक पत्रिकाको प्रकाशन सुरु भयो । त्यतिबेला समाचार लेखेर तयार पारिएको प्लेट हुलाक तथा जहाजबाट नेपालगञ्ज पठाएर छाप्ने गरिन्थ्यो । पत्रिका प्रकाशन सुरु भएको भएपनि समाचार सङ्कलन, सम्पादन गरी हुलाकबाट नेपालगञ्ज पठाएर प्रकाशन गर्ने गरियो । केही समय प्रकाशन हुन नसकेका पत्रिका सङ्कटकाल हटेपछि पुनः प्रकाशन हुन थाले । २०६३ सालमा हिमाली सुस्केरा अफ्सेट प्रेस स्थापना भयो र पत्रिका जिल्लाबाटै प्रकाशन हुन थाल्यो ।२०६७ साउन १७ गतेबाट साप्ताहिक रुपमा प्रकाशन हुन थालेको यो पत्रिका हालसम्म नियमित छ ।

सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) ले २०६८ मा सामुदायिक रेडियो डोल्पा एफ.एम.१०१.४ मेगाहर्ज स्थापना गर्‍यो । यो रेडियो हालसम्म नियमित प्रशारण भैरहेको छ । त्यसैगरी जुफाल स्टेशन बनाएर २०७३ मा रेडियो त्रिपुरा एफ.एम. स्थापना भयो । केही महिनादेखि यो त्रिपुरा एफ.एम. प्रशारणमा छैन् । उता मुड्केचुला गाउँपालिकाले गाउँपालिकाकै बजेटबाट रेडियो मुड्केचुला स्थापना गरेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पनिरेडियो स्थापना हुन लागेको छ । यसैगरी पछिल्लो समय डोल्पामा जैतुन मिडिया, फोक्सुण्डो न्यून, नेपाल ब्रिक आदि डोमेनबाट अनलाइन चलिरहेका छन् भने अनलाइन र रेडियोहरु खुल्ने क्रम पनि बढेको छ । डोल्पामाहाल एउटा पत्रिका, तीनवटा एफ.एम. र चारवटा अनलाइन सञ्चालनमा छन् ।

धेरै जनाले पत्रकारिता गर्ने र छोड्ने गरेको घएपनि सुरुमा पत्रकारिता गर्ने विष्णुलाल बुढा र विष्णुप्रसाद देवकोटा भने हालसम्म निरन्तर पत्रकारितामै रहेका छन् । २०६३ सालमा नेपाल पत्रकार महासङ्घ डोल्पाको स्थापना भयो । हाल डोल्पामा नेपाल पत्रकार महासङ्घका ४० जना सदस्य छन् ।

कालीकोटमा पत्रकारिता

साविक कर्णाली अञ्चलकै पहिलो साप्ताहिक पत्रिकाको रुपमा कालीकोटबाट नवराज शर्मा वशन्त प्रकाशक/सम्पादक रहेको कदम साप्ताहिक प्रकाशन हुन थाल्यो । फोन, प्mयाक्स नहु“दा यहा“का सञ्चारकर्मीले सुर्खेत र नेपालगञ्जबाट खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री बोकेर आएका हेलिकोप्टरमा समाचार पठाएर सुर्खेत र नेपालगञ्जबाटै फ्याक्स लगाउनुपर्ने बाध्यता थियो । युद्धरत अवस्थामै माओवादीले डोकोमा ट्रान्समिटर बोकेर एफ.एम. सञ्चालन गर्ने, पत्रिका प्रकाशन गरेर वितरण गर्ने, चिठ्ठीपत्र बोकेर कुदाउने सञ्चार समूह परिचालन गर्ने, माइकिङ्ग गर्ने, मशाल जुलुश प्रदर्शन गर्ने जस्ता कार्यहरु गरे ।

