गाईगोरु हराउँदै, किसान मलको खोजीमा

वीरेन्द्रनगर–१० का रामकृष्ण चौधरीले यसपटक ५७ कठ्ठामा धान खेती गरे । वर्षेनी अदियामा धान खेती गर्ने उनको परिवारले यस वर्षपनि मनग्यै धान फलाउन सफल भएको थियो ।
‘कति मुरी भन्ने त नापिएको छैन । तर एक सय ५० मुरी भन्दा धेरै त फल्यो होला’, उनले भने । अदियाबाट आधा धान खेतका धनीलाई बुझाउनुपर्छ । अदियामा बिउँको सट्टा धान पनि छुट्टै पाइन्छ, मल वापत रामकृष्णको परिवारले भने पराल पाउँछन् । घरमा गाईगोरु पनि छैनन्, पराल सबै बिक्रि ग¥र्यौ । केहि छिमेकीले पनि लिए ।
भेरी पुल नजिक सञ्चालनमा रहेको सुन्दर कर्णाली गौशालालाई उनीहरुले खेतबाटै पराल बिक्रि गरेका थिए । रामकृष्णको परिवारले यसअघिका वर्षहरुमा पनि अदियामा धान लगाउछन् । केहि साहुँ परिन्छन् तर उनीहरुको अदियामा धान खेती भने फेरिदैन ।
केहि वर्ष अघिसम्म उनको परिवारले दुई हल गोरु समेत पालेको थियो । अहिले एक हल मात्रै छ । ‘पहिला पहिला त हाम्रा बाजेहरुले रांगाले जोत्थे रे । पछि हाम्रा बुवाले गोरुले जोत्न थाले । अहिले मल बनाउन मात्रै गोरु पालेका हौँ’, उनले भने ।
हाल घर भएको क्षेत्रमा उनको सानो बारी पनि छ । त्यहाँ आलु, बन्दा लगायतका खेतीका लागि उनीहरुलाई मल चाहिन्छ । त्यसैका लागि गोरु पालिकाएको हो । तर धान खेतीका लागि भने प्राङगारिक मल कमै प्रयोग हुन्छ ।
‘धानको बिउँ राख्नेबेला गाईगोरुको मल पनि हाल्छौ । घरको बारीमा र ठाउँठाउँका बिउँ गढामा घरको मल ठिक्कै हुन्छ । अरु त त्यही युरिया र डिएपी त होनी हाल्ने’, उनले भने । खेतवारी जोतखनमा ट्याक्टरको प्रयोग बढ्न थालेपछि रामकृष्णको परिवारले गोरु पालनमा त्यती चासो दिएका छैनन्, ‘अव यिनी बुढा पनि भईसके । यो पछि त गोरु पालिदैन होला । दिनकै जंगलमा घाँस काट्न जान पनि गाह्रै हुन्छ । ट्याक्टर ल्यायो एकैछिनमा खुईखुई जोतिन्छ ।’
कृषि खेतीमा प्रविधिको विकास भएसँगै यसको प्रत्यक्ष असर अहिले गाईगोरु पालनमा पर्न थालेको छ । खेतवारी जोतखनका लागि प्रयोग हुने गोरुको संख्या अहिले नेपालमा घट्दो क्रममा छ । गोरु पालन नै नभएपछि प्राङगारिक मलको प्रयोग खट्ने निश्चित छ ।
नेपालमा १० वर्षको अवधिमा १८ लाख गाईगोरु हराएका छन् । कृषि औजारका रुपमा ट्याक्टरको प्रयोग बढ्न थालेपछि अहिले किसानहरु गाईगोरु पालन तर्फ अग्रसर छैनन् । राष्ट्रिय तथ्यांक कार्यालय, काठमाडौंका अनुसार वि.सं. २०६८ मा नेपालमा ६४ लाख वटा गाईगोरु थिए । पछिल्लो समय तथ्यांक कार्यालयले गरेको कृषि गणनाले यो संख्या घटेको जनाएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार हाल नेपालमा ४६ लाख वटा मात्रै गाईगोरु छन् ।
कर्णालीमा यो संख्या हाल ६ लाख ५८ हजार तीन सय ७० वटा रहेको छ ।
सुर्खेतमा ४३ हजार गाईगोरु घटे
सुर्खेतमा मात्र हेर्ने हो भने यहाँ १० वर्षको अवधिमा गाईगोरुको संख्यामा धेरै कमी आएको छ । हाल सुर्खेतमा ९६ हजार नौं वटा गाईगोरु छन् । २०६८ मा सुर्खेतमा एक लाख ३९ हजार दुई सय ९८ वटा गाईगोरु रहेको तथ्यांक कार्यालयले जनाएको छ । यस अवधिमा सुर्खेतमा ४३ हजार दुई सय ८९ वटा गाईगोरुको संख्या घटेको हो ।
