डोल्पाको ठुली भेरी नगरपालिकामा उस्तै बिलमा मिति फेर्दै भुक्तानी

सुर्खेत । डोल्पाको ठुली भेरी नगरपालिकाले नेपाल कृषि विकास फर्मबाट एकै प्रकृतिका सामाग्री खरिदमा फरक फरक बिल समावेश गरेको छ । फर्मबाट पालिकाले ४० वटा दाँते ओखरका विरुवा (टिष्यु कल्चर), एक सय वटा सुन कागती (टिष्यु कल्चर), दुई सय ५० वटा सुन कागती, एक सय वटा ओखरका विरुवा, दुई सय वटा आरुका विरुवा, ५० वटा कलमी आरुका विरुवा, एक सय वटा तेजपत्ता र तीन सय वटा रातो स्याउका विरुवा खरिद गरेको थियो । यि सबै विरुवाहरु ९८ हजार पाँच सय ९२ रुपैयाँमा खरिद गरिएको हो ।

तर आश्चर्यको विषय के छ भने, आर्थिक वर्ष २०७८/०७९ मा पालिकाले नेपाल कृषि फर्मबाट उल्लेखित विउ-विजनहरु सोहि मूल्यमा नौं पटक खरिद गरेको छ । खरिद बिलहरुमा वि.सं. २०७८ पुष ९ गते, १२ गते, १४ गते, १७ गते, २० गते, २३ गते र २७ गते मिति राखिएका छन् ।
पुष महिनामा मात्र नभई २०७८ फागुन १ र ९ गते समेत उहि प्रकृतिका बिलहरु समावेश गरि भुक्तानी भएको देखिन्छ । एउटै बिक्रेताबाट, एउटै प्रकृतिका सामाग्रीहरु, उस्तै मुल्यमा पटक पटक खरिद गरी बिल भुक्तानी गर्दा आर्थिक अनियमितता भएको भन्ने शंका गरिएको छ ।
त्यसैगरी त्रिमुर्ति एग्रोभेट सेन्टरबाट पनि पालिकाले ९८ हजार पाँच सय रुपैयाँमा तरकारीका विउ खरिद गरेको थियो । प्रति बिलमा ९८ हजार पाँच सय मूल्य र उस्तै प्रकृतिका तीन वटा बिलहरुलाई पालिकाले भुक्तानी दिएको छ । फूल गोभी, भाजी, खुर्सानी, सिमी, काँक्रो लगायतका विउ खरिदमा पालिकाले २०७८ चैत्र २७ गते, २०७९ वैशाख ९ र ३ गतेको बिल समावेश गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यी सबै बिलहरुमा कार्यालय प्रमुखबाट प्रमाणित नगरी भुक्तानी भएको देखिन्छ । वितरण भर्पाइमा समेत एकै व्यक्तिलाई ठूलो परिमाणमा विउविजन उपलब्ध गराएकोमा महालेखाले शंका व्यक्त गरेको छ । आर्थिक अनियमितताको आशंकामा महालेखा परिक्षकको कार्यालयले उक्त विरुवा तथा विउविजन प्रयोग हुने जग्गा कृषकसँग रहेको प्रमाण पेश गर्न आदेश दिएको छ ।
यि सबै बिलहरु २०७९ असार २४ गते केशव सुनारको पेश्की फछ्यौट गर्दा पेश भएको महालेखाले जनाएको छ ।
पदाधिकारी पारिश्रमिकमा दुई करोड ५३ लाख खर्च
ठुली भेरी नगरपालिका जनप्रतिनिधिले पारिश्रमिक सुविधा वापत दुई करोड ५३ लाख २२ हजार चार सय रुपैयाँ भुक्तानी लिएका छन् । २०७६/०७७ देखि २०७८/०७९ सम्म तीन आर्थिक वर्षमा ठुली भेरी नगरपालिकाका पदाधिकारीले पारिश्रमिक वापत यति धेरै रकम खर्च गरेको देखिन्छ ।
यस खर्चमा तत्कालिन नगर प्रमुखले २३ लाख ६४ हजार चार सय ८० रुपैयाँ, नगर उप-प्रमुखले २० लाख ७७ हजार नौं सय २० रुपैयाँ पारिश्रमिक वापत खर्च गरेका छन् । नगरपालिकाका ११ जना वडा अध्यक्षहरुले ८७ लाख १२ हजार रुपैयाँ, कार्यपालिकाका सात जना सदस्यहरुले २८ लाख ९८ हजार रुपैयाँ, नगर सभाका ३० जना सदस्यहरुले ७० लाख २० हजार रुपैयाँ खर्च गरेका छन् । पारिश्रमिक शिर्षक तर्फ मात्र दुई करोड ३० लाख ७२ हजार चार सय रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी चाडपर्व खर्च शिर्षक तर्फ नगर प्रमुख र उप-प्रमुखले जनही ४५/४५ हजार रुपैयाँ भुक्तानी लिएका छन् । वडा अध्यक्षहरुले चार लाख ९५ हजार रुपैयाँ, कार्यपालिका सदस्यहरुले तीन लाख १५ हजार रुपैयाँ र नगर सभाका सदस्यहरुले १३ लाख ५० हजार रुपैयाँ गरी कुल २२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् ।