युद्धको अन्त्यस“गै नेपाल टेलिकमका टावरहरु पुनर्निर्माण भए । विद्युत सेवा नियमित भयो । सूचना नै शक्ति हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै कालीकोटमा कणर्ाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले २०६१ मा जुम्लामा रेडियो कणर्ाली र २०६४ चैत्र ३ गतेबाट कालीकोटको मान्ममा पहिलो एफ.एम. को रुपमा रेडियो नया“ कणर्ाली एफ.एम. सञ्चालनमा ल्यायो । कालीकोटमा हाल चार स्थानीय तहसहित नौवटा एफ.एम. रेडियो (रेडियो नया“ कर्णाली १०२.८, रेडियो नेपाली आवाज १०१.८, रेडियो चंखेली ९८.८, रेडियो मालिका ९७, रेडियो प्रदेश आवाज ९४, रेडियो पँलाता आवाज, रेडियो शुभकालिका एफ.एम., रेडियो सान्नी त्रिवेणी, रेडियो सुनथराली एफ.एम. (९०.६), रेडियो नेपालको रिले स्टेशन १०० मेगाहर्ज, हाम्रो कर्णाली खबर दैनिक पत्रिका, अभिभारा साप्ताहिक पत्रिका र ११ वटा अनलाइन (अनलाइन खबर डट कम, मिसन न्यूज डट कम, अप्रेशन खबर डट कम, दियो खबर डट कम, त्रिवेणी खबर डट कम, ज्वाला खबर डट कम, कर्णालीप्रेस डट कम, कर्णाली सञ्चार डट कम सञ्चालनमा छन् ।

२०६१ मा कालीकोटमा छरिएर रहेका पत्रकारलाई सङ्गठित गर्दै तुलाराम पाण्डेको सभापतित्वमा नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाको तदर्थ समिति गठन भयो । यसले २०६४ साल असोजमा जिल्ला शाखाको मान्यता प्राप्त गर्‍यो । पहिलो अधिवेशनबाट पुनः पाण्डेकै अध्यक्षतामा जिल्ला शाखाको गठन भएको थियो । २०७७ चैत्रमा सम्पन्न नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालीकोटको निर्वाचनमा कायम भएको पत्रकारको सङ्ख्या १०५ छ।

कर्णालीमा आमसञ्चारका चुनौतीहरु :

कर्णाली प्रदेशका सबै जिल्लाहरुको आमसञ्चार र पत्रकारिताबारे अध्ययन गर्दा सञ्चारकर्मीले पारिश्रमिक नपाउनु, पेशागत असुरक्षा हुनु, भौगोलिक कठिनाई, विद्युत सेवा सहज नहुनु, ईन्टरनेट सेवा प्रभावकारी नहुनु, गरिवी, अपर्याप्त लगानी, जनमुखी पत्रकारिताको अभ्यासमा कमी, दक्ष जनशक्तिको अभाव, पत्रकारितामा अनुसन्धानको अभाव, सामाजिक सञ्जालप्रतिको आकर्षण, निरन्तरता नहुनु, अस्वस्थ प्रतिष्पर्धा हुनु, सार्वजनिक खरिद ऐन विभेदकारी हुनु, समानुपातिक रुपले विज्ञापन वितरण नहुनु, पर्याप्त मात्रामा ठूलो आकारका अफसेट प्रेस नहुनु, प्रदेश र स्थानीय सरकारका कानूनहरु मिडियामैत्री नहुनु, बग्रेल्ती खुलेका अनलाइनहरु सूचना विभाग सञ्चार महाशाखामा दर्ता नभई सञ्चालन हुनुजस्ता चुनौती रहेको पाइयो ।

चुनौती समाधानका उपायहरु :

कर्णालीका सञ्चारकर्मीले भोग्नुपरेका चुनौती र तिनको समाधानका उपायका बारेमासञ्चार क्षेत्रमै आफ्नाे भविष्य खोजिरहेका सञ्चारकर्मीहरुले काम गरेवापतको पारिश्रमिक नपाउनु दुःखद कुरा हो । निश्चित कोषको व्यवस्थापनबाट यो समस्यालाई समाधान गर्न सकिन्छ ।सबै तहका सरकारसम्बद्ध निकाय र नेपाल पत्रकार महासङ्घका सबै तहका समितिले यसबारेमा अनुगमन गर्नुपर्ने देखिन्छ । समाचार प्रकाशन/प्रशारण गरेवापत सञ्चारकर्मीहरुमाथि विभिन्न समूहले हमला नै गर्ने समस्यालाई समाधान गर्न सञ्चारमैत्री कानुनको निर्माण गर्न सकिन्छ ।