डोल्पामा अहिले २३ हजार दुई सय ५०, मुगुमा ३७ हजार सात सय ५०, हुम्लामा ३८ हजार सात सय १४ वटा गाईगोरु छन् । जुम्लामा ६३ हजार एक सय १३, कालीकोटमा ६३ हजार चार सय ५३, दैलेखका एक लाख सात सय ५०, जाजरकोटमा ९४ हजार सात सय १९, रुकुम पश्चिममा ३९ हजार आठ सय र सल्यानमा एक लाख आठ सय ११ वटा गाईगोरु पान भएका छन् ।
मुख्य बाली क्षेत्र नै घट्यो
सुर्खेतमा हाल नौं हजार चार सय ३२ हेक्टर क्षेत्रफलमा धानको खेती हुदै आएको छ । २०६८ को तुलनामा धान बाली लगाइएको क्षेत्र घटेको हो । सुर्खेतमा एक हजार नौं सय १३ हेक्टर क्षेत्रफलमा धान खेती घटेको राष्ट्रिय कृषि गणना, २०७८ को तथ्यांक छ । त्यसैगरी मकै बालीमा समेत खेती हुने क्षेत्रफल घटेको छ । दुई हजार ७४ हेक्टर क्षेत्रफलले घट्दै हाल सुर्खेतमा आठ हजार सात सय ५५ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । गहुँ तर्फ पनि तीन हजार तीन सय १७ हेक्टर क्षेत्रफलले घट्दै सुर्खेतमा ११ हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती भईरहेको गणनाले जनाएको छ । कर्णालीमा हाल २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती हुनै आएको छ । त्यसैगरी ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भईरहेको छ ।
फलामे हलो छाड्दैछन् किसान
नेपालमा २०६८ सालमा २८ प्रतिशत किसान परिवारले फलामे हलोको प्रयोग गर्थे । यो कृषि औजार पारम्पारिक काठको हलो भन्दा राम्रो मानिन्थ्यो । तर अहिले गाईगोरुको पालन समेत घट्न थालेपछि फलामे हलो प्रयोग गर्ने किसानको परिवार संख्या समेत घट्न थालेको छ । २०७८ मा फलामे हलो प्रयोग गर्ने किसान परिवार १७ प्रतिशत छन् ।
फलामे हलो छाडेका किसानहरुको संख्या ट्याक्टर र पावरट्रिलर तर्फ आर्कषित भएको छ । २०६८ मा २२ प्रतिशत किसान परिवारले ट्याक्टरको प्रयोग गर्थे भने यो संख्या अहिले बढेर ३९ दशमलव सात प्रतिशतमा पुगेको छ ।
त्यसैगरी २०६८ मा एक दशमलव नौं प्रतिशत किसान परिवारले पावर ट्रिलरको प्रयोग गथ्र्यो । हाल २०७८ को गणनामा भने यो संख्या बढेर ११ प्रतिशत पुगेको छ । कर्णालीमा अहिले आठ दशमलव एक प्रतिशत किसानले फलामको हलो प्रयोग गर्छन् । पाँच दशमलव एक प्रतिशतले ट्याक्टर र चार दशमलव पाँच प्रतिशतले पावर ट्रिलरको प्रयोग गरिरहेको कृषि गणना, २०७८ को तथ्यांक छ ।
समयमा मल नै पहिलो माग
अधिकांश किसानहरुको पहिलो माग नै समयमा मल उपलब्ध हुनुपर्ने नै छ । राष्ट्रिय कृषि गणना, २०७८ मा समेत किसानहरुले यस्तै सुझाव दिएका छन् ।
किसानले दिएका सुझावमा ५७ प्रतिशतले समयमा मल र बीउँ उपलब्ध गराउनुपर्ने माग गरेका छन् । सो पछि दोस्रो नम्वरमा सिँचाईको व्यवस्था हुनुपर्ने किसानको माग छ ।
कृषिका लागि तालिम, सहज प्राविधिक सेवा, केषि औजार एवं आधुनिक साधन, उन्नत नश्ल तथा बीउँको माग गर्नेहरुको संख्या एकदम कम छ । बजारको व्यवस्था र सस्तोमा ऋण माग गर्ने किसानहरु संख्या सबैभन्दा न्यून छ ।