कणर्ाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन, २०७७ मा जनप्रतिनिधिले पारिश्रमिक वापत खर्च लिन मिल्दैन ।
आवास र गाडी भाडामा १९ लाख ४९ हजार खर्च
पालिकाका पदाधिकारीले क्वाटर (आवास) र गाडीभाडा सुविधा छुट्टै पाउँदैनन् । तर डोल्पाको ठुली भेरी नगरपालिकाका जनप्रतिनिधिले भने ऐनमा व्यवस्था नभएको सुविधामा समेत खर्च गरेका छन् । ठुली भेरी नगरपालिकाका तत्कालिन नगर प्रमुख गणेशबहादुर शाहीले आवास सुविधा प्रयोग गरेवापत पालिकाले केवल गिरीलाई ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
त्यसैगरी तत्कालिन नगर प्रमुख शाहीले गाडी प्रयोग गरेवापत थप एक लाख रुपैयाँ अर्का गणेशबहादुर शाहीलाई भुक्तानी गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
विभिन्न मितिमा कुल १९ लाख ४९ हजार दुई सय २० रुपैयाँ गाडीभाडा, आवास, खाना तथा खाजा खर्च गरेपछि महालेखा परीक्षकको कार्यालयले यसलाई बेरुजूमा राखेको छ । साथै ऐन विपरित उपलब्ध गराइएको सुविधा खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्ने महालेखाको भनाई छ ।
खानामा ७८ लाख खर्च
२०७८/०७९ मा ठुली भेरी नगरपालिकामा खाना तथा विविध खर्च शिर्षकमा ७८ लाख १० हजार रुपैयाँ खर्च भएको छ । नगरपालिकाको आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्नेमा खानामा मात्र ७८ लाख रुपैयाँ खर्च गरेपछि महालेखापरीक्षकको कार्यालयले यस्तो खर्चमा नियन्त्रण हुनुपर्ने बताएको छ ।
१८ करोड पुग्यो बेरुजू
आर्थिक वर्ष २०७८/०७९ मा ठुली भेरी नगरपालिकाको बेरुजु तीन करोड ६१ लाख ३१ हजार रुपैयाँ देखिएको छ । सो मध्य २८ लाख ६१ हजार रुपैयाँको बेरुजु सम्परिक्षण भएको देखिन्छ । पालिकामा २०७८/०७९ मा कुल ४४ लाख ६८ हजार रुपैयाँ बेरुजू असुल गर्नुपर्ने तर्फ छ । प्रमाण कागजपत्र पेश गर्नुपर्ने बेरुजूमा एक करोड ९९ लाख ३१ हजार, नियमित गर्नुपर्ने ४७ लाख ७० हजार, सोधभर्ना नलिएको १६ लाख ७१ हजार र पेश्की बेरुजू २४ लाख ३० हजार रुपैयाँ रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । ठुली भेरी नगरपालिकामा हालसम्मको अद्यावधिक बेरुजू १८ करोड ७६ लाख १४ हजार रुपैयाँ पुगेको महालेखापरीक्षकको कार्यालय जनाएको छ ।
बेरुजू फछ्यौट गर्दैछौँः प्रशासकीय अधिकृत
ठुली भेरी नगरपालिकामा देखिएको बेरुजूका विषयमा सम्बन्धित पदाधिकारी, कर्मचारीहरुलाई पत्राचार गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल बताउछन् । यसैगरी बेरुजूका विषयमा नगरसभामा एजेण्डा समेत पेश हुने उनले बताए ।
प्रशासकीय अधिकृत लम्साल ठुली भेरी नगरपालिकामा सरुवा भई गएको तीन महिना मात्र भएको छ । २०७८/०७९ मा पालिकामा भएका आर्थिक गतिविधिका विषयमा उनीलाई पूणर् जानकारी नभएपनि हाल बेरुजू फछ्यौट तर्फ भने आफुले सक्दो प्रयास गर्ने उनले जनाए ।