पर्याप्त मात्रामा सडक र हवाई यातायातको व्यवस्थापन गर्न सकेमा भौगोलिक विकटताले खुम्च्याएको कणर्ालीको पत्रकारितालाई व्यवस्थित र विस्तार गर्न सकिन्छ । विद्युतको अभावमा कतिपय ग्रामिण वस्तिका मानिसहरुको विद्युतीय माध्यमहरुमा पहु“च पुगेको छैन् । त्यसैले प्रदेशका सबै गाउ“वस्तीहरुमा विद्युत सेवाको प्रभावकारी वितरण गरिनुपर्दछ । जनचेतना फैलाउने प्रभावकारी यन्त्र भनेकै सञ्चारमाध्यम हुन् । गरिवीकै कारण कतिपय मानिसहरुले यस्ता माध्यमको प्रयोग गर्न सकिरहेका छैनन् ।

त्यस्ता व्यक्ति र समुदायका लागि सरकारले सञ्चार माध्यमको व्यवस्थापन गरिदिनुपर्दछ । अपर्याप्त लगानीमै सञ्चारमाध्यम सञ्चालन गर्ने चलनले न त पत्रकारिता क्षेत्र हुर्कन पायो, न त सञ्चालकहरुको लगानीले प्रतिफल हासिल गर्‍यो । यस्तो समस्याबाट मुक्ति पाउन मिडियामा गर्ने लगानी बढाउन आवश्यक देखिन्छ । पत्रकारिता समाजको पहरेदार हो भन्ने उक्ति हामी सबै पत्रकारहरुले सुनिरहेकै कुरा हो तर पनि कणर्ाली प्रदेशको पत्रकारिताले यसलाई प्रभावकारी रुपले लागू गर्न सकिरहेको छैन ।

त्यसैले जनमुखी पत्रकारितामार्फत पेशागत उन्नयनमा लाग्ने हो भने पत्रकारिता पनि मर्यादित पेशाको रुपमा दर्ज हुँदै जान्छ । यो प्रदेशमा सञ्चालनमा रहेका सञ्चारमाध्यमले बौद्धिक र अनुभवप्राप्त जनशक्तिको अभावमा समाजसामु चिन्तन र मननयोग्य सामग्री पस्कन सकेका छैनन् । त्यसैले पत्रकारहरुले सम्बन्धित विषयमा शैक्षिक उपाधि हासिल गर्नुपर्दछ र बेलाबेलामा तालिमहरुको आयोजना गर्न सम्वन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । आजको पत्रकारिता क्रियाशीलताभन्दा पनि कर्मकाण्डमा निर्भर छ । निश्चित विषयमा गहन अनुसन्धान गरी समस्याको गहिराइमा पुगेर सबै तत्वहरु केलाएर मात्र समाचार लेख्नुपर्नेमा हल्ला र अरुले गरिदिएका कार्यक्रमलाई आधार मानी पत्रकारिता गर्न थालिएपछि यसले जनविश्वास गुमाउँदै गएको प्रष्ट छ ।

तसर्थ आजका दिनमा मूलधारको पत्रकारितालाई जोगाईराख्न अनुसन्धानको आवश्यक्ता देखिन्छ । आजको युवापङ्ति मूलधारको पत्रकारिता भन्दापनि सामाजिक सञ्जालमै रमाइरहेको छ । तर सामाजिक सञ्जालमा पोष्ट गरिएका स्टाटसलाई हामीले समाचार बनाउन सकिरहेका छैनौं । हरेक व्यक्ति पत्रकार भन्ने आजको युगलाई हामीले चिन्न सकिरहेका छैनौ । सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याई मर्यादित बनाउन सकेमा यसको प्रत्यक्ष फाइदा मुलधारको पत्रकारिताले लिन सक्छ र व्यावसायिक पत्रकारिताको विकास हुन्छ ।

अस्वस्थ प्रतिष्पर्धाले सञ्चारमाध्यमहरु दिनदिनै कमजोर हु“दै गइरहेका छन् । यसका लागि आम सञ्चारमाध्यमहरुका बीचमा साझा सहमति कायम गरी एउटै विज्ञापन नीति बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । सार्वजनिक खरिद ऐन २०७३ र नियमावली २०७३ अनुसार २० लाखभन्दा बढी विगो भएको रकमको हकमा केन्द्रीय पत्रिकामा विज्ञापन गर्नुपर्ने र सोभन्दा कम विगोको हकमा मात्रै स्थानीय पत्रिकामा विज्ञापन दिने विभेदकारी नीतिका कारण स्थानीय र प्रदेशस्तरका पत्रिकाहरु ठूलो रकमका विज्ञापन छाप्नबाट वञ्चित छन् ।

