स्वास्थ्यकर्मीलाई कहिले तलव दिने ?

वीरेन्द्रनगर नगरपालिका अन्र्तगत काम गर्ने ९४ जना स्वास्थ्यकर्मीहरुले तलव पाएका छैनन् । २०७९ कात्र्तिक महिनाबाट स्वास्थ्यकर्मीहरुले तलव नपाएपछि अहिले वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमाथी नै प्रश्न उठेको छ । कोभिड-१९ संक्रमण समयमा उलेख्य योगदान दिएका स्वास्थ्यकर्मीको यो अवस्थामा नगरपालिकाले समेत चासो दिएको देखिदैन । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत यी स्वास्थ्यकर्मीहरु वीरेन्द्रनगर नगरपालिका आएका थिए । अहिले नगरपालिका र मन्त्रालयका विच उत्पन्न टकरावका कारण स्वास्थ्यकर्मीहरुले मासिक पारिश्रमिक तथा भत्ता लगायतका कुनै सुविधा पाएका छैनन् ।

आश्चर्यको विषय के छ भने, यहाँ नगरपालिकामा स्वास्थ्य वाहेकका अन्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अतिरिक्तm सेवा वापतको सुविधा समेत दिइएको छ । कार्यालय समय भन्दा अतिरिक्त समयमा समेत कामकाजमा खटिएको भन्दै नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सवारी चालकलाई सुविधा थपिएको छ । अतिरिक्त काजकाजमा खटिएकोमा प्रमुख र उपप्रमुखका सवारी चालकलाई सात हजार रुपैयाँ तथा प्रमुख प्रशासकीय अधिकृतको सवारी चालकलाई भने ६ हजार रुपैयाँ सुविधा उपलब्ध गराउने नगरपालिकाको निणर्य थियो । सवारी चालक मात्र होइनन्, थप कार्यभार परेको जनाउँदै नगरपालिकाले अधिकृत स्तरका सातौं र आठौं तहका प्राविधिक कर्मचारीहरुलाई मासिक सात हजार रुपैयाँ उपलब्ध गराएको छ । यसैगरी अधिकृत छैठौं तहका कर्मचारीलाई पाँच हजार पाँच सय, सहायक स्तर चौथों तहकालाई पाँच हजार रुपैयाँ उपलब्ध गराइएको छ । करारमा भर्ना गरिएका कर्मचारीलाई समेत महंगी भत्ता दिइएको छ । नगरपालिकामा कम्तीमा पाँच वर्ष भन्दा बढी समय कार्यरत रहेका करार कर्मचारीकालागि मासिक रुपमा दुई हजार महंगी भत्ता नगरपालिकाले दिनेछ । यसैगरी करार सम्झौतामा शुरु तलव स्केलको पाँच प्रतिशतले हुन आउने रकम समेत स्थानीय भत्ताका रुपमा उपलब्ध हुनेछ । विगत देखि कामकाजमा संलग्न कर्मचारीहरुलाई प्रोत्साहन गर्न आवश्यक भएकाले कार्यपालिकाको वैठकले कर्मचारीहरुलाई थप सुविधा दिने आवश्यक रहेको जनाएको थियो ।
नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई अन्य कर्मचारी सरह नै व्यवहार गर्न नसक्नु वीरेन्द्रनगरको कमजोरी हो । स्वास्थ्य जस्तो जटिल क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्तिरित्त सेवा वापतको सुविधा उपलब्ध गराएको भए, नागरिकहरुले समेत विहान वेलुका स्वास्थ्य सेवा पाउन सक्थे । अहिले नगरका सबै स्वास्थ्य केन्द्रहरु कार्यालय समय वाहेकको समयमा सेवा दिदैनन् । तर कर्मचारीलाई अत्तिरित्त सेवा वापत सुविधा दिइएको खण्डमा भने ति स्वास्थ्य चौकीहरुबाट अन्य समयमा समेत सेवा प्रवाह सम्भव थियो । तर पालिकाले भने स्थायी दरवन्दी भएका स्वास्थ्यकर्मीहरुलाई तलव खुवाउन समेत समन्वय नगर्दा अहिले स्वास्थ्यकर्मीहरुको मनोबल घटेको छ । यसले उनीहरुले स्वास्थ्य सेवा क्षेत्रमा गरेको सेवा प्रवाह अवस्थामा समेत नकारात्मक असर पार्दछ । स्वास्थ्य सेवाको गुणस्तर खस्कनु भनेको वीरेन्द्रनगरका लागि राम्रो विषय होइन, यसले पालिकालाई उसको कर्तव्यबाट टाढा धकेल्दै लैजान्छ । तसर्थ वीरेन्द्रनगर नगरपालिकाले तत्काल स्वास्थ्यकर्मीहरुलाई तलव भुक्तानी गर्न तर्फ लाग्नुपर्छ । संघीय मन्त्रालयसँगको समन्वय क्रियाकलापमा नगरपालिका अग्रसर हुनुपर्छ । स्वास्थ्यकर्मीले नै तलव भुक्तानी नपाएको अवस्थामा वीरेन्द्रनगरमा स्वास्थ्य सेवा गुणस्तर अघि बढ्न सक्दैन । चेतना भया !






