विकास बजेटले एमाले पार्टी कार्यालयमा ‘फर्निसिङ’

सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिले पत्र पठाएपछि अहिले वीरेन्द्रनगर स्थित राजनैतिक दलका भवनहरु खाली भएका छन् । समितिको अध्यक्ष समेत रहेका वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई नै पहिलो पत्र पठाएकी थिइन् । दलको कार्यालय सञ्चालनका लागि उपलब्ध गराइएको जग्गामा व्यवसायिक सटर कोठा निर्माण गरी व्यवसाय सञ्चालन गर्न दिइएको भन्दै उक्त कार्य रोक्न दल लगायत सरकारी जग्गा प्रयोग गरिरहेका सबैलाई पत्राचार गरिएको थियो ।

तर हाल यही वीरेन्द्रनगर नगरपालिका हुँदै राजनैतिक दलका भवन निर्माणमा विकास बजेट आईपुगेको छ । स्थानीय विकास साझेदारी कार्यक्रम मार्फत ऋषि स्मृति भवनमा फर्निचर तथा फर्निसिङका लागि ५५ लाख रुपैयाँ बजेट कार्यान्वयन अवस्थामा छ । यो भवन एमाले पार्टी कार्यालयको हो । कुल बजेटमा १६ लाख रुपैयाँ ‘रनिङ बिल’ मार्फत भुक्तानी समेत भईसकेको छ ।
आर्थिक वर्षको मसान्तमा हतार हतार बजेट खर्च गर्न लागिएको छ । एमाले पार्टी कार्यालय मात्र होइन स्थानीय विकास साझेदारी कार्यक्रमबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भवन निर्माणका लागि समेत बजेट विनियोजन भएको छ । शहिद स्मृति प्रतिष्ठान भवनको सभाहल निर्माण गर्न २५ लाख रुपैयाँ बजेट वीरेन्द्रनगर नगरपालिका मार्फत कार्यान्वयन हुदैछ । चालु आर्थिक वर्ष २०७९/०८० मा यि दुई दलका कार्यालय भवन निर्माणका लागि कणर्ाली प्रदेश सरकारले रकम विनियोजन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

स्थानीय विकास साझेदारी कार्यक्रममा भएको बजेट निर्वाचन क्षेत्र विशेष खर्च हुने विकास बजेट हुन् । यो कार्यक्रमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित भएका पदाधिकारिले आयोजना पेश गर्न पाउँछन् । एमाले पार्टी कार्यालयका लागि नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य यामलाल कँडेल मार्फत निर्वाचन क्षेत्र विशेषबाट कार्यक्रममा बजेट विनियोजन हुने प्रदेश लेखा नियन्त्रकको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

सुर्खेतको निर्वाचन क्षेत्र नं. २(क)बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएकाले यामलाल कँडेलले दलको कार्यालय निर्माणमा विकास बजेट विनियोजन गरी आर्थिक वर्षको अन्यमा हतार हतार खर्च गरिदैछ । आयोजनाको आवश्यकता, औचित्य, प्रभावकारीता र गुणस्तरियतामा प्रश्न उठेको छ ।

अघिल्लो आर्थिक वर्षमा पार्टी कार्यालयका तला थप

२०७८/०७९ मा समेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सुर्खेत स्थित पार्टी कार्यालयको भवन निर्माणका लागि समेत नगरपालिकाले बजेट दिएको थियो । प्रदेश सरकारबाट प्राप्त रकमलाई नगरपालिकाले विकास तथा दिर्घकालिन पूँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्नेमा राजनैतिक दलको कार्यालय निर्माणमा खर्च गरेको नियमसम्मत नभएको महालेखापरीक्षकको भनाई छ ।

महालेखाले वीरेन्द्रनगर नगरपालिकालाई पठाएको लेखापरीक्षण प्रतिवेदनमा उक्त बजेट कार्यान्वयन अवस्थामा राजनैतिक दलको पार्टी कार्यालय नजनाई नगरपालिकाले सहिद स्मृति प्रतिष्ठानको भवन मात्र उल्लेख गरी रकम खर्च गरेको थियो । माओवादी केन्द्रको भवनमा दुई तला थप गर्न ४५ लाख रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरिएको थियो । कुल ५० लाख ६३ हजार ६ सय ८६ रुपैयाँको लागत अनुमान गरिएको यस आयोजनामा दलको व्यापारिक भवनसहितको कार्यालय निर्माण गर्नु नियमसम्मत नहुने महालेखाको भनाई छ ।

प्राथमिकतामा विकास आयोजना हुनुपर्छ

संघीय तहमा ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली, २०७६’ लागु छ । यस नियमावलीले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमका लागि छनोट हुनुपर्ने आयोजना र प्राथमिकता स्पष्ट पारेको छ । नदी, गल्छी तथा पहिरो नियन्त्रण एवम् सिंचाई सम्बन्धी आयोजनालाई स्थानीय तहमा प्राथमिकता दिनुपर्ने हुन्छ ।

सडक निर्माण तथा स्तरोन्नती (सडक, पुल, कल्भर्ट, ढल, काठेपुल लगायत) सम्बन्धी आयोजनालाई पनि सांसदका नाममा छुट्याइएको रकमबाट बजेट छुट्याउनु पर्ने नियमावलीले जनाएको छ । खानेपानी तथा सरसफाई, ऐतिहासिक, सांस्कृतिक, साहित्य, कला एवम् पुरातात्विक सम्पदा र पर्यटकीयस्थलको संरक्षणमा समेत कार्यक्रम छुट्याउन पाइने निर्देशिकाले स्पष्ट पारेको छ ।

नवीकरणीय ऊर्जा, लघु जलविद्युत, विद्यूतिकरण, स्वास्थ्य चौकी, प्रसुति भवन, ब्लड बैंक, सामुदायिक सभागृह, बाल विकास केन्द्र, विपन्न एवम् भूमिहिन नागरिकका लागि आवास र वृद्धाश्रमका लागि समेत बजेट राखी कार्यक्रम बनाउन सकिने निर्देशिकाले स्पष्ट पारेको छ ।

कृषि उत्पादन केन्द्र, हाटबजार व्यवस्थापन, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, सार्वजनिक बगैचा, अपांगता भएका व्यक्तिको हित हुनेखालका आयोजना, खेलकुद पूर्वाधार विकास सम्बन्धी आयोजनासमेत सांसदका लागि छुट्याइएको रकमबाट पार्नुपर्ने नियमावलीमा उल्लेख छ । तर योजना प्राथमिकतामा राजनैतिक दलको कार्यालय निर्माण विषय यिमावलीमा कहिकतै समावेश भने छैन ।

‘शहिदको स्मृतिमा भवन बनाईरहेका छौँ’

विकास बजेट दलको भवन बनाउन खर्च गरेको भन्ने आरोपको विषयमा ऋषि स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्मर तिवारीले यो आरोप सत्य नभएको बताउछन् । अध्यक्ष तिवारीका अनुसार हाल ऋषि स्मृति भवन निर्माण गरिएको र दलको भवन भन्ने दुई फरक-फरक विषय भएको बताउछन् । ‘दलको भवन भन्दा पनि ऋषि स्मृति भवन निर्माण गर्दै छौँ । शहिदको नाममा भएको भवन हो यो । कुनै दलको भवन भन्दा पनि शहिदको नाममा भवन बनाईरहेका छौँ’, उनले भने ।

विकास बजेटले एमाले पार्टी कार्यालयमा ‘फर्निसिङ’

वीरेन्द्रनगरमा नगर बस सञ्चालन, २० रुपैयाँ ताेकियाे

Leave a comment

Your email address will not be published. Required fields are marked *