यस्तो समस्याको समाधान गर्न ऐन र नियमावलीमै संशोधन आवश्यक देखिन्छ । समानुपातिक रुपले विज्ञापन वितरण गर्न सकेको खण्डमा साना ठूला सबै सञ्चार माध्यमहरु स्थापित हुने सम्भावना रहन्छ । चिनजान र भनसुनका आधारमा विज्ञापन वितरण गर्ने नीतिको अन्त्य हुनुपर्दछ । प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने कानूनहरु सरोकारवालासंग समन्वय र छलफल नै नगरी निर्माण गर्ने चलनले मिडियाहरु मरमा परेको हु“दा मिडियामैत्री मिडियामैत्री कानून निर्माणमा सरकारहरुको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । बग्रेल्ती खुलेका अनलाइनहरु सूचना विभाग सञ्चार महाशाखामा दर्ता नभई सञ्चालन हुनाले तिनको विश्वसनीयतामै प्रश्न उठ्ने गरेकाले महाशाखाले स्वयम् पोर्टलको सुभारम्भ गरेपछि मात्र अनलाइन सञ्चालन हुने व्यवस्था गरिनुपर्दछ ।

निश्कर्ष

यो प्रदेशमा आधुनिक सञ्चारमाध्यमको स्थापना हुनुअघि परम्परागत सञ्चार माध्यममार्फत सञ्चार गर्ने गरिन्थ्यो । त्यतिबेला सन्देश प्रवाह गर्न विभिन्न लोकमाध्यमका साथै सङ्केतमार्फत पनि सञ्चार गरेको प्रमाणित इतिहास छ । कर्णाली प्रदेशका जिल्लाहरुमा पत्रकारिताको आ“कडा र विकासलाई तुलनात्मक दृष्टिले हेर्ने हो भने हिमाली जिल्लाको तुलनामा पहाडी र उपत्यकामा सञ्चारमाध्यमको उपस्थिति बाक्लो देखिनुका साथै पत्रकारिता पनि फस्टाएको देखिन्छ ।

स्थानीयस्तरको लगानीमा खुलेका सञ्चार माध्यमहरुले पर्याप्त लगानीको अभाव झेलिरहेका छन् । विद्युत र इन्टरनेट प्रवाहमा देखिने सुस्तपनले पनि यहा“को पत्रकारिता पीडित छ । मिडिया सञ्चालनका लागि आवश्यक बजारको समेत अभाव झेल्दै सूचनाको सम्प्रेषण गर्ने कार्यमा कर्णालीका मिडिया र पत्रकार लागिरहेका छन् । प्राकृतिक रुपले सम्पन्न भएपनि विगतदेखि नै राज्यको उपेक्षामा परेको कणर्ाली प्रदेशका सञ्चार माध्यमहरु पनि सरकारी उपेक्षामा परेको स्पष्ट हुन्छ ।

समाजलाई सूचना, ज्ञान, मनोरञ्जन प्रदान गरी उत्पे्ररित र सामाजिकीकरण गर्दै आएका यस्ता सञ्चार माध्यमलाई सरकारले चटक्कै बिर्सनु न्यायसङ्गत हु“दैन । बरु यहा“का सञ्चार माध्यमहरुलाई सेवामूलक उद्योगको मान्यता दिई वर्गिकरणका आधारमा विशेष अनुदानको व्यवस्था गर्नुपर्ने देखिन्छ । अनिमात्र यस्ता सञ्चार माध्यममा निर्भर पत्रकार र पत्रकारिताको भविश्य सुन्दर बनाउन सकिन्छ । साथै सञ्चार क्षेत्रका यावत विषयहरुलाई व्यवस्थित रुपले सञ्चालन गर्न आमसञ्चार प्रतिष्ठानको गठन गर्नुपर्ने देखिन्छ ।

लेखक : मध्यपश्चिम विश्वविद्यालय/पत्रकारिता तथा आमसञ्चार विभागमा कार्यरत छन् ।

कर्णालीमा पत्रकारिताको विकास र वर्तमान अवस्था

सल्यानमा माटाेकाे ढिस्काेले पुरिएर एकजनाको मृत्यु

कर्णालीमा पत्रकारिताको विकास र वर्तमान अवस्था

हाम्रा सफलताका २३ औं वर्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *