ट्रायल पास गरेको तिन दिनभित्र लाइसेन्स हात पर्नेगरी काम अघि बढाउने मन्त्री ज्वालाको दाबी

सल्यान ।
ट्रायल पास गरेको तिन दिनभित्र लाइसेन्स हात पर्नेगरी काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दाबी गरेका छन् ।
पत्रकार महासङ्घ सल्यानका कार्यवाहक अध्यक्ष शङ्कर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका व्यथिती हटाउन केही काम अघि बढाइएको बताए ।
उनले भने, ‘अहिले पनि सवारी चालक अनुमति पत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन् । यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ ।’
यातायात क्षेत्रमा विचौलियाको बिगबिगी अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिसकेको भन्दै उनले एक महिनाभित्र देशैभरि अनलाइन प्रणाली कार्यान्वयनमा आउने बताए । सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुङ्गो लागिसकेको पनि मन्त्री ज्वालाले बताए ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक गृह जिल्ला आएका हुन् ।
बिहीबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्वालाले तत्काल सडक ऐन ल्याउने र सडक वर्गीकरण गरिने बताए । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सडकको काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उनले बताएका हुन् ।
यसबारे कार्यदलले प्रतिवेदन दिइसकेको मन्त्री ज्वालाको भनाई छ । राप्ती राजमार्गको सुधारको केही काम भएको उल्लेख गर्दै उनले आफ्नै कार्यकालमा यस राजमार्गको स्तरवृद्धिको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।